विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसका अवसर पारेर आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईसहित चार जनालाई नगदसहित पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले रु १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित रु १५ हजार राशिको ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा कौशिला रिसाललाई प्रदान गरिएको छ । छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार’ इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार सरला चापागाईंसहित संस्थापकहरूले पुरस्कार राशि र सम्मानपत्र समर्पण गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।













प्रतिक्रिया