गोरखा– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रुपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ ।
गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ ।
मन्दिर परिसरमा नै रहेका १६१६ सालअघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ ।
राजा रामशाहको पालामा निर्माण गरिएको गोरखा दरवार परिसरमा रहेको संरचनाहरू मध्ये मूल दरबारको विशेष महत्व रहेको छ । बुइँगलसहित यो दरवार चार तलाको रहेको छ ।
दरबारको तेस्रो तला कलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ । उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचनाहरू २०७२ सालको भूकम्पले क्षति गरेपनि हाल पुनर्निर्माणको काम सकिसकेको छ ।
पृथ्वीनारायण शाह जन्मेको कोठा
दरबारको तल्लो अर्थात भुइँतला दायाँतर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ । हाल यो कोठा बन्द गरेर राखिएको छ । यो कोठा वाहिर रहेको कोठालाई धुनी कोठा भनिन्छ । पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिएको मानिन्छ ।
राजकन्या कोठा
दरबारको मूल प्रवेशद्वारबाट गएपछि भित्री द्वार आउँछ यसै भित्रीद्वारबाट छिरेपछि बायाँतर्फ एक कोठा रहेको छ जसलाई कन्या कोठा भनिन्छ । यस कोठामा बडा दशैँ ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दशैँको टीकाको दिनदेखि पूर्णिमाका दिनसम्म गोरखकाली र गोरखकालीसँग सम्बन्धित वस्तुहरू यस कोठामा राख्ने प्रचलन रहेको छ ।
सिंहासन कोठा
कन्या कोठाको ठीक आगाडि सिंहासन कोठा रहेको छ । यस कोठाको काठको सिंहासन राखिएको छ जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ । यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाइएको छ ।
कौषीतोषा कोठा
यस कोठाबाट वर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ ।
भण्डार कोठा
भण्डारकोठाभित्र ३ वटा कोठामा दरबारसँग सम्बन्धित पर्व तथा पूजामा आवश्यक पर्ने पूजा सामग्री लगायत अन्य पूजा भाँडाहरू, हतियारहरू भण्डार गर्ने गरिन्छ । यी भण्डारण गरिएका वस्तुहरू पर्व-पूजाहरुमा निकाल्ने गरिन्छ ।
भान्छा कोठा
दरबारको दोस्रो तलामा ठूलो लामो कुनै घेराबारा नगरेको कोठा रहेको छ जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ । यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको छ । यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ । भान्छाकोठा सँगैको पूर्वतर्फको कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तुहरू राख्ने गरिन्छ ।
कैलाश कोठा
दरबारको तेस्रोतला तथा बुइगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तुहरू राख्ने गरिन्छ । चैते दशैँको एक दिन र बडादशैँको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराइन्छ । यस कैलाश कोठामा भित्रीया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाइँदैन ।
रंगमहल
गोरखा दरवार र कालिका मन्दिरलाई जोड्ने गरी एक भवन बनाइएको छ जसलाई रंगमहल भनिन्छ । यो रंगमहल २ तलाको रहेको छ । रंगमहलको बनाउन भूईतलामा छत्रशाहले लगाई कालिकालाई चढाएको १६६६ सालको अभिलेख सहितको दुईवटा नगरा राखिएको छ भने एउटा १७७१ सालको अभिलेख अंकित तोपको भाग राखिएको छ ।
पहिलो तलामा राजपरिवारहरुले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र वडा दशैँको टीकाको दिन टीका प्रसाद ग्रहण गरिसकेपछि यस स्थानकाबाट रंग भरेको पानी र अविर वर्षाई होली खेल्ने परम्परा रहेको छ । हालसम्म पनि होली खेल्ने परम्परा यथावत कायम रहेको छ । रंगमहलको दोस्रो तला मूल दरवार कालिका मन्दिर जाने भित्रको बाटोको रुपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ ।
गोरखकाली मन्दिर
अलौकिक शक्तिशाली देवताको रुपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लमजुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ । द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लमजुङ दरवारबाट उक्त शक्ति चोरेर ल्याइएको भन्ने एकखालको किम्वदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई बत्तीमा जागा गराएर गोरखा दरबारको पूजाकोठामा ल्याई पुर्याउने प्रयास तेस्रो पटक मात्र सफल भएको कुरा लेखिएको छ ।
गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनहरुले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ । गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ ४ तला रहेको यो मन्दिर भनिएता पनि मूल दरबारको वास्तुशैली जस्तै गरी बनाइएको छ यसको छानामा धातुको गजुर राखिएकोले मन्दिर भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठाहरु रहेका छन् ।
पूजाकोठा
टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ । यस पूजाकोठामा दैनिक नित्य पूजा गर्ने गरिन्छ । यस पूजाकोठामा चैतेदशैको एक दिन र बडा दशैँको नौरथाभरि कालिभगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठमा मुल ब्राह्मण पुजारी र भिरकोटे सुसारे र भित्रिया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाइँदैन ।
गोरखनाथ मन्दिर
गोरखा मूल दरबारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ । यस गोरखनाथ गुफासँग पृथ्वीनारायण शाहको कथा जोडिएको छ । एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भर्याङबाट नओर्ली सिधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायाण शाहले दही ल्याई जोगीलाई दिएको जोगीले सो दही खाई पुनः उकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाइए उकली दिएपछि खान आग्रह गर्दा पृथ्वीनारायण शाहले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो तर यो तिम्रो खुट्टामा खस्यो तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशीर्वाद दिएको भनी किम्वदन्ती रहेको छ ।
ठूलो ढुंगा मुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीहरुद्धारा गोरक्षसहस्रनाम पाठ र पूजा हुन्छ । त्यसैगरी श्रावण महिनामा ४ दिनसम्म र शिवरात्री तथा चण्डीपूर्णीमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तहरुलाई गोरखा दरवारमा भण्डारा खुवाइन्छ ।
दमाईपाटी
दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा सानो पाटी रहेको छ जसलाई दमाई पाटी भनिन्छ । यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ ।
शीतलपाटी
दरवार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रुपमा प्रयोग गरिन्छ । सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ । भनिन्छ तत्कालन राज परिवारका सदस्यहरु आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन जाने गर्दथे ।

















तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया