ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी « Khabarhub

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा आठ युरोपेली देशलाई १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपले त्यसको कडा आलोचना गरेको छ ।

साथै यसले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर पार्ने र ‘खतरनाक गिरावट’ तर्फ धकेल्ने चेतावनी दिएको छ ।

डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ट्रम्पको कदम सार्वभौमिकता र सुरक्षासम्बन्धी हालको तनावलाई झन् गहिरो बनाउने खतरनाक संकेत भएको बताएका छन् । ह्वाइट हाउस फर्किएको करिब एक वर्षपछि युरोपेली सहयोगीहरूले ट्रम्पलाई दिएको यो अहिलेसम्मकै सबैभन्दा कडा सामूहिक प्रतिक्रिया हो ।

पछिल्ला महिनाहरूमा युक्रेन युद्ध अन्त्यको प्रयासमा अमेरिकी समर्थन सुनिश्चित गर्न युरोपेली मुलुकहरू ट्रम्पप्रति कूटनीतिक रूपमा संयमित देखिँदै आएका थिए । तर आइतबारको वक्तव्य र ग्रिनल्यान्डमा डेनमार्कको सैन्य अभ्यासका लागि केही युरोपेली देशले सेना पठाएको कदमले त्यो रणनीतिबाट युरोप एक कदम पछाडि हटेको संकेत दिएको छ ।

संयुक्त वक्तव्यमा ‘आर्कटिक एन्ड्योरन्स’ नामक अभ्यासका लागि ग्रिनल्यान्ड पठाइएका सेना कसैका लागि पनि खतरा नभएको स्पष्ट गरिएको छ । 

डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ओस्लोमा पत्रकारहरूलाई अमेरिकी पक्षसँग वार्ता सुरु भइसकेको र त्यसलाई निरन्तरता दिइने बताए। नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले पनि नजिकका सहयोगीबीच यस्ता कर धम्की अस्वीकार्य भएको स्पष्ट पारे।

लक्षित आठ देशमध्ये छ वटा २७ सदस्यीय युरोपेली सङ्घ (इयु) का सदस्य हुन् । आइतबार आपतकालीन छलफलपछि इयु काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले करले ट्रान्सअटलान्टिक सम्बन्ध कमजोर पार्ने र इयु–अमेरिका व्यापार सम्झौतासँग असङ्गत हुने बताएका छन् । उनले इयु कुनै पनि प्रकारको जबरजस्तीविरुद्ध आफूलाई जोगाउन तयार रहेको र यसै साता शिखर सम्मेलन बोलाइने जानकारी दिए।

शनिबार ट्रम्पले करलाई डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्डबारे वार्तामा दबाबको साधनका रूपमा प्रयोग गर्न सक्ने संकेत दिएका थिए । आइतबार राति उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै नाटोले डेनमार्कलाई ग्रिनल्यान्डमा रुसी खतराबारे वर्षौंदेखि चेतावनी दिँदै आएको दाबी गरेर अब कारबाहीको समय आएको उल्लेख गरे।

युरोपेली नेताहरूले डेनमार्क र ग्रिनल्यान्डसँग पूर्ण एकता व्यक्त गर्दै सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित संवादका लागि तयार रहेको बताएका छन् । इयुको विदेश नीति प्रमुख काजा कल्लासले अमेरिका र युरोपबीचको विभाजनबाट चीन र रुसले फाइदा उठाउने चेतावनी दिँदै ग्रिनल्यान्डको सुरक्षा विषय नाटोभित्रै सम्बोधन गर्न सकिने बताए।

विश्लेषकहरूका अनुसार ट्रम्पको धम्की अभूतपूर्व छ किनकि कर प्रायः सहयोगीहरूबीचको क्षेत्रीय विषयसँग नभई व्यापारिक विवादसँग जोडिन्छ । डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता रासमस सन्डरगार्डले यसलाई ‘पर्याप्त नै पर्याप्त भयो’ भन्ने युरोपेली प्रतिक्रियाको कारण भनेका छन् ।

नाटोका महासचिव मार्क रुटेले ट्रम्पसँग कुरा भएको र यस विषयमा काम जारी रहने बताउँदै यस हप्ता डाभोसमा भेट्ने अपेक्षा व्यक्त गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि ट्रम्पसँग कुरा गर्दै नाटो सहयोगीहरूमा शुल्क लगाउनु गलत भएको धारणा राखेका छन् ।

ट्रम्पको कदमको आलोचना अमेरिकाभित्रै पनि भएको छ । एरिजोनाका डेमोक्रेट सिनेटर मार्क केलीले यसले अमेरिकीहरूलाई अनावश्यक मूल्य चुकाउन बाध्य बनाउने बताए। पूर्वउपराष्ट्रपति माइक पेन्सले ग्रिनल्यान्डमा अमेरिकी स्वामित्वको विचारप्रति सहानुभूति जनाए पनि ट्रम्पले अपनाएको तरिका र नाटो सहयोगीहरूसँगको सम्बन्धमा पर्ने असरप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

युरोपमा ट्रम्पका केही लोकप्रियतावादी सहयोगीहरूले पनि कर धम्कीको आलोचना गरेका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले यसलाई ‘गल्ती’ भभनेका छन् भने फ्रान्सको अति–दक्षिणपन्थी नेसनल र्‍याली पार्टीका नेता जोर्डन बार्डेलाले यसलाई ‘व्यावसायिक ब्ल्याकमेल’ को संज्ञा दिएका छन् । बेलायतमा समेत मुख्य राजनीतिक दलहरू एकजुट हुँदै ट्रम्पको कदमको विरोध गरेका छन् ।

यस घटनाक्रमले ग्रिनल्यान्डलाई केन्द्रमा राख्दै अमेरिका–युरोप सम्बन्ध नयाँ र संवेदनशील मोडमा पुगेको स्पष्ट संकेत दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ०२ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा