एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं- ३ मा « Khabarhub

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं- ३ मा

नयाँ र पुराना दलका उम्मेदवारीबीच हुन सक्छ कडा प्रतिस्पर्धा



काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचन जित्नै संकट पर्ने देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको १२ दिने संगतले संकटमा पारेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले नयाँ शक्तिहरू एकजुट हुनुपर्ने सन्देश दिएको र पुराना राजनीतिक शक्तिलाई चुनौती दिन नयाँ शक्ति निर्माण गर्ने भन्दै दुई पार्टीबीच एकता भएको थियो ।

गत पुस १४ गतेको अचानकको एकतापछि शक्ति बाँडफाँट र पदीय भागबण्डा नमिल्दा दुई पार्टीहरू १२ दिनमै अलग्गिए । तर यो निर्णयबाट सबैभन्दा झट्का कुलमानले भोगेका छन् । ५० हजार रुपैयाँ शुल्क तिरेर बन्दसूचीको नाम बुझाइसकेको उज्यालो नेपालले १४ गते नाम फिर्ता लिएर रास्वपासँग सहयात्रा गर्दा कुलमानले सयौँ नेता कार्यकर्ता गुमाए ।

समानुपातिकको समय घर्किएपछि कुलमान झन्डै घरका न घाटका भए । उनले समानुपातिकका उम्मेदवारसँगगै कयौँ नेता पनि गुमाए । आइतबार मात्रै १५ जना केन्द्रीय सदस्यले उज्यालो नेपाल छाडे । त्यसअघ इलामका डकेन्द्र थेगिमहरू पनि बिदा हुँदा कुलमानलाई दबाब बढेको छ ।

जेन-जी अभियन्ता सुदन गुरुङको सक्रियतामा पुस १४ गते उज्यालो नेपाल र रास्वपाबीच फिल्मी शैलीमा एकता भएको थियो । हतारमा एकता गरेका दुई पार्टीहरूबीच सहमति पालना नसक्दा एकता भङ्ग भएको कुलमानले स्वीकार गर्दै आएका छन् ।

रास्वपाका नेताहरूको अपरिपक्वताका कारण भद्र एकता तोडिएको उनी पक्षका नेता महेन्द्र लावती बताउँछन् । एकता परिपक्व नहुनाले टिक्न नसकेको भन्दै नेताहरूले सुरुवातबाट नै एकता भङ्ग गरेर अगाडि बढ्न सुझाव दिए पनि कुलमानले अन्तिमसम्म मिल्ने प्रयत्न भने गरिरहेका थिए ।

तर, रास्वपाका सभापति रवि लामिछानेपछिका नेताहरूले मिल्न नदिएको कुरा कुलमानले सार्वजनिक रूपमै आरोप लगाउँदै आएका छन् । यता रास्वपा उपसभापति डिपी अर्यालले भने आज एउटा कुरा गर्ने र भोलि अर्को कुरा गर्ने कारण कुलमानसँगको सहयात्रा टुटेको दाबी गर्छन् । दुवै पक्षका नेताहरू तत्कालका लागि एकता टुटे पनि भविष्यमा सहकार्य हुने दाबी गरिरहेका छन् ।

त्यसपछि कुलमानले समानुपातिकमा बाँसुरी चुनाव चिह्नलाई सघाएर प्रत्यक्षमा देशभर आफ्ना उम्मेदवार उठाएको छ । तर उम्मेदवारहरूलाई आँकलन गर्दा कुलमान र केही उम्मेदवारबाहेक कसैले जित्ने सम्भावनासम्म देखिँदैन ।

कुलमान नआत्तिने

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकमा बाँसुरी चुनाव चिह्नमा मतदान गर्नेछ । बाँसुरी चुनाव चिह्नबाट केन्द्रमा राजेश पोर्तेल सभापति छन् । उज्यालो नेपालले आमजनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि सहकार्य गर्न खोजेको थियो । तर, अहिले लो प्रोफाइलमार्फत् अगाडि बढ्ने एजेण्डासहित बाँसुरी चुनाव चिह्नमा मतदान गर्ने गरी अगाडि बढेको कुलमाननिकट नेता महेन्द्र थापा बताउँछन् ।

थापा भने अहिले तत्काल केही उपलब्धि नभए पनि भविष्यमा आफ्नो पार्टीलाई जनताले नेतृत्वदायी तहमा पुर्‍याउने दाबी गर्छन् । ‘खहरेको भेलसँग बग्ने गरी अगाडि बढे पार्टीको विकास हुँदैन भन्ने कुरालाई मध्यनजर गर्दै हामीले विस्तारै अगाडि बढ्ने सोच बनाएका हौँ’, थापाले अगाडि भने, ‘हामीमाथि १२ दिनसम्म झुलाएर निकै घात गरिएको छ । तर त्यसको जवाफ समयले दिनेछ ।’

कुलमानको सचिवालय पनि अहिले नआत्तिई अघि मुडमा रहेको बताउँछन । उनको सचिवालयका सदस्य भन्छन्, ‘उहाँको गृहजिल्ला रामेछाप हो । तर उहाँ क्षेत्र नम्बर ३ बौद्धमा बस्नुहुन्छ । यहाँका आदिवासी जनजातिलगायत उहाँलाई बलियो साथ दिनुभएको छ । हामीले चारपाँच वटा कारणले यस क्षेत्रबाट कम्फर्टेबल जितिने विश्वाससहित उम्मेदवारी दिएका हौँ । हामीमाथि ठूलो षड्यन्त्र र घेराबन्दी छ तर निर्वाचन जितिन्छ ।’

यस्ता छन् आधार

१. काठमाडौं-३ को बौद्ध र महाकाल क्षेत्रमा कुलमानको बसोबास भएकाले यहाँका आदिवासी जनजातिको ठूलो मत कुलमानलाई जान्छ । विशेषतः काठमाडौंका नेवार, तामाङ मगरलगायत समुदायले कुलमानबाहेक अरूलाई भोट हाल्दैनन् ।

२. कुलमानले ऊर्जा मन्त्रालय सम्हाल्दा र विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हुँदा काठमाडौंको यस क्षेत्रका बासिन्दासँग निरन्तर सहकार्य र संवाद गरेका थिए । यहाँका रैथाने र सुकुम्बासीसँग कुलमानले काम गरेका छन् ।

३. २०७४ को निर्वाचनमा पहिलो पटक एमालेका उम्मेदवारले जितेको यस क्षेत्रमा विकास निर्माणको कामले खासै गति लिन सकेन । एमालेबाट निर्वाचित कृष्ण राईलेले यहाँको समस्या समाधान गर्न सकेनन् ।

०७९ को निर्वाचनमा विजय भएका कांग्रेसका सन्तोष चालिसेले पनि यहाँको जनताको समस्यालाई सम्बोधन नगरेको मतदाताको गुनासो छ । यस पटक देशले चिनेको पलपुर व्यक्तिलाई जिताउने पक्षमा यहाँका जनता छन् ।

४. रास्वपाका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेलाई यहाँबाट उठाइएको छ । पाण्डे र एमाले वा कांग्रेसका उम्मेदवारभन्दा कुलमानको लोकप्रियता र छवि उच्च छ ।

५. कुलमानले रामेछापबाट उम्मेदवारी दिने तयारी गरे पनि यहाँको बौद्ध र गोकर्णेश्वर नगरपालिका क्षेत्रका जनजातिले काठमाडौं क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिन आग्रह गरेपछि कुलमानले रामेछापको च्याप्टर क्लोज गरेको उल्लेख गरिन्छ ।

कस्तो छ विगतको गणित

०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसेले १५ हजार १५८ मत प्राप्त गरी विजयी भएका थिए । दोस्रो हुनेमा नेकपा एमालेका कृष्णबहादुर राई थिए, उनले ११ हजार १९६ मत पाए ।

०७९ को निर्वाचनमा यो क्षेत्रबाट प्रदेशसभामा पनि दुवै क्षेत्रमा कांग्रेस नै विजय भएको छ । प्रदेशसभा सदस्य (क) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (ख) मा विमल ठकुरी विजयी भएका हुन् ।

०७४ को निर्वाचनमा भने काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका थिए । त्यसबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन् ।

वैकल्पिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत पाइन् । त्यसबेला ५३ हजार ८२४ मतदाता रहेको यस क्षेत्रबाट ३९ हजार ३ मत खसेको थियो ।

संविधानसभाको पहिलो चुनावमा नेपाली कांग्रेसका चक्रबहादुर ठकुरी काठमाडौं ३ बाट विजयी भएका थिए । निरन्तर रूपमा कांग्रेसले जित्दै आएको यस क्षेत्रमा ०७४ को निर्वाचनमा भने नेकपा एमालेले जितेको थियो ।

फागुन २१ को तयारी

फागुन २१ को निर्वाचनमा यो पटक कुलमान घिसिङ, रास्वपाका उम्मेदवार राजु पाण्डे र नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालबीच कडा प्रतिस्पर्धा हुने धेरैले आँकलन गरेका छन् । कुलमानलाई टक्कर दिने किसिमले उठेका राजु पाण्डे काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन साहसँग जोडिएर उनीको चर्चा हुने गरे पनि काठमाडौंबासीलाई सडक संरचना हटाउन लगाएर सास्ती दिएको आरोप पाण्डेमाथि छ । काठमाडौंबासीकै पनि सडक किनारमा पर्ने संरचना हटाउने अभियानमा बालेनलाई साथ दिएका पाण्डेलाई यहाँका स्थानीयले राम्रोसँग नहेर्ने आँकलन कुलमानको छ ।

तर बालेनले केही दिनमात्रै काठमाडौँ क्षेत्र नम्बर ३ मा पाण्डेलाई साथ दिएमा उनले कम्फर्टेबलले चुनाव जित्ने उनको सचिवालयको दाबी छ । ‘हाम्रो वरिष्ठ नेताको लिगेसीसँग जोडिएका पाण्डे सरलाई जिताउने अभियानमा खट्छौँ’, बालेनको सचिवालयका ती सदस्य भन्छन्, ‘काठमाडौँ ३ मा हामीलाई गाह्रो छैन ।’

पार्टी संगठन र पकड क्षेत्र भएको हिसाबले कांग्रेसको पनि यहाँ सम्भावना निकै प्रबल देखिन्छ । जेन-जी आन्दोलन पछाडिको परिस्थितिले गर्दा कांग्रेसलाई केही धक्का लागेको स्थानीयवासी सन्तोष महर्जन बताउँछन् ।

कांग्रेस सभापतिमा गगन थापा आएपछि यहाँका उम्मेदवार रमेश अर्याललाई पनि स्थानीय जनताले चासोका साथ हेरेकोले यसै भन्न नसकिने अवस्था रहेको महर्जनको दाबी छ ।

‘कांग्रेसमा गगन थापा सभापति भएपछि रमेशजीलाई पनि चासोका साथ हेरिएको छ’, स्थानीय व्यवसायी रहेका महर्जन भन्छन्, ‘कुलमानजीको उम्मेदवारीले गर्दा यसपालि रमेशजीलाई गाह्रै अवस्थामा छ । पहिला त यहाँ सन्तोष दाईको अवस्था पनि राम्रै थियो तर उहाँले केही गर्न सक्नुभएन ।’

यहाँबाट एमालेले रामेश्वर फुयाँललाई अगाडि सारेको छ । २०७४ को बागमती प्रदेश सभामा निर्वाचित उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका हुन् । स्थानीय नेता रहेका उनलाई एमालेले अगाडि सारे पनि यहाँ एमालेको संगठन राम्रो देखिँदैन ।

यता युवा उम्मेदवार आउनुपर्छ भन्ने कुरालाई अगाडि सार्दै नेकपाले जनयुद्ध लडेका लडाकु निरज लामालाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ । युवामाझ लोकप्रिय र स्थानीयवासी उम्मेदवार भएकाले निरजले पनि केही भोट काट्न सक्ने दाबी गरिन्छ ।

कुलमान या राजुलाई कुनै न कुनै दलले सघाएको खण्डमा यी दुवैको जित सुनिश्चित हुने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेस र नेकपाको सहकार्य नहुने अवस्था देखिएको पार्टीका शीर्ष नेता बताउँछन् । कुलमानले एमालेसँग सहकार्य गर्ने अवस्था आए उनको जित सुनिश्चित हुने देखिन्छ ।

तर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कुलमानमाथि एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेका कारण उनीहरूबीच सहकार्य गर्ने अवस्था टुटेको छ । स्रोतका अनुसार कुलमानसँग कांग्रेसका केही नेताहरू संवादमा भए पनि सहकार्यको लागि उचित सहमति भएको छैन ।

काठमाडौं-३ का मतदाता अहिलेसम्म अलमलमा छन् । उनीहरूले नयाँ उम्मेदवार र दललाई रोज्छन् या पुरानालाई, त्यो फागुन २१ को निर्वाचनपछि थाहा हुनेछ । काठमाडौं-३ नयाँलाई जिताउने तयारीमा रहेको देखिन्छ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : २५ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद