सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित « Khabarhub

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

दलहरू जिम्मेवार बन्दा देशले पायो निकास



काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको आन्दोलनले देशलाई एउटा संकटको डिलमा धकेल्यो ।

देशलाई संकटको डिलबाट सफलतापूर्वक अवतरण गरेर ट्र्याकमा ल्याउने काम अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् ।

जेन-जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्रीको शपथ लिएर सुशीला कार्की बालुवाटार पुग्दा उनीमाथिका टिप्पणीलाई गलत सावित गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराइदिएकी छन्।

सुरुवाती चरणमा नेपाली काङ्ग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत पुगे पनि ती सबैलाई मिलाएर सरकारको नेतृत्व गरेकी कार्कीले देशलाई निर्वाचनमा लगिन्।

कार्कीलाई नवपुस्तासँगै पुराना दलहरूलाई एकै ठाउँमा ल्याएर निर्वाचन गराउन निकै चुनौतीपूर्ण थियो, तर उनले त्यसलाई सफलतापूर्वक अवतरण गराएकी छन्।

युवा पुस्ताको साथ र नेपाली सेनाको पनि भरोसा लिएकी उनी नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो।

सरकार गठन गर्दा छ महिनापछि निर्वाचन हुने मिति दलहरूको सहयोगका कारण नै त्यसबेला कार्कीले तोकेकी थिइन्। विभिन्न चुनौती र विरोधबीच पनि कार्कीले ६ महिनाभित्रमा निर्वाचन गर्ने निर्णयलाई धेरैले विश्वास गरेनन् ।

सुरुमा त नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलहरूले नै कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै उनीमाथि अविश्वास गरे । तर निरन्तरको संवादपछि ठूला दलसहित सबैले कार्कीलाई सहयोग गरे।

लामो समयपछि अन्तत: एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू चुनावमा जान तयार भए । तीन पटकको वार्तापछि प्रधानमन्त्री कार्की निर्वाचनको माहोल बनाउन सफल भइन्।

त्यसपछाडि निरन्तर दलहरूसँग वार्ता गर्दै निर्वाचनको माहोल बनाएकी कार्की र अन्तरिम सरकारका मन्त्रीहरू निर्वाचन सम्पन्न गराएर प्रशंसित भएकी छन् ।

प्रथम महिला प्रधानन्यायाधीश हुँदा कार्कीको जसरी प्रशंसा भएको थियो, प्रधानमन्त्रीका रुपमा निर्वाचन सम्पन्न गराउँदा पनि उत्तिकै प्रशंसा भएको छ।

उनीसँगै सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र अन्य मन्त्रीहरूको पनि प्रशंसा भइरहेको देखिन्छ। दलहरूको असहयोगका कारण सुरुवातमा निर्वाचन सम्पन्न गर्ने वातावरण नभए पनि पछि वातावरण बन्यो । दलहरूको सहयोगका कारण निर्वाचन सम्पन्न गर्न आफूहरुलाई सहयोग मिलेको प्रधानमन्त्री नै बताउँछिन् ।

निर्वाचन सम्पन्न गराउनका लागि दलहरूलाई एक ठाउँमा ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलले पनि अभिभावकीय भूमिका खेले । अनुभवी र परिपक्व भएकै कारण निर्वाचनको माहोल बनाउन कार्की सफल भएको भन्दै नेपाल सरकारका एकजना पूर्वसचिव बताउँछन ।

‘सेनाले देश कब्जा गर्न लागेका बेला परिपक्क र स्वाभिमानी कार्कीलाई छानेर राज्यविहीनको परिस्थितिमा जुन जिम्मेवारी दिएको थियो, त्यसलाई उहाँले सफलतापूर्वक नै सम्पन्न गराउनुभएको छ’, उनी भन्छन्, ‘विशेषत: एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसको असहयोगबीच उहाँले डटेर जुन आँट र हिम्मत देखाउनुभयो, त्यसलाई सलाम गर्छु। सुरुवाती अवस्थामा पार्टीहरूले सहयोग नगरे पनि अन्तिममा उहाँलाई सबैको साथ मिल्यो । यो लोकतन्त्रको सुन्दर अभ्यास हो।’

‘दलहरूको सहयोगबिना सम्भव थिएन’

प्रतिनिधिसभाको निर्वाचन लगभग सकिएको छ। मतदान शान्तिपूर्ण तरिकाले भएको र नयाँ जनादेशबाट प्राप्त भएको उपलब्धिलाई सरकार सुम्पिन लागेकोमा प्रधानमन्त्री कार्की उत्साहित भएको सचिवालयको दाबी छ।

प्रधानमन्त्रीको सचिवालयका सदस्यले खबरहबलाई बताएअनुसार समयमै निर्वाचन सम्पन्न गरिएको बताए । दलहरूका सहयोगको कारण मात्रै निर्वाचन गराउन सम्भव भएकाले प्रधानमन्त्रीले यसलाई लोकतन्त्रको जित भएको दाबी गरेकी छन्।

लोकतन्त्रको अभ्यास दलहरू सरकार र मतदाताले गरेकाले यसलाई सबैको विजय भएको मान्न सकिने प्रधानमन्त्रीको विश्लेषण छ।

‘प्रधानमन्त्रीले लोकतन्त्रको विजय भएको विश्लेषण गर्नुभएको छ। यद्यपि सरकारको काम अझै बाँकी छ। मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गर्ने र नयाँ सरकारलाई अधिकार सुम्पिने काम बाँकी छ। अब बाँकी कामका लागि दलहरूले यस्तै सहयोग गर्नुहुन्छ भन्ने ठान्नुभएको छ’, प्रधानमन्त्रीका ती सहयोगी भन्छन्, ‘निर्वाचन सम्पन्न गराउने काममा सरकारलाई दलहरूले सहयोग दिनुभयो। सुरुवाती अवस्थामा केही जटिलता थिए । पछि दलहरूले साथ दिनुभएको हो। युवा पुस्ताले पनि सरकारलाई साथ दिए। । जनताको विश्वासले निर्वाचन सम्पन्न भएको छ। परिणाम नआएसम्म सरकारलाई साथ दिने विश्वास छ।’

जनता, सरकार र दल सबै सफल : खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार दल र जनता सबै सफल भएको बताएका छन्। तीनै पक्ष नमिली निर्वाचन सम्पन्न नहुने बताउँदै उनलले सबै जिम्मेवार हुँदा यो सफलता मिलेको उल्लेख गरे ।

‘नवपुस्ताको आन्दोलनपछि संकटमा परेको देशलाई सरकार र दलहरू मिलेर लोकतन्त्रलाई विजय गराएका छन्। प्रधानमन्त्रीसँगै सबैको भूमिका महत्वपूर्ण छ’, पूर्व प्रधानमन्त्री खनालले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो। सरकारले निर्वाचन सम्पन्न गराएर ठूलो काम गरेको छ । अब नयाँ जनादेशलाई सुम्पिएर यो सरकार बिदा हुन्छ।’

उनले कार्कीलाई बधाई पनि दिएका छन् । ‘यो सरकार गठन भएकै निर्वाचन गराउन थियो। अब नयाँ जनादेश आएपछि यसको प्रभावकारिताबारे कुरा गरौँला’, खनालले अगाडि भने, ‘दलको साथबिना निर्वाचन गराउन सम्भव थिएन । जनताको साथबिना दलहरू निर्वाचनमा जान असम्भव थियो। यो सबैको जित हो । सबैभन्दा महत्वपूर्ण कुरा लोकतन्त्रमाथिको भरोसा हो।’

दल र सरकार जिम्मेवार हुँदा निर्वाचन सम्भव : भीमार्जुन आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्य पनि प्रधानमन्त्री कार्कीले मात्रै होइन, सिंगो देशले नै जितेको बताउँछन्। निर्वाचनको माहोल बनाउनु र सम्पन्न गराउनुमा दल र सरकार उत्तिकै जिम्मेवार रहेकाले दुवै एकअर्काका परिपूरक भएका उनले बताए ।
युवा पुस्ताले पनि दलहरू र प्रधानमन्त्रीमाथि भरोसा गरेकाले निर्वाचनको माहोल बनाउन साथ दिएको आचार्यको भनाइ छ।

‘न्यायालयको मान्छेले राजनीति आचरण देखाउँदै प्रधानमन्त्रीले काम गर्नुभयो । सुरुवाती अवस्थामा जे जस्तो भए पनि दलहरूले साथ दिए, यो कुरा हामीले बिर्सनु हुँदैन। दलहरूले मात्रै होइन, नवपुस्ताले भरोसा गरेकाले तोकिएको मितिमा निर्वाचन गराउनुभएको हो’, आचार्य भन्छन, ‘सरकार मात्रै सफल भएको छैन, दल, नवपुस्ता र मतदाता पनि सफल भएका छन्। सरकार जुन म्यान्डेटसहित आएको थियो, उसले त्यो पूरा गरेको छ। मत परिणाम सार्वजनिक भएपछि सरकारले आफ्नो कामको थप व्याख्या गर्ला।’

उनी सुरुवाती चरणमा चुनौतीपूर्ण भए पनि प्रधानमन्त्रीलाई निर्वाचन सम्पन्न गराउन सबैले साथ दिएो कुराले नेपालमा लोकतन्त्र बलियो भएको संज्ञा दिन्छन्। आचार्य नयाँ सरकारको आयु पाँच वर्षसम्मै हुनुपर्ने बताउँछन् ।

‘अब बन्ने सरकारको आयु पाँच वर्षकै होस्। नयाँ जनादेशबाट प्राप्त उपलब्धिले सरकार बनाउने र ढाल्ने काममा मात्रै केन्द्रित नहोस् भन्ने हाम्रो धारणा छ’, आचार्यले खबरहबलाई भने, ‘जसरी अन्तरिम सरकारले निर्वाचन गराउन एकध्यान, एकचित्त भएर लाग्यो । अबको सरकार टिकाउन र जनता सापेक्ष काम गर्न एकीकृत भएर लागुन्।’

सबै सफल भयौँ : जेन-जी रक्षा बम

जेन-जी रक्षा बम सरकारको प्राथमिकता र नेपाली जनताको सक्रियताले निर्वाचन सम्पन्न भएको बताउँछिन्। निर्वाचन सम्पन्न हुनुमा सरकार जतिकै जनता र दल पनि जिम्मेवार भएको उनको भनाइ छ।

‘सरकारसँगै नेपाली समाज र हरेक मतदातालाई धन्यवाद भन्नुपर्छ। निर्वाचनलाई शान्तिपूर्ण तरिकाले उत्साहित भएर जसरी सम्पन्न गराएका छौँ। यो नेपाली समाजको परिचय नै हो। नेपाली समाजको जग नै करुणा सहानुभूति र शान्ति हो’, बम भन्छिन् ‘अति नै अराजकता भइसकेपछि यो फुट्ने गर्छ। नेपाली समाजको चरित्र नै शान्तिपूर्ण गतिविधि हो। जति अराजकता हामीले देखिसक्यौँ। अब हामीलाई शान्ति र न्याय चाहिन्छ। संविधान र लोकतन्त्र ट्र्याकमा आउनुपर्छछ। समाजका खुसी छन् । नयाँ जनादेशका लागि आजको उपलब्धिका लाई सबैलाई धन्यवाद ।’

बम नेपाली जनताको सक्रियता र दृढ सङ्कल्पले नै निर्वाचन सम्पन्न भएको भन्दै सबैप्रति आभार प्रकट गर्छिन्। उनी अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की सबैभन्दा धेरै सक्रिय भएका कारण निर्वाचन भएको बताउँछिन् ।

प्रधानमन्त्री कार्कीसँगै राजनीतिक दल र नेपाली जनताको संयम्ताले लोकतन्त्र विजयी भएको छ। भदौ २३ र २४ गतेको नवपुस्ताको आन्दोलनका कारण बनेको नयाँ सरकारले निर्वाचन गराएको छ । आगामी सरकारले जनता र न्यायको पक्षमा काम गर्नुपर्ने चुनौती छ।

१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधि सभाका सांसदहरूले जनताप्रति उत्तरदायी र पारदर्शी ढङ्गले काम गरुन् हाम्रो शुभकामना।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ७ : ३९ बजे

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा

काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना सुरु हुने

भक्तपुर – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ