पाक-अफगान सीमा तनाव चुलियो « Khabarhub

पाक-अफगान सीमा तनाव चुलियो


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई आक्रमणपछि दुई देशबीचको तनाव थप चुलिएको छ । 

इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा आधारित आतङ्कवादी समूहहरूलाई लक्षित गरी सात स्थानमा कारबाही गरिएको जनाएको छ भने काबुलले ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष सर्वसाधारण मारिएको दाबी गरेको छ ।

रातभर सञ्चालन गरिएको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ । त्यसबेला दुवै पक्षका ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । पछिल्लो आक्रमणपछि सीमा क्षेत्रमा पुनः असुरक्षा र त्रास फैलिएको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तालिबान, उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेटसँग सम्बद्ध तत्त्वहरूलाई लक्षित गरिएको उल्लेख गरिएको छ । इस्लामाबादले तालिबान नेतृत्वले बारम्बार आग्रह गरिँदा पनि पाकिस्तानविरुद्ध अफगान भूभाग प्रयोग गर्ने समूहहरूमाथि कारबाही गर्न असफल भएको आरोप लगाएको छ ।

तर अफगानिस्तानको रक्षा मन्त्रालयले नान्गरहार र पक्तिका प्रान्तका मदरसा र घरहरूमा आक्रमण हुँदा ‘महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिक शहीद र घाइते भएको’ जनाएको छ । मन्त्रालयले पाकिस्तानी आक्रमणको ‘उचित र सुनियोजित जवाफ दिइने’ चेतावनी दिएको छ ।

नान्गरहारको बिहसुद जिल्लाबाट एएफपीका पत्रकारले दुर्गम पहाडी गाउँमा स्थानीय बासिन्दाहरू भग्नावशेष पन्छाउँदै शव खोजिरहेको दृश्य देखिएको बताएका छन् । उद्धारमा खटिएकाहरूले बेलचा र उत्खननका साधन प्रयोग गरी ढलेका संरचनामुनि पुरिएका आफन्तलाई निकाल्ने प्रयास गरिरहेका थिए ।

छिमेकी ३७ वर्षीय अमिन गुल अमिनले ‘यहाँका मानिसहरू सामान्य बासिन्दा हुन्, सबै आफन्तजस्तै हुन्’ भन्दै बम विस्फोटपछि बाँचेकाहरूले मद्दतका लागि चिच्याएको सुनिएको बताए ।

नान्गरहार प्रहरीका प्रवक्ता सैयद तैयब हम्मादका अनुसार मध्यरातमा सुरु भएको बमबारी तीन जिल्लासम्म फैलिएको थियो । उनले एकै घरमा रहेका २३ सदस्य प्रभावित भएको र पाँच जना घाइतेलाई जीवितै उद्धार गरिएको जानकारी दिए ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता पुनः नियन्त्रणमा लिएपछि दुई देशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार पाकिस्तानी सैन्य कारबाहीका कारण अक्टोबरदेखि डिसेम्बरसम्म ७० अफगान सर्वसाधारण मारिएका थिए ।

कतार र टर्कीको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भए पनि बहुपक्षीय वार्ताले स्थायी सहमति दिन सकेको छैन । यसै महिनामा अफगानिस्तानले नियन्त्रणमा राखेका तीन पाकिस्तानी सैनिकको रिहाइमा साउदी अरेबियाले मध्यस्थता गरेको थियो । यद्यपि सम्बन्ध सुधारतर्फ ठोस प्रगति देखिएको छैन र भूमि सीमा महिनौँदेखि बन्द रहँदा दुवै देशका सर्वसाधारण प्रभावित भएका छन् ।

दुई हप्ताअघि इस्लामाबादको एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो र १६० भन्दा बढी घाइते भएका थिए । 

सन् २००८ यता राजधानीमा भएको त्यो सबैभन्दा घातक आक्रमण मानिएको छ । इस्लामिक स्टेट समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको थियो । त्यस्तै, इस्लामिक स्टेट–खोरासान शाखाले गत महिना काबुलको एक रेस्टुरेन्टमा भएको घातक आत्मघाती आक्रमणको दाबी गरेको थियो ।

हालको हवाई आक्रमणले सीमापार आतङ्कवाद, प्रत्युत्तर कारबाही र कूटनीतिक असफलताले सिर्जना गरेको चक्रलाई थप गहिरो बनाएको छ । दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरिरहँदा सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले नै यसको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका छन् । रासस
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १२ : ३८ बजे

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा

वडा भू–प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु 

काठमाडौं– वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

केही शक्ति संघीयता असफल बनाउने षड्यन्त्र गरिरहेका छन् : उपेन्द्र यादव

सप्तरी- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–