काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः स्थापना केन्द्रहरूलाई आवश्यक विवरणसहित कागजात जिल्ला प्रशासन कार्यालय, चितवनमा पेश गर्न निर्देशन दिएको छ ।
बुधबार एक सुचना जारी गर्दै जिल्लाभित्र रहेका सबै केन्द्रबाट विवरण माग गरेको हो । गृह मन्त्रालयको च.नं.७९८ र मिति २०८२-०१-०८ को पत्र तथा लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनः स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ अनुसार केन्द्रहरूको अभिलेख अद्यावधिक गर्न विवरण माग गरिएको प्रशासनले जनाएको छ ।
सूचनाअनुसार सम्बन्धित केन्द्रहरूले सूचना प्राप्त भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालयले माग गरेको विवरणमा उपचार तथा पुनः स्थापना केन्द्रको दर्ता प्रमाणपत्र, सञ्चालकको नाम, ठेगाना र सम्पर्क नम्बर, गृह मन्त्रालयमा आबद्धताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वा लेखा परीक्षण प्रतिवेदन, नवीकरण भएर नभएको विवरण तथा हाल उपचाररत बिरामीको संख्या (महिला/पुरुष) समावेश रहेको छ ।
समयमै विवरण पेश नगर्ने केन्द्रहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने संकेतसमेत प्रशासनले गरेको छ । सूचना जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासनिक अधिकारीद्वारा जारी गरिएको हो ।














प्रतिक्रिया