आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण « Khabarhub

आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चन्द्रमामा मानव फर्काउने महत्त्वाकांक्षी योजनाअन्तर्गत नासाले आर्टेमिस द्वितीय मिसनका लागि तयारी तीव्र बनाएको छ। 

अन्तरिक्ष उडानअघि यानको विश्वसनीयता सुनिश्चित गर्न गरिएको ‘भेहिकल कन्फिडेन्स टेस्ट’ अर्थात् यान विश्वास परीक्षण सम्पन्न भएसँगै प्रक्षेपणको सम्भावित समयरेखा थप स्पष्ट भएको छ ।

नासाले सामाजिक सञ्जाल एक्समार्फत अद्यावधिक सार्वजनिक गर्दै फेब्रुअरी १२ मा सम्पन्न विश्वास परीक्षणपछिको डाटाको समीक्षा भइरहेको जनाएको छ । निकट भविष्यमा अर्को परीक्षणको समय निर्धारण गर्नुअघि प्राप्त निष्कर्षहरूको सूक्ष्म अध्ययन गरिने नासाले उल्लेख गरेको छ। 

यसै महिनाभित्र दोस्रो ‘वेट ड्रेस रिहर्सल’अर्थात् इन्धनसहितको पूर्ण पूर्वाभ्यास सञ्चालन गर्ने तयारी रहेको र मार्च महिनालाई सबैभन्दा प्रारम्भिक सम्भावित प्रक्षेपण विन्डोका रूपमा हेरिएको बताइएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले जारी गरेको विस्तृत विज्ञप्तिअनुसार उडानपूर्वको बलियो प्राविधिक परीक्षणअन्तर्गत इन्जिनियरहरूले स्पेस लन्च सिस्टम (एसएलएस) कोर स्टेजको तरल हाइड्रोजन ट्यांकी आंशिक रूपमा भरेर मूल्यांकन गरेका थिए । रकेटमा इन्धन भर्ने क्रममा प्रयोग हुने क्षेत्रमा हालै प्रतिस्थापन गरिएका सिलहरूको प्रभावकारिता जाँच्नु परीक्षणको प्रमुख उद्देश्य थियो ।

परीक्षणका क्रममा रकेटतर्फ तरल हाइड्रोजनको प्रवाह कम गराउने ‘ग्राउन्ड सपोर्ट इक्विपमेन्ट’ अर्थात् भूमिगत सहयोगी उपकरणसँग सम्बन्धित समस्या देखिएको नासाले जनाएको छ । 

यद्यपि टोलीले धेरै मुख्य उद्देश्यहरूमा अपेक्षित विश्वास प्राप्त गरेको र कोर स्टेज इन्टरफेसहरूबाट महत्त्वपूर्ण डाटा संकलन गर्न सफल भएको उल्लेख गरिएको छ । यिनै इन्टरफेसहरू अघिल्लो वेट ड्रेस रिहर्सलका क्रममा चुहावट देखिएको स्थान थिए ।

इन्जिनियरहरूले उपयुक्त वातावरणीय अवस्था कायम राख्न सप्ताहन्तमा लाइन सफा गर्ने र कम प्रवाहको कारण ठानिएको फिल्टर प्रतिस्थापन गर्नुअघि भूमिगत सहयोगी उपकरणहरूको निरीक्षण गर्ने योजना बनाएको जनाइएको छ । अर्को परीक्षणअघि सबै निष्कर्षहरूको पुनरावलोकन गरिने नासाले स्पष्ट पारेको छ ।

आर्टेमिस द्वितीय, आर्टेमिस कार्यक्रमअन्तर्गत पहिलो चालकदलयुक्त मिसन हो । शक्तिशाली अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियन अन्तरिक्षयान प्रयोग गरी चार अन्तरिक्ष यात्री चन्द्रमाको वरिपरि परिक्रमा गरेर पृथ्वीमा फर्किनेछन् । चालकविहीन आर्टेमिस प्रथमभन्दा भिन्न, यस मिसनमा जीवन–समर्थन प्रणालीसहित गहिरो अन्तरिक्ष सञ्चालनको प्रत्यक्ष परीक्षण गरिनेछ ।

यो अभियानले आगामी आर्टेमिस तृतीयका लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ, जसको लक्ष्य चन्द्रमाको सतहमा पुनः अन्तरिक्ष यात्री अवतरण गराउने र भविष्यको दीर्घकालीन चन्द्र अन्वेषण योजनालाई मजबुत बनाउने रहेको छ ।
 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १ : २५ बजे

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई