काठमाडौं– एनसेलले जेन–जी पुस्तालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ ।
एनसेलका अनुसार सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात् प्याक लिन सक्छन् ।
शनिबारबाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित २९९ रुपैयाँ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।
यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिने एनसेलले जनाएको छ । साथै, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
‘युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ । यो प्याकले युवालाई सधैँ कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्याउने विश्वास लिएका छौँ,’ एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने ।
एनसेलका अनुसार युवा सिममा २४ घण्टासम्म मान्य १ जीबी डेटा १९ रुपैयाँ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ ।
युवा सिम लिन नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।













प्रतिक्रिया