काठमाडौं – पछिल्लो समय नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को असफल भइरहेका छन् ।
बक्स अफिस यति चिसिएको छ कि– बहुसंख्यक नेपाली फिल्मले एक करोड ग्रस कलेक्सन पुर्याउन सकेका छैनन् ।
कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ नै बक्स अफिसमा सफल अन्तिम नेपाली फिल्म बनेको छ। त्यसयताका सबै फिल्मले लगानी डुबाएका छन् ।
अहिले तीन–पाँच करोडको मध्यम व्यापार गर्न पनि नेपाली फिल्मलाई हम्मेहम्मे परिरहेको छ ।
स्टार कलाकार वा नयाँ सबैको फिल्मको व्यापार कमजोर देखिएको छ। नेपाली फिल्महरू एक साता पनि हलमा टिक्न मुस्किल परेको अवस्था छ ।

लगातार डुबिररहे पनि फिल्म प्रदर्शनमा आएका आयै छन् । कात्तिक १४ पछि यही महिनामा ४ फिल्म प्रदर्शनमा आए ।
मंसिरमा ५ र पुसमा ४ फिल्म प्रदर्शनमा आए । माघ १६ सम्म ५ फिल्म प्रदर्शनमा आइसके । माघ १ गतेमात्रै तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ प्रदर्शनमा आए ।
कात्तिक मध्यदेखि माघ ९ सम्म करिब तीन महिनाको अवधिमा १७ फिल्म प्रदर्शनमा आए । यी सबै फिल्म बक्स अफिसमा फ्लप भए ।
तर, हिन्दी फिल्मले भने दर्शकलाई तानिरहेका छन् । मंसिरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘धुरन्धर’ले १० करोडमाथि ग्रस कलेक्सन गरेको छ ।
पुस पहिलो साता प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ले साढे ६ करोडभन्दा माथि व्यापार गरेको छ ।
स्टार नै फ्लप
उक्त तीन महिनाको अवधिमा स्टार कलाकारहरूका तीन पाँच फिल्म प्रदर्शनमा आए । ती हुन्– ‘जारी २’, ‘एक्लो’, ‘भाइरल गोर्खे’, ‘मिरमिरे’ र ‘परिवर्तन’ ।
‘जारी २’ले ६ करोडमाथि ग्रस कलेक्सन गरेको थियो । १८ करोड व्यापार गरेको ‘जारी’ जस्तो हिट फिल्मको सिक्वेलको व्यापार तीन गुणाले घट्नुलाई कमजोर व्यापार नै मानिन्छ ।

त्यहीमाथि यस फिल्मको शीर्ष भूमिकामा अहिलेका सर्वाधिक व्यस्त नायक दयाहाङ राई थिए । उनको अपोजिटमा नायिका मिरूना मगर थिइन् ।
दयाहाङको अर्को फिल्म ‘मिरमिरे’ हलमा एक साता पनि टिक्न पाएन । यो फिल्मको व्यापार करिब ३४ लाखभन्दा केही बढी छ । यो भनेको सुपर फ्लप हो ।
अहिले सर्वाधिक फ्यान फलोइनङ हुने नायकको सूचीका प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ पनि बक्स अफिसमा डिजास्टर फ्लप भयो ।
स्टार कलाकार भएको फिल्मले कम्तीमा ओपनिङ राम्रो गर्ने अपेक्षा गरिन्छ । ‘एक्लो’को हकमा त्यो पनि लागु भएन । त्यहीकारण ग्रस कलेक्सन ५० लाखभन्दा तल सीमित भयो ।
‘परिवर्तन’मा अहिलको डिमान्डेड नायिका अञ्जना बराइली छन् । एक्सन जनराको यो फिल्मले पनि बक्स अफिसमा कमाल गर्न सकेन । एक साता हलमा राम्रोसँग नटिक्ने फिल्ममा पर्यो । यसको ग्रस कलेक्सन ३२ लाख हाराहारी छ ।
हजारमा व्यापार गर्ने फिल्म
ग्रस कलेक्सन हजारमै सीमित हुने, दुई फिल्म छन् । लाख ग्रस कलेक्सन गर्न नसक्ने डिजास्टर फ्लप एक फिल्ममा नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् ।

नायिका पन्त स्टारर फिल्म ‘धागो’को ग्रस कलेक्सन ४० हजार ४२० रुपैयाँ मात्रै छ ।
चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यो फिल्मका १२६ वटा टिकट बिक्री भए । यो फिल्म कात्तिक २८ बाट प्रदर्शनमा आएको थियो ।
त्यस्तै, अर्को फिल्म ‘चिराग’को ग्रस कलेक्सन ६८ हजार ४५० छ । यो फिल्मका पनि ३३० वटा टिकट बिक्री भए ।
करोडमा व्यापार गर्ने फिल्म चार
उक्त मितिमा प्रदर्शनमा आएका १६ मध्ये चार फिल्मले मात्रै ग्रस कलेक्सन कटाएका छन् । जसमा सबैभन्दा बढी व्यापार गर्ने ‘जारी २’ नै हो ।
दोस्रोमा बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘मनबिनाको धन’ छ । मध्यम व्यापार गरेको यो फिल्मले तीन करोड ८४ लाख ग्रस कलेक्सन गरेको थियो ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू फिल्मले कडा प्रतिस्पर्धाबीच ग्रस कलेक्सन १ करोड कटाएको छ ।
माघ १ बाट प्रदर्शनमा आएको यो फिल्मले दयाहाङ स्टारर ‘मिरमिरे’ र सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’सँग बक्स अफिस प्रतिस्पर्धा गरेको थियो ।
यी दुई फिल्म स्टारको फिल्मको ग्रस कलेक्सन ३० लाखको लाइनमा सीमित हुँदा ‘गोबर गणेश’ एक करोड ३६ लाखभन्दा बढी व्यापार गरेको छ ।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले एक करोड २८ लाख ग्रस कलेक्सन गरेको छ।













प्रतिक्रिया