जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान « Khabarhub

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।

बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्यान्हसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबार जारी रहनेछ भने नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पूर्वप्रधानमन्त्री हसिना देशबाट बाहिरिएपछि र उनको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिना हाल भारतमा निर्वासनमा बस्दै आएका छन् ।

बङ्गलादेश नेसनलिस्ट पार्टी(बिएनपी) का तारिक रहमान आगामी सरकार गठनका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन् र १७ वर्ष लन्डनमा स्व–निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए । उनले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन सुदृढीकरण र सङ्घर्षरत अर्थतन्त्र पुनर्जीवित गर्ने प्रतिबद्धता बताएका छन् ।

उनलाई चुनौती दिने शक्तिका रूपमा जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धन अघि आएको छ । हसिनाको शासनकालमा प्रतिबन्धित उक्त इस्लामवादी दलले पछिल्लो समय प्रभाव बढाएको छ । यसले विशेषगरी महिला र धार्मिक अल्पसङ्ख्यक समुदायमा चिन्ता बढाएको छ । 

बङ्गलादेशमा करिब ९० प्रतिशत मुस्लिम र झण्डै आठ प्रतिशत हिन्दू समुदाय बसोबास गर्छन् । जमातका प्रमुख शफिकुर रहमानले मतदानपछि ‘यो निर्णायक मोड हो’ भन्दै जनताले परिवर्तन चाहेको बताए ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले निष्पक्ष र पारदर्शी मतदान गराउने प्रतिबद्धता जनाएको छ । करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकार उपस्थित रहेको जनाइएको छ, जसमा युरोपेली सङ्घ(इयु) र राष्ट्रमण्डलका प्रतिनिधिहरू पनि समावेश छन् ।

तीन सय ५० सदस्यीय संसद्मा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५० सिट महिलाका लागि आरक्षित छन् । सांसदहरू बहुलताका आधारमा चयन हुनेछन् र संसद्को कार्यकाल पाँच वर्षको हुनेछ । एक उम्मेदवारको निधनपछि एउटा निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्ला वर्षहरूमा भएको हिंसा, अल्पसङ्ख्यक र प्रेसमाथिका आक्रमण तथा विधिको शासन कमजोर बनेको अवस्थापछि यो चुनाव हुँदैछ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि बङ्गलादेशको राजनीति दलगत द्वन्द्व, सैन्य कू र मत हेरफेरका आरोपले प्रभावित हुँदै आएको छ । करिब ५० लाख पहिलो पटकका मतदाता यसपटक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ ।

२८ वर्षीय मतदाता इकराम उल हकले यो पहिलो पटक स्वतन्त्र रूपमा आफ्नो मत व्यक्त गर्न पाएको अनुभव रहेको बताए। 

‘हामी चुनावलाई पर्वका रूपमा मनाइरहेका छौँ’, उनले भने, ‘मलाई बङ्गलादेशमा ठूलो परिवर्तनको आशा छ ।’

निर्वाचनसँगै राष्ट्रिय चार्टरअन्तर्गत प्रस्तावित संवैधानिक सुधारबारे जनमतसङ्ग्रह पनि गरिएको छ । बहुमतले समर्थन गरेमा नयाँ संसद्ले १८० कार्यदिनभित्र संवैधानिक सुधार परिषद् गठन गर्नेछ । प्रस्तावमा द्विसदनीय व्यवस्थापिका स्थापना र माथिल्लो सदनलाई संविधान संशोधनको अधिकार दिने व्यवस्था समावेश छ ।

बिएनपी र जमात–ए–इस्लामीले केही संशोधनपछि दस्तावेजमा सहमति जनाएका छन् । तर अवामी लिग र उसका केही पूर्व सहयोगीहरूलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै जनमतसङ्ग्रहको आलोचना पनि भइरहेको छ । यस चुनावले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १ : ४१ बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा