इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस « Khabarhub

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस



काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ हेरिएको छ। यहाँका मतदाताहरू पुरानै दलमध्ये एकलाई रोज्ने तयारीमा छन् । तर कांग्रेसलाई अवसर दिने या एमालेलाई नै निरन्तर अघि बढाउनेमा द्विविधा छ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि २०८१ मा उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङ लोकप्रिय मतले यहाँबाट निर्वाचित भए ।

त्यसबेला सुहाङले २७ हजार ७२ मत ल्याउँदा प्रतिद्वन्द्वी डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। त्यसबेला खड्कालाई साना दलले समेत सहयोग गरेका थिए भने सुहाङलाई नेकपा माओवादी केन्द्रले सहयोग गरेको थियो।

विगत ३५ वर्षदेखि नेम्वाङ परिवारले क्षेत्र नम्बर २ मा विजय हासिल गर्दै आएको छ। अहिले सुहाङलाई काङ्ग्रेसका भेषराज भारी पर्ने अवस्था छ। स्थानीय स्तरमा लामो समयदेखि काम गर्दै आएका भेषराजलाई २०८१ कै उपनिर्वाचनमा टिकट दिएको भए विजय हासिल गर्ने यहाँका मतदाताको अड्कल छ।

कांग्रेसका मात्रै होइन एमालेका असन्तुष्ट पक्षले पनि भेषराजलाई मत दिने धेरैले अनुमान गरेका छन्। उपनिर्वाचनमा तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए ।

अहिलेको निर्वाचनमा पनि यहाँको यही मत निर्णायक हुने अवस्था छ। किराँत धर्मगुरुको क्षेत्र माङ्सेबुङका मतदाताले भेषराजलाई रोजेको खण्डमा उनको पल्लाभारी हुने अवस्था देखिन्छ तर जातीय मत जातीय उम्मेदवारहरूलाई जाने भएकाले यहाँ श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तित पार्टी, लिम्बुवान र राष्ट्रिय जनमुक्ति पार्टीलाई भोट जाने अवस्था छ।

यो पटक यहाँ नेकपाले पनि आफ्नो उम्मेदवार उठाएको देखिन्छ। आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा श्रम संस्कृति पार्टीबाट सुदीप राईले उम्मेदवारी दिएका छन्। नेकपाका ओमबहादुर गुरुङलालाई पनि केही मत जाने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोकुल राई उम्मेदवार हुँदा उनले पनि केही मत ल्याउने अवस्था छ । सहरी इलाकामा जस्तो चर्चित उम्मेदवार नहुनु र मतदाताहरूको मत परिवर्तन गर्ने भावना नदेखिनुले इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीले यो पटक पनि सम्मानजनक मत ल्याउने अवस्था छैन।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत पाएर चौथो स्थान ल्याएका थिए । त्यसबेला लिम्बूको जमानत जफत भएको थियो। यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह तेस्रो भएका थिए। उनी केही समय उज्यालो नेपाल पार्टीमा बसे पनि अहिले निष्क्रिय छन्।

यहाँ राप्रपाका गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाङफे पनि उम्मेदवार छ्न् । जसपाका बलबहादुर आङ्देम्बे, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिम्बू, नेकपा (माओवादी)का होमप्रसाद खतिवडा उम्मेदवार छन् ।

जातीयको भोटको असर

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा माङसेबुङ गाउँपालिकाको फ्याक्टरले काम गर्छ। किरात समुदायका प्रख्यात धर्मगुरु रहेको यस क्षेत्रमा यहाँका समुदायको करिब १० हजार मत छ । यो मत भेषराजको पक्षमा जाने सम्भावना कमै देखिन्छ किनभने उनी आदिवासी जनजाति समुदायका उम्मेदवार पर्दैनन्।

यहाँका स्थानीयको भनाइ अनुसार डकेन्द्रले हर्कको श्रम संस्कृति पार्टीलाई साथ दिने सम्भावना पनि उत्तिकै छ। हुन त सुहाङ र धर्मगुरुको पनि पटकपटक भेट भइरहेको कुराहरू आउँछन् । तर एमाले पार्टीलाई धर्मगुरुको क्षेत्रबाट मत नजाने यहाँका स्थानीय अमरसिंह योङहाङ बताउँछन् ।

‘माङ्सेबुङका मतदाता त्यति धेरै अशिक्षित पनि छैनन्। सुहाङ व्यक्तिगत हिसाबले राम्रो मान्छे भएपनि उनले पार्टी राम्रो हेरेनन् । यसपटक साना पार्टीहरूले यहाँबाट राम्रो भोट ल्याउने अवस्था छ,’ योङहाङ भन्छन्, ‘कांग्रेसका भेषराजको कुनै खोट छैन तर उनले पहिचान र जातीयताको सवालमा स्पष्ट रुपमा कुराहरू अगाडि सारेको देखिँदैन । माटो र बाँसुरी चुनाव चिन्हका उम्मेदवारहरूलाई यहाँबाट राम्रो मत जाने देखिन्छ ।’

यहाँ जसपाका बलबहादुर, मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बूलाई पनि स्थानीय मतदाताले चासोका साथ हेरेका छन् । इलामको बजारी इलाका र माङ्सेबुङका केही स्थानमा मङ्गल नेसनल अर्गनाइजेसनको संगठन राम्रो हुनाले पनि यो पार्टीले धेरै मत काट्ने देखिन्छ ।

क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र नम्बर २ मा जातीय मतदाता बढी छन् । ९ वटा वडा रहेको देउमाई नगरपालिकाको पूरै भूभाग यो क्षेत्रमा पर्छ । माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ पनि यहीँ पर्छन् ।

१२ वटा वडा रहेको जिल्ला सदरमुकाम इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडाहरू दुई अन्तर्गत छन् । सहरी मतदाता समेत रहेको क्षेत्र नम्बर २ मा कुल ४२ वडा छन् । यीमध्ये ०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमत अर्थात् २२ वटा वडामा जित निकालेको थियो भने एमालेले १७ वडा जितेको थियो ।

माओवादी, जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले एक–एक वटा वडाहरू जितेका थिए । उपनिर्वाचनमा इलामको माङसेबुङ गाउँपालिका लारुम्बाको मत केही मुढा चुनाव चिन्हको डकेन्द्र थेगिमलाई गएको थियो।

योपटक यहाँको मत श्रम संस्कृति पार्टीका उम्मेदवार, जनमुक्ति र लिम्बुवानका उम्मेदवारले काट्ने देखिन्छ। माङसेबुङका किरात धर्मावलम्बीको मत पनि केही एमालेका सुहाङतर्फ जाने अवस्था आएपनि उनको पक्षमा राम्रो मत झर्दैन ।

आत्मानन्द लिङदेनका सेवक भएर काम गरेका व्यक्तिहरूले सुहाङलाई मत हाल्छन् हाल्दैनन् भन्ने कुरा अहिले निर्धारण नभएपनि उनीहरू सबैले कांग्रेसका उम्मेदवार भेषराजलाई पनि मत हाल्ने अवस्था छैन। सुहाङले उपनिर्वाचनमा माङसेबुङबाट जति मत ल्याएका थिए त्यसको आधाभन्दा कम मत मात्रै उनको पक्षमा आउने देखिन्छ ।

किनकि एमालेमाथि यहाँका मतदाताहरूको भरोसा टुटेको छ। इलाम क्षेत्र नम्बर २ मा धर्मगुरु आत्मानन्द लिङदेनका समर्थकहरूसँग कति भोट छ ? यसको यकिन आँकडा छैन तर उपनिर्वाचनमा डकेन्द्रले पाएको मत हेर्दा लगभग ५ हजारभन्दा बढी मत आत्मानन्दको हातमा छ।

माङसेबुङको वडा नम्बर ५ को वडाध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टीले जितेको तथ्यका कारण त्यहाँ राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाङ्फेलाई जाने देखिन्छ। लिम्बुले किरातीहरूको मतसमेत काट्छन्। माटो चुनाव चिन्हका सुदीपले पनि यहाँको मत पाउने अवस्था छ।

उता चुलाचुली गाउँपालिकाको वडा नम्बर २ पनि विगतमा पहिचानवादीहरूको गढ हो । करिब ४ हजार मतदाता रहेको सो वडामा गत चुनावमा लिम्बुवानले वडाध्यक्ष जितेको थियो, अहिले ती वडाध्यक्ष डकेन्द्रको पक्षमा खुलेका छन् ।

यो मत पनि माटोका सुदीप र संघीय लोकतान्त्रिक मञ्चका सरदसिंहलाई जाने देखिन्छ । जसपाका बलबहादुर र जनमुक्तिका यामबहादुरलाई पनि यहाँका पहिचानवादीहरूले मत हाल्ने अवस्था छ।

धर्मागुरु आत्मानन्दले अन्तिम अवस्थामा मात्रै कसलाई मतदान गर्ने भन्नेमा संकेत दिने कारण यहाँका मतदातामा कन्फ्युजनको अवस्था रहेको स्थानीय स्रोतकाे दाबी छ ।

साना दलले काट्छन् मत

मुख्य प्रतिस्पर्धा तीन दलबीच देखिए पनि सानाहरूले केही भोट काट्न सक्ने आकलन यहाँका स्थानीय गर्छन् । आदिवासी जनजाति समुदायको बसोबास रहेको यस क्षेत्रमा श्रम संस्कृति र उज्यालो नेपालले मत काट्ने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भीम चापागाईं बताउँछन्।

एमालेलाई जवाफ दिन कठिन

पटकपटक एमालेलाई हेरे पनि विकास निर्माण र स्थानीय उत्पादनको बजारीकरणमा काम नगरेको नारासहित कांग्रेस र अन्य नेताहरू गाउँ पसेका छन्।

यो बेला दुवै क्षेत्रमा सुहाङ नेम्बाङ र काजीमान कागतेलाई मतदातासँग फेस गर्न केही समस्या देखिएको छ । सामाजिक सञ्जालको प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहने इलामका मतदाताले एमाले तत्कालीन सरकारमा भएको बेला जेन-जी आन्दोलन भएको भन्दै नौजवानले अकालमा ज्यान गुमाउनु परेकोमा खबरदारी गरिरहेका छन् ।

एमालेको संगठन राम्रो भए पनि अध्यक्ष ओलीको कार्यशैलीका कारण नौजवानले ज्यान गुमाउनु परेको दुखेसो स्थानीयले पोख्ने गरेको एमाले संगठित सदस्य तथा इलाम बजारका व्यवसायी रञ्जिता गौतम बताउँछिन्।

‘एमालेको संगठन राम्रो छ। एमालेबाट उम्मेदवार रहेका सुहाङ र काजीमान स्थानीयस्तरमा भिजेरै काम गरेका नेता हुन् । तर आन्दोलनलाई लिएर एमाले र नेतृत्वमाथि प्रश्न उठेपछि उहाँहरूलाई मतदाताले घेरेका छन् ’, गौतम भन्छिन्, ‘यस प्रश्नको जवाफ दिनु परिरहेका कारण एमालेका उम्मेदवारहरूलाई इलाममा निकै सकस देखिन्छ।’

इलामकै मतदाता खेम हुमगाईं पनि एमाले सरकारमा भएको बेला युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनु परेकाले जनताको उत्साह नदेखिएको दाबी गर्छन्।

अहिलेसम्म जित्दै आएको एमालेको किल्लालाई भत्काउन यहाँका स्थानीयहरू एकजुट भए यो पटक पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने हुमागाईंको दाबी छ।

‘निर्वाचन आउन अझै एक महिना बाँकी छ। तर पनि तत्कालीन सरकारमा रहेका बेला एमाले अध्यक्ष ओलीका कारण जेन-जी आन्दोलन भयो । त्यो आन्दोलनमा नौजवानले ज्यान गुमाउनु परेको भाष्य इलाममा पनि देखिन्छ’, उनले भने ।

हुमागाईंका अनुसार यस पटक समानुपातिक मत नयाँलाई जाने देखिन्छ । ‘नयाँका प्रभावशाली उम्मेदवार नहुनाले प्रत्यक्षमा पुरानै आउने अवस्था छ। तर जुन पहिले एमालेप्रति यहाँका जनताको उत्साह थियो, त्यो देखिँदैन’, उनी भन्छन्, ‘त्यसकारण झिनो मतान्तरले यहाँ हारजित हुने अवस्था छ। क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार पनि बलिया छन्।’

सुहाङ र भेषराजको दाबी

भेषराज २०७४ को निर्वाचनमा सुहाङ नेम्वाङका पिता सुभाषचन्द्र नेम्वाङसँग पराजित भएका नेता हुन्। २०७९ मा भने भेषराजको ठाउँमा कांग्रेसले डम्मर खड्कालाई टिकट दिएको थियो र २०८१ को उपनिर्वाचनमा पनि खड्कालाई नै दोहोर्‍याएकाे थियो। कांग्रेस संगठित भएकाले आफ्नो जित सुनिश्चित रहेको भेषराजको विश्वास छ ।

‘कांग्रेसका साथीहरूबाट मलाई कुनै शङ्का छैन उहाँले विश्वास गरेर मलाई उठाउनुभएको छ। मत नदिने भन्ने कुरा हुँदैन अन्य साथीहरूले पनि एकताका लागि प्रस्ताव राख्नुभएको छ अन्तिमसम्ममा त्यो पनि हुन सक्छ । मेरो इतिहास मेरो लगानी र मेरो इमान्दारिताको विषयमा अहिलेसम्म प्रश्न उठाउने ठाउँ छैन र आगामी दिनमा पनि ठाउँ बनाउँदिन भनेर हिँडेको छु। जनताका सानासाना समस्याहरूलाई सम्बोधन गर्न सधैँ हिँडेको हुनाले मलाई यहाँ विश्वास गर्नुहुन्छ भन्नेमा यसपाली ढुक्क छु।’ भेषराज भन्छन् ।

‘अरुबेला अरुतिर गएको धेरै मत मतिर आउँछ। विगतमा हाम्रो केही रणनीति कमजोरी र अन्य कारणले गर्दा यहाँको क्षेत्र गुमाउँदै आएको हो। अहिले कांग्रेसमा त्यो खालको परिस्थिति छैन। एमालेमा एकदमै धेरै फ्रस्ट्रेसन बढेको देखेको छु। नयाँ नेतृत्व र ऊर्जाका साथ नेपाली काङ्ग्रेस आएकाले जनताहरू एकदमै उत्साहित हुनुहुन्छ। परिवर्तनको पक्षमा काङ्ग्रेस रहेकाले एमालेको किल्ला भत्कन्छ।’ इलाम २ का मतदाताहरूलाई रोजगारी र पूर्वाधारसँग जोडेर उत्पादनलाई बजारीकरणको मुद्दामा भेषराज पनि अगाडि देखिन्छन्। आफूलाई एमालेका उम्मेदवार सुहाङ कुनै चुनौती नरहेको दाबी गर्दै भेषराज भन्छन्, ‘विगतमा एमालेले पटकपटक यहाँका जनतासँग परीक्षा लिइसकेको अवस्था छ । हरेक परीक्षामा एमाले फेल भएको विधितै छ त्यसकारण यो पटक कुनै प्रतिस्पर्धी बेगर कांग्रेसको जित सुनिश्चित हुनेमा म ढुक्क छु।’

यता कानुन व्यवसाय छोडेर बिरासतको राजनीतिमा होमिएका सुहाङ पुन: विजय हुने दाबी सहित मतदाताकहाँ पुगेका छन् । युवा जोशजाँगर र इमान्दार एमाले नेता भएकाले सुहाङ जित सुनिश्चित हुने यहाँका केही एमालेहरू अड्कल काट्छन्। तर एमाले विवादित पार्टी भएका कारण यसपटक सुवाङलाई जित्न निकै कठिन हुने र उनी डेन्जर जोनमा रहेको आकलन छ । क्षेत्र नम्बर १ मा महेश बस्नेतलाई टिकट नदिएको विषयका कारणले पनि सुवाङलाई असर पार्ने अवस्था देखिन्छ।

‘मतदाताहरूलाई बुझाउन अलिक समस्या छ तर हामीले निर्वाचन जित्ने विषयमा कुनै कठिन छैन । जेन्जी आन्दोलनको बेला सबैभन्दा पहिले म उहाँहरूको पक्षमा उभिएको व्यक्ति हो। एउटा परिस्थितिले गर्दा भएको निर्वाचनले गर्दा मलाई यहाँका जनताले पूर्ण साथ र सहयोग दिनुभएको छ,’ सुहाङ भन्छन्, ‘मतदाताको मन जितिसकेको हुनाले काम गरेर देखाउँछु भनेर गएको थिए। तर परिस्थितिले गर्दा पुनः निर्वाचन हुने भएपछि उहाँहरूको आशीर्वाद लिन फर्किएको हुँ। मलाई जित्नका लागि कठिन छैन ।’

सुहाङले यसो भने पनि पार्टीमाथि प्रश्न उठेका कारण एमालेको संगठन लगभग बिग्रिएका कारण उनी हरेक मतदाताको घरघरमा पुग्नुपर्ने चुनौती थपिएको छ। एमालेको संगठन बिग्रिएका कारण सुहाङलाई हरेक मतदाताको घरघरमा पुग्नुपर्ने चुनौती छ। उनको व्यक्तिगत स्वभाव र इमान्दारिताप्रति यहाँका जनताले प्रश्न उठाउने ठाउँ छैन तर पार्टीमाथि प्रश्नैप्रश्न गर्न थालेका छन्।

स्थानीय जीवन राई भन्छन्, ‘सुहाङजी अलि आत्तिएकोजस्तो मोडमा हुनुहुन्छ । धर्मगुरुको क्षेत्र माङ्सेबुङमा पनि उहाँलाई अब धर्मगुरुका चेलाहरूले साथ दिने अवस्था नभएपछि उहाँलाई कठिन देखिन्छ ।’ १६ महिना संसदीय यात्रा गरेर पुन: निर्वाचनमा होमिएका सुहाङ भने पटक–पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेकाले जनताले उनलाई चुन्ने विश्वासमा छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : ५३ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य