बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून « Khabarhub

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् ।

गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या गरेका थिए । अधिकारीहरूका अनुसार उक्त आक्रमण इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । 

प्रधानमन्त्री अल्बानिजले बोन्डी घटनालाई उल्लेख गर्दै आतंककारीको मनमा घृणा र हातमा बन्दुक भएकाले यति ठूलो क्षति भएको बताए र सरकारले दुवै समस्यालाई एकसाथ सम्बोधन गर्ने प्रतिबद्धता पूरा गरेको स्पष्ट पारे।

सरकारले सुरुमा एउटै विधेयक ल्याउने योजना बनाए पनि अन्ततः बन्दुक नियन्त्रण र घृणा–विरोधी भाषणलाई छुट्टाछुट्टै विधेयकका रूपमा संसद्मा प्रस्तुत गरेको थियो । मंगलबार ढिलो सिनेटबाट दुवै विधेयक पारित भएका छन् । सत्तारूढ लेबर पार्टीको तल्लो सदनमा बहुमत भए पनि माथिल्लो सदनमा सम्झौता गरेर अघि बढ्नुपरेको प्रधानमन्त्रीले स्वीकार गरे ।

नयाँ बन्दुक कानूनले बन्दुक स्वामित्वमा थप प्रतिबन्ध लगाउने र हतियार हस्तान्तरण गर्नुपर्ने व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारी पुनर्खरीद कार्यक्रम सुरु गर्ने व्यवस्था गरेको छ । 

घृणा–विरोधी भाषण कानूनले आतंकवादी सूचीमा नपरेका तर चरमपन्थी गतिविधिमा संलग्न समूहहरूलाई पनि गैरकानूनी घोषणा गर्न सक्ने आधार दिएको छ, जसमा गुप्तचर संस्था एएसआइओको भूमिका रहनेछ ।

गृहमन्त्री टोनी बर्कका अनुसार बोन्डी आक्रमणका आरोपी बुबा–छोरा यी नयाँ कानूनअन्तर्गत बन्दुक राख्न अयोग्य ठहरिने थिए । घटनामा मारिएका बुबासँग कानूनी बन्दुक थियो भने घाइते छोरामाथि १५ वटा हत्या सहित दर्जनौँ गम्भीर अभियोग लगाइएको छ ।

विपक्षी नेसनल पार्टीले घृणा–विरोधी भाषण कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै विरोध जनाएको छ । यद्यपि सरकारको भनाइमा, सन् १९९६ को तस्मानिया नरसंहारपछि जस्तै, यो कदम पनि जनसुरक्षाका लागि अपरिहार्य हो । त्यस घटनापछि अस्ट्रेलियाले कडा बन्दुक कानून लागू गरी करिब सात लाख हतियार फिर्ता किनेको थियो ।

नयाँ पुनर्खरीद कार्यक्रमका लागत बाँडफाँटलाई लिएर केही राज्य र क्षेत्रसँग असहमति भए पनि सङ्घीय सरकारले वार्ता जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : २४ बजे

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै