ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता) « Khabarhub

ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता)

भ्रम तोडिसकेकाले अब परिस्थिति सहज भएको छ



झापा- झापा क्षेत्र नम्बर ५ मा यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहबीच चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । निर्वाचन आउनै लाग्दा दुवै नेताको सक्रियता बढेको छ । विगतमा उम्मेदवारी दर्ता गराएर देशभर निस्कने ओली यसपटक झापा ५ मा केन्द्रित छन् ।उनी अन्य जिल्लाका सभामा गएनन् ।

अहिले झापामा आ-आफ्नै दाबी छन् । एउटा पक्षले बालेनले जित्ने भनिरहेका छन्, अर्को पक्षले ओलीलाई कसैले हराउन नसक्ने बताइरहेका छन् । अन्य समूह बालेन र ओली दुवै हारेर रञ्जित तामाङ वा मन्धरा चिमरियामध्ये एकले जित्नुपर्छ भन्ने पनि भेटिन्छन् । तामाङ नेपाली कम्युनिस्ट पार्टी र चिमरिया नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।

स्थलगत रिपोर्टिङका क्रममा झापा ५ मा ओली र बालेन दुवैतिर माहोल देखिएको छ। यहाँ यी दुईमा एकले झिनो मतान्तरले जित्ने अनुमान छ । एमाले बालेन्द्र आएपछि सबै शक्ति यहीँ लगाएर बसेको छ।

ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले एक घर-एक कार्यकर्ता खटाउनेदेखि हरेक घरको तथ्यांकसमेत अध्यक्ष ओलीलाई बुझाएका छन् । सबै विश्लेषण सुनाउँदै दाहाल  भन्छन्, ‘भ्रम छरेका कारण झापा-५ मा उपरखुट्टी लगाएर एमालेले निर्वाचन जित्छ भन्ने अवस्था छैन, राम्रोसँग खट्नुपर्छ । हामीले संगठनको बल तल्लो तहसम्म परिचालित गरेका छौँ । अब समस्या छैन ।’

दाहाल एकदुई साताअघि एमालेबारे भ्रम छरिएका कारण नकारात्मक टिप्पणी हुने गरेको बताउँछन् । तर पछिल्लो समय माहोल एमालेको पक्षमा आइसकेको दाबी उनी गर्छन् । उनी मतदाता कन्भिन्स गरिसकेकालले अरूलाई फकाउने बाटो सकिएको बताउँछन् । दाहाल अहिले झापा ५ का ६० देखि ७० प्रतिशत मतदाता एमाले अध्यक्ष ओलीको पक्षमा खुलिसकेको दाबी  गर्छन् ।

उनले खबरहबसँगको संवादमा झिनो मतान्तरले अध्यक्ष ओली विजयी हुने दाबी गरे । उनले एक घर-एक कार्यकर्ता खटाएको पनि स्वीकारे । झापा-५ मा एमालेले जित्न ठूलो आर्थिक चलखेल गर्न लागेको प्रश्नमा दाहाल सहमत छैनन् । यसलाई उनी विपक्षीहरूको नकारात्मक हल्लाको संज्ञा दिन्छन् ।

ओलीका कमाण्डर दाहालसँग हामीले झापा-५ को समग्र निर्वाचनको अवस्था, एमालेको तयारी लगायतको सेरोफेरोमा कुराकानी गरेका छौँ ।

लामो समयदेखि एमाले अध्यक्ष ओलीले निर्वाचन जित्दै आएको झापा-५ मा यस पटक कठिन भयो है ?

हामीले पहिलाभन्दा धेरै कुरा म्यानेज गरेका छौँ । अब त्यस्तो कुनै कठिनाइ छैन । कठिन छैन भनेर चुप लागेर बस्ने अवस्था पनि छैन । वडा-वडाका संगठन मजबुत बनाएका छौँ । मतदातालाई सम्पर्कमा राख्ने काम गरेका छौँ । गत निर्वाचनजस्तो ठूलो मतान्तरमा नभए पनि निर्वाचन जितिन्छ ।

पहिला कस्तो अवस्था थियो र अहिले कस्तो बनाउनुभयो ?

पहिला एक किसिमले घन्टी-घन्टी-घन्टी भन्ने लहर थियो । कुनै एजेण्डाबिना एकोहोरो घन्टी मात्रै भनियो । केपी ओलीलाई ढाल्न घन्टी चिह्न मतदान गर्ने भाष्य पैदा गरियो । हामीले के भन्यौँ भने चुनाव प्रचार गर्न पाइन्छ । तर ध्वनि प्रदूषण गर्न पाइँदैन ।

उहाँहरूले जनताका कानकानमा घन्टी-घन्टी भन्दै हिँड्नुभयो । हामीले जनतालाई कन्भिन्स गरेर भोट माग भन्यौँ । ठाउँठाउँमा हामीले मान्छेलाई सम्झाइबुझाइ गर्नुपर्‍यो । अहिले आफ्नै कार्यकर्तामा देखिएका समस्या पनि समाधान गरिसकेका छौँ । अहिले चाहिँ हाम्रा कार्यकर्ता कन्भिन्स भएको अवस्था छ । हाम्रो पक्षमा झापा-५ का करिब ६० देखि ७० मतदाता प्रतिशत मतदाता फर्किसक्नुभएको छ । आफ्नै कार्यकर्ताहरूमा देखिएको भ्रम र समस्या पनि समाधान गरिसकेका छौँ ।

२०७४ र ०७९ को जस्तो निर्वाचनजस्तो एक पटक मतदाता कन्भिन्स गरेपछि ढुक्क हुने अवस्था छैन है ?

हो । एक पटक नभएर दुईतीन पटकसम्म जानुपर्ने अवस्था छ। हामीले मतदातालाई कन्ट्याक्टमा राखेका छौँ ।

कस्तो समस्या थियो कार्यकर्तामा ?

कार्यकर्तामा भ्रमहरू थिए । असन्तुष्टिहरू थिए । बसेर पूरा गरिसक्यौँ । असन्तुष्टि र भ्रमहरूलाई चिर्ने काम गर्‍यौँ । आफ्ना कार्यकर्ताबीचको असन्तुष्टि र अस्पष्टतालाई पूरा गरिसक्यौँ । झापा-५ का जनता अहिले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मुभ भइसक्नुभएको छ ।

धेरै ठाउँमा त तपाईंहरूकै कार्यकर्ता घन्टी र बालेनको पक्षमा देखिनुभयो नि ?

बजारका एकदुई वटा क्षेत्रबाहेक नयाँलाई जिताउनुपर्ने माहोल अहिले छैन । संगठनमार्फत् सबै जनताकहाँ घरदैलो गरेर डाटा पनि राखेका छौँ । घरघर पुगेपछि थाहा हुन्छ नि त के हुँदैछ भन्ने । हरेक घर पुगेर सर्भे गर्दा सयमध्ये १० घर पनि घन्टीको पक्षमा देखिनु भएन । कतिपय घरमा चाहिँ आक्रमक भएर आउने, मनपरी गाली गर्ने अवस्था नभएको होइन, छ । तर आमरुपमा हेर्ने हो भने त्यस्तो समस्या छैन । आक्रमक भएर आउने र दिँदै दिँदैनौ भन्नेलाई हामीले कर लाउने कुरा हुँदैन ।

एमाले अध्यक्ष ओली देशभरीका कार्यक्रम छोडेर झापामा केन्द्रित हुनुभएको छ, उहाँले निर्वाचन जित्नुहुन्छ त ?

उहाँले मज्जाले जित्नुहुन्छ । यो निर्वाचनमा प्रायः गरेर ठूला ठूला सभाहरू पहिलेजस्तो भएको छैन । यसबीचमा सायद केही ठाउँमा हुन पनि सक्छ तर उहाँ जानुहुन्छ भन्ने परिस्थिति छैन । निर्वाचन नजित्ने कुरा चाहिँ छैन । उहाँ स्वास्थ्यको कारणले देशभर सभा गरेर सम्बोधन गर्न नजानुभएको हो । फेरि, एमालेलाई देशभर सभा गरेर निर्वाचनकेन्द्रित सम्बोधन गर्नुपर्ने जरुरी छैन किनभने हाम्रो पार्टीको संगठन यति बलियो छ कि त्यसलाई चलायमान बनाएमा हामीलाई समस्या छैन ।

यहाँहरूलाई अझै पनि झापा-५ मा के-के चुनौती बाँकी छन् लागेको छ ?

जतिसम्म भ्रम छन्, ती चिर्नसक्ने चिरिसक्यो । म मेरो निर्णयमा अडिग छु भनेर रोकिएकालाई सम्झाउनसक्ने अवस्था छैन । मसिनो गरी खट्नुपर्ने अवस्था अहिले पनि छ। उद्दण्ड मान्छेहरू पनि छन् । ती उद्दण्ड मान्छेहरूलाई प्रशासनले कतिको दण्डित गर्न सक्छ भन्ने कुरा हो । यहाँ पनि एमालेको झण्डा राति चोरे, च्याते ।

देखेको भए त हाम्रा कार्यकर्ताले तिनीहरूलाई ठिक पार्ने थिए । तर देखेनन् । चुनाव बिथोल्ने काम भइरहेको छ । हामीमाथि थुप्रै प्रहार भइरहेका छन् । यो चाहिँ हाम्रा लागि चुनौती हो । नकारात्मक भ्रम छरेर आफ्नो पक्षमा माहोल बनाउनेको जमात यहाँ ठूलै छ ।

तर एमालेले चाहिँ झापा ५ मा चुनाव बिथोल्ने प्रपञ्च रचिरहेको कुरा आयो नि ?

यो एमालेमाथि लगाइएको बेकारको आरोप हो । एमालेले चुनाव बिथोल्ने कुनै गतिविधि गरेको छैन । तर झापा-५ मा एमाले हराउन अनेक किसिमका निर्वाचन आचारसंहिताविपरीत काम भइरहेका छन् । विकास निर्माण र राष्ट्रियताको पहरेदार एमालेमाथि प्रहार भइरहेको छ । त्यो प्रहारले हामी एमाले रोज्दैनौँ भन्ने पनि धेरै छन् ।

त्यो त पाइयो नि । केपी ओलीले झापा-५ मा विकास गरेको ठाउँमा टेकेर केपी ओलीले केही पनि गरेन भन्ने पनि छन् । अब त्यस्तालाई के भन्ने ? उनीहरूको दिमाग परिवर्तन गर्न सकिँदैन नि।

सम्झाउन सकिनेहरूलाई सम्झाइसकेका छौँ । मनस्थिति नै बदलेर हुँदैन भन्ने मान्छेलाई त सकिँदैन । सामान्य चुनौतीलाई हामी सामना गरिराखेकै छौँ र अब पनि गर्छौँ । निर्वाचन जित्छौँ । हामीले त्यही अनुसार कार्यकर्तालाई परिचालन गरेका छौँ ।

यहाँले एक घर-एक कार्यकर्ता खटाउनुभएको रहेछ के का लागि हो ?

व्यवस्थित रूपमा कार्यकर्ताहरूको भावना बुझ्न र प्रचार गर्नका लागि त्यसो गरेको हो । केही कारणले भ्रम छरिहालेको खण्डमा तत्काल त्यसलाई समाधान गर्न र माथिल्लो निकायसम्म पुर्‍याउन हो ।

एक घर-एक कार्यकर्ता खटाइएका नेताहरूको रिपोर्टिङ अनुसार तपाईंहरू सुरक्षित हुनुहुन्छ त ?

केही समयअगाडि यहाँले भनेजस्तै भ्रम छरिएर सुरक्षित थिएन भन्ने रिपोर्ट आएको थियो । तर, पछिल्लो समय हामी सुरक्षित रहेछौँ । भ्रमका कारण यहाँले भनेजस्तो केही समयअगाडि परिस्थिति अलग हुने हो कि भन्ने चिन्ता हामीलाई पनि थियो । जब हामीले विभिन्न अभियान सञ्चालन गरेर तल्लो तहसम्म पुग्यौँ, अनि हामी ढुक्क छौँ निर्वाचन जितिन्छ । विगतको जस्तो लामो मतान्तरले नजिते पनि जित्छौँ भन्ने रिपोर्ट छ ।

तर जेन-जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी नलिएका कारण ओली यसपटक पराजित हुन्छन् भनिरहेका छन् । अध्यक्षलाई तपाईंहरूले यसबारे सम्झाउनु भएन ?

अध्यक्ष ओलीका कारण जेन-जी आन्दोलन अराजक भएको हो भन्ने हामीलाई नै विश्वास छैन । उहाँलाई हामीले कसरी सम्झाउने र ? पहिला उहाँलाई सम्झाउन त हामी कन्भिन्स हुनुपर्‍यो नि ! कसरी नैतिक जिम्मेवारी लिने र ? उहाँको यो आन्दोलनमा कुनै पनि जिम्मेवारी छैन । यस्ता भ्रम विपक्षीले पनि छरिरहेका छन् । सँगसँगै मिडियाले पनि बढावा दिएको भन्ने बुझेका छौँ ।

सानातिना कमजोरी भए होला, त्यो हुन्छ पनि । २३ र २४ गतेको घटना यहाँहरूलाई थाहै छ । त्यसलाई कथित आन्दोलनको रूपमा अगाडि बढाइयो । जेन-जीलाई अगाडि सारेर गोली हान्न लगाइयो । संसारमा कहीँ पनि विद्यालय पोशाकमा विद्यार्थीले आन्दोलनमा निकाल्न पाइँदैन । अहिले चौतर्फी रूपमा एमालेमाथि हमला भइरहेको छ ।

तर योपटकको निर्वाचनमा एमालेले राम्रो परिणाम आएर देखाउँछ । एमालेले ठूला झण्डा प्रयोग गर्दा पनि आलोचना हुने र विपक्षीले कानमा घन्टी बजाउँदा पनि आलोचित नहुने परम्परा चलेको छ । हाम्रो पार्टीको कमीकमजोरी केही छैन र जनताका बीच आत्मासाथ गर्नुपर्ने कुरा पनि छैन ।

तर विगतभन्दा धेरै खट्नुपर्ने अवस्था चाहिँ छ है ?

हो, मसिनोगरी खट्नुपर्ने अवस्था छ । विगतमा एक पटक गएपछि दोहोर्‍याएर त्यस ठाउँमा मत माग्न जानुपर्ने अवस्था थिएन । यस पटक त्यस्तो अवस्था चाहिँ बनेको छ । प्रविधि लगायत विकासका कारण यसलाई हामीले सामान्य मानेका छौँ ।

झापा-५ मा अहिले पनि अध्यक्ष ओलीले अन्य दलसँग तालमेलको विकल्प खोजिरहनुभएको छ रे नि ?

सबै दलहरू निर्वाचन प्रचारमा आफ्नो झण्डा लिएर हिँडिरहेका छन् । म चुनावी कमाण्डर भएको हिसाबले अध्यक्षज्यूले अब पनि तालमेल गर्ने योजना चाहिँ बनाउनुभएको लाग्दैन । अब तालमेलको विकल्पबारे  कसैसँग कुरा हुँदैन किनकि निर्वाचनको आखिरी समय आयो । झापा-५ र अन्य ठाउँमा एमाले एक्लै, आफ्नै तागतमा निर्वाचन लड्छ र जितेर देखाउँछ ।

केही समय अगाडि तालमेलका लागि छलफल भएको होला । अब तालमेलको सम्भावना देख्दिनँ । कसैले राष्ट्रलाई नै समस्या पर्छ कि, तालमेल गर्नुपर्ला भनेर आफैँ पहल गर्नुभयो भने हुन सक्ला । एमालेलाई भोट हाल्न तयार भएको अरु पार्टीका थुप्रै साथीहरू मैले देखेको छु ।

तर, यहाँहरुले हर्क साम्पाङको पार्टी, राप्रपा र नेकपासँग तालमेलको कुरा अगाडि बढाएको भन्ने आयो नि ?

चुनावका बेला अनेक हल्ला फिँजाइएको हो । पछिल्लो समय त्यस्तो कुरा भएको छैन । राप्रपा, कांग्रेस र नेकपालाई हामी शुभकामना दिन्छौँ । उहाँहरूले आफ्नो भोट जोगाउनुहोस् । उहाँहरूले मतको सुरक्षा गर्नुभयो भने हामीलाई सहज हुन्छ ।

अरु पार्टीले आफ्नो मत नजोगाएमा चाहिँ तपाईंरूलाई समस्या हुन्छ हो ?

समस्या हुने चाहिँ होइन तर केही डर हुनसक्छ । जनता त्यति धेरै भेडा छैनन् । जनताले यसो मूल्याङ्कन गरिराखेकै छन्, के भयो भनेर । यी सबै कारणले गर्दा हामीलाई त्यति धेरै समस्या छैन ।

पुन दोहोर्‍याएँ, यहाँ त चुनावी कमाण्डर हुनुहुन्छ ओलीले पक्कै जित्नुहोला त ?

पछिल्लो समय उहाँले निर्वाचन जित्नुहुन्छ भन्नेमा हाम्रो मन ढुक्क भएको छ । मैले अघि पनि भनेँ, यहाँका ६० देखि ७० प्रतिशत मतदाता अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुल्नुभएको छ । पछिल्लो समय निर्वाचन जित्न समस्या देखिँदैन । तर भ्रमहरूका कारण हामी ढुक्क भएर बस्ने अवस्था छैन । विगतको जस्तो कम्फर्टेबल निर्वाचन जितिन्छ भनेर उपरखुट्टी लाएर बस्ने अवस्था छैन । तर, हारिन्छ भनेर मन आतिएको अथवा डराएको भने छैन । यहाँ हार भन्ने कुनै प्रश्नै छैन एमालेका लागि ।

निर्वाचन जितिन्छ-जितिहालियो भनेर खुट्टा पसारेर बस्ने अवस्था पनि होइन । तर बाहिर जुन भाष्य पैदा भएको छ, निर्वाचन हारिन्छ भन्ने त्यस्तो स्थिति एमालेलाई झापा ५ मा कुनै हालतमा देखिँदैन । सामाजिक सञ्जालमा जुन किसिमले प्रचार गरिएका छन्, ती भ्रमको पछि यहाँका जनता देखिँदैनन् ।

अन्तिममा एमालेले झापा-५ मा जित्न ठूलै आर्थिक चलखेल गर्छ पनि भन्छन् नि ?

एमालेसँग कहाँ पैसा हुनु र त्यस्तो चलखेल गर्न ? जे भन्दा पनि हुन्छ, जे गर्दा पनि हुन्छ भन्ने किसिमका तत्वहरूले हावा फिँजाएको हो । तपाईंलाई म विनम्रताका साथ के भन्छु भने एमालेसँग पैसा छैन र जित्नका लागि खर्च गर्नुपर्ने अवस्था छैन । एमालेका नेता कार्यकर्ता तथा शुभचिन्तक स्वत:फूर्त चुनाव प्रचारप्रसार र समर्थनमा निस्किनुभएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ६ : १७ बजे

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच

सयौँ नेपाली अनलाइन ‘स्क्यामिङ’को जालोमा

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न