काठमाडौं – २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान सिंहभन्दा १२५ मतले पछि परेका रवीन्द्र मिश्र यस पटक विजयी हुने दाउमा थिए । तर, उनी विवेकशील साझा पार्टीकी पूर्वसहकर्मी रञ्जु दर्शना न्याैपानेसँगै पराजित भए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको हो । रास्वापा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । यसअघि यो क्षेत्रमा तीन पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।
काठमाडौँ क्षेत्र नम्बर १ मा चर्चित उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी रन्जु दर्शनाबीचको प्रतिस्पर्धा थियो । विगतका निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक रवीन्द्र र रन्जु दुवैको तेस्रो प्रयासमा विजयको दाउ थियो । नियमित रूपमा काठमाडौँ-१ बाट उठ्दै आएका रवीन्द्रले यस पटक पनि पराजय भोग्नुपरेको छ । २०७४ र २०७९ को निर्वाचनमा उनले यही क्षेत्रबाट कांग्रेस उम्मेदवार सिंहसँग प्रतिस्पर्धा गरेका थिए । यस पटक कांग्रेस सभापति गगन थापाले सिंहलाई टिकट दिएनन् । उनी नउठेको फाइदा रवीन्द्रले उठाउन खोजेका थिए, तर सफल भएनन् ।

यता २०७४ को निर्वाचनमा विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित भएकी रन्जुले यस पटक काठमाडौँ-१ मा बाजी मारेकी छन् । विवेकशील साझाका संस्थापक उज्ववल थापाको निधनपछि पार्टी तहसनहस हुँदा २०७९ को निर्वाचनमा रन्जुले काठमाडौँ-५ बाट उम्मेदवारी दिएकी थिइन् । तर, त्यहाँ उनको जमानत जफत भएको थियो । २१ वर्षकै उमेरमा राजनीतिमा उदाएकी र अघिल्लो निर्वाचनमा धक्का खाएकी रन्जुलाई रास्वपाको यात्रा फापेको देखिन्छ ।
गर्भवती भएका कारण रास्वपाले रन्जुलाई सुरुमा समानुपातिक सूचीमा राखेको थियो । तर, चौतर्फी विवाद भएपछि उनले नाम फिर्ता लिएर काठमाडौँ-१ बाट प्रत्यक्ष लड्ने निर्णय गरेकी हुन् । उनीसँगै विवेकशील साझाबाट रास्वपा प्रवेश गरेकी समीक्षा बास्कोटा भने समानुपातिक सूचीमै रहिन् । ७९ को निर्वाचनमा काठमाडौँ-५ बाट मात्र ६०० मत प्राप्त गरे पनि रन्जु राजनीतिमा निरन्तर सक्रिय थिइन् ।
त्यसबेला विवेकशील साझाबाट रवीन्द्र राप्रपा प्रवेश गरेका थिए भने अन्य नेताहरूले पनि पार्टी छाडेका थिए । पूर्वसहकर्मीबीचको लडाइँमा रन्जुका लागि बाजी मार्नु चुनौतीपूर्ण थियो । ७९ को निर्वाचनमा पार्टी विभाजनका कारण आफूले झिनो मत पाएको रन्जुको विश्लेषण छ । “७९ मा विशेष कारणले गर्दा पार्टीमा भएको विभाजनको असर मलाई परेको थियो, जसले गर्दा असफल भएँ,”रन्जुले केही समयअघि खबरहबलाई भनेकी थिइन्, “म राजनीतिबाट विचलित भएकी थिइनँ । यस पटक म सफल हुनेछु, समानुपातिकमा सुरक्षित हुँदाहुँदै पनि मैले जोखिमपूर्ण निर्णय लिएकी हुँ ।”
मतदानका दिन १० दिनकी सुत्केरी
रन्जुको यो जितमा कठिनाइ र सङ्घर्ष मिसिएको छ । नौ महिनाको गर्भ बोकेर चुनावी घरदैलोमा निस्केकी रन्जुलाई पति कसु कुइकेलले दरिलो साथ दिए । निर्वाचनको दिन (फागुन २१) १० दिनकी सुत्केरी रहेकी रन्जु शिशु बोकेर मतदान केन्द्र पुगेकी थिइन् । तर, मतदाता नामावली अन्यत्रै भएकाले उनले आफैँलाई भोट हाल्न भने पाइनन् । सुत्केरी अवस्थामा रन्जुका सहयोगीले ‘म पनि रन्जु’ अभियान चलाएर घरदैलो गरेका थिए । सिभिल अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका रन्जुका छोरा आज ११ दिनका भए । निकट स्रोतका अनुसार छोराको न्वारन आजै गरिँदै छ । पुत्रलाभसँगै राजनीतिमा पनि सफलता मिलेकोमा रन्जुले समय र जनताको साथलाई श्रेय दिएकी छन् ।
काठमाडौँ-१ को विगत
काठमाडौँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसको गढ मानिन्छ । २०७४ को निर्वाचनमा १० हजार ९२६ मत ल्याएर विजयी भएका कांग्रेस नेता प्रकाशमान सिंह २०७९ मा मिश्रसँग झिनो मतले विजयी भएका थिए । ०७९ मा सिंहले ७ हजार १४३ मत ल्याउँदा रवीन्द्रले ७ हजार १८ मत पाएका थिए ।

२०७४ मा पनि मिश्र विवेकशील साझाबाट यही क्षेत्रमा उम्मेदवार थिए । त्यसबेला उनी १० हजार १८ मत ल्याएर दोस्रो भएका थिए । सिंहले यस पटक टिकट नपाएका कारण रवीन्द्र तेस्रो प्रयासमा विजयी हुने अपेक्षामा थिए, तर सफल भएनन् । कांग्रेसले उद्यमी प्रबल थापालाई उम्मेदवार बनाउँदा यस क्षेत्रमा थापाको खासै चर्चा थिएन । रास्वपाले रन्जुलाई उठाएपछि उनको चर्चा चुलिएको थियो ।
२०७४ को निर्वाचनमा यस क्षेत्रको समानुपातिकतर्फ कांग्रेस पहिलो र विवेकशील साझा दोस्रो पार्टी बनेका थिए । राप्रपाले पनि यस क्षेत्रलाई आफ्नो सुरक्षित सिट दाबी गर्दै आएको थियो, तर तेस्रो प्रयासमा पनि रवीन्द्रलाई सफलता मिलेन । राजावादी आन्दोलनका क्रममा केही समय हिरासतमा समेत बसेका रवीन्द्रका लागि यो पराजय ठूलो धक्का हो । राजा फर्काउने एजेन्डा बोकेका पूर्वपत्रकार मिश्र तार्किक र अध्ययनशील नेता मानिए पनि राप्रपासँगको यात्राले उनलाई चुनावी सफलता दिलाउन सकेको छैन ।













प्रतिक्रिया