प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो « Khabarhub

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो



काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहले निकै चुनौती दिएका थिए । विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेसको सरकार गठन भएपछि पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएर राजावादी दललाई राजा फर्काउने अभियानमा अगाडि ताने ।

गणतन्त्रवादी दलप्रति जनतामा निराशा बढ्दै गएको र राप्रपाको प्रभाव देशव्यापी बढिरहेको भन्दै सडक आन्दोलन गर्न राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि तात्यो र केही समय आन्दोलन पनि गर्‍यो । राजा फर्काउने अभियानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि अन्य केही राजावादी शक्तिहरूले पनि साथ दिए ।

तर २०८२ को निर्वाचनको नतिजा हेर्दा यो आन्दोलनलाई जनताले कुनै पनि रुपमा अनुमोदन गरेको देखिँदैन । राजा फर्काउँछु भन्दै सडक निक्लिएका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेता धवल शमशेर राणा अभियन्ता दुर्गा प्रसाईँ लगायतका नेताहरू अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेर जेल जीवनसमेत बिताएका थिए । तर उनीहरूले तताएको सडकले कुनै पनि उपलब्धि दिएन । बरु २०७९ मा बटुलेको देशव्यापी लहरलाई समेत राप्रपाले जोगाउन सकेको छैन ।

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि २०७९ को निर्वाचनमा प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी २०८२ को निर्वाचनमा १ सिट जित्न सफल भएको छ ।

प्रत्यक्षमा र समानुपातिकमा समान सात सिट जितेर प्रतिनिधिसभामा पाचौँ ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी यस पटक भने प्रत्यक्षमा एक सिट मात्र ल्याउन सफल भएको हो । हालसम्मको नतिजा हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले अरु कुनै पनि ठाउँमा जित्ने अवस्था छैन ।

पार्टीका कोही पनि नेताहरूले देशभरका निर्वाचन क्षेत्रमा अग्रता लिएका छैनन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं झापा-३ बाट पराजित हुने अवस्थामा छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश पाठक जितनजिक छन् । २०७९ र ७४ को निर्वाचनमा एमालेको सहयोगमा झापा-३ बाट विजयी भएका लिङ्देन यस पटक एक्लै निर्वाचन लड्दा पराजित भए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार रञ्जु दर्सनासँग पराजित भए । दुई महिनाअगाडि राप्रपा नेपालबाट राप्रपामा प्रवेश गरेका कमल थापाले पनि काठमाडौं-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग लज्जास्पद हार बेहोरेका छन् ।

२०७९ को निर्वाचन जितेका दीपक बोहरा रूपन्देही ३, मकवानपुर-१ का दीपक सिंह, चितवन-३ विक्रम पाण्डे, नवलपरासी पश्चिम-२ मा ध्रुवबहादुर प्रधान, बाँके-२ मा धवलशमशेर राणा कोही पनि प्रतिनिधिसभा पुग्न सकेनन् । यी नेतामध्ये कोहीले २०८२ को निर्वाचन लड्ने समेत हिम्मत राखेनन् ।

०७४ मा थ्रेसहोल्ड कटाउन नसकेको राप्रपाले ०७९ मा ५ लाख ८८ हजार ३१३ मत पाएको थियो । यस पटक समानुपातिकको मत परिणाम आइसकेको भएपनि राप्रपाको पक्षमा समानुपातिकमा पनि राम्रो मत परिणाम आउने अवस्था देखिँदैन । यी सबै परिप्रेक्षलाई आँकलन गर्दा राप्रपा राष्ट्रिय पार्टी बन्ने अवस्थामा छैन ।

युवा नेता शाहीको जित

राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र एक हुने प्रक्रियामा अगाडि बढ्दा ज्ञानेन्द्र शाहीलाई पनि बालेन्द्रले निम्ता गरेर एक हुन आह्वान गरेका थिए । तर शाहीले निर्वाचनअगाडि कुनै पनि दलमा नलाग्ने भन्दै त्यो प्रक्रिया रोकिएको थियो । युवा उम्मेदवार भएको र प्रतिनिधि सभामा आफ्ना कुराहरू खरो रुपमा उठाउँदै आएका शाहीलाई जुम्लाका जनताले निर्वाचन जिताएका छन् ।

०७९ को निर्वाचनअगाडि विभिन्न विषयहरूमा सडक आन्दोलन गर्दै आएका शाहीलाई यसपटक पनि जनताले अनुमोदन गरेको देखिन्छ । राप्रपाको फरक धार र वैचारिक पृष्ठभूमि भएका कारण शाहीको विजय भएको धेरैले आँकलन गरेका छन् । शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए ।

तेस्रो स्थानमा रहेका कांग्रेसका दिपबहादुर शाही ७ हजार १४३, एमालेका उम्मेदवार शान्ति लाल महतले ४ हजार ५१८ मत पाउँदा रास्वपाकी विनीता कठायत ४२१ मतमै रोकिइन् ।

राजा फर्काउने आन्दोलनको देखिएन प्रभाव

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का नेता कमल थापा गणतन्त्रप्रति जनताको निराशा बढ्दै गएकाले राजतन्त्र फर्काउनुपर्ने आन्दोलनमा सक्रिय भए । व्यवस्था नै परिवर्तन गर्ने भन्दै फुटेका राप्रपा दुई महिना अगाडि एकजुट भएका थिए ।

तर राजा फर्काउने एजेन्डालाई जनताले अनुमोदन नगर्दा राप्रपा उत्तानो परेको देखिन्छ । २०८१ र ८२ मा सडक आन्दोलन गरेर राजा फर्काउने लहर देशव्यापी चलाएका यी पार्टीको भोट नबढ्नुले जनताले राप्रपाको एजेन्डालाई नकारेको हो भनेर विश्लेषण गर्न अप्ठ्यारो छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै सक्रिय बनाएर राजा फर्काउने एजेन्डामा अगाडि बढेका राप्रपा लगायतका दलहरु असफल हुनुले राप्रपाले राजा फर्काउने सपना नदेख्दा हुने संकेत दिएको विश्लेषकहरू बताउँछन् । हुन त आफ्नो एजेन्डा कमजोर भएकै कारणले होला राजा फर्काउन भन्दै सडक तताएका पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले आज बिहानै आफ्नो पार्टी छोडेर स्वतन्त्र भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको नैतिक समर्थन रहँदै राप्रपा चुनावमा होमिँदा पनि राम्रो नतिजा ल्याउन नसक्दा जनताले राप्रपालाई अब अनुमोदन गर्छन् भन्ने अवस्था देखिँदैन । हुन त केही समय अगाडि खबरहबसँगको अन्तर्वार्तामा तपाईँहरूलाई यो निर्वाचनले नतिजा नदिए राजा फर्काउने एजेण्डा छाड्नुहुन्छ ? भन्ने प्रश्नमा लिङ्देनले भनेका थिए, ‘हामीले राम्रो नतिजा ल्याउँछौँ भन्ने विश्वास छ । जनतालाई बुझाउन सकेनौँ भन्ने हिसाबले अगाडि बढ्छौँ । हामीले आफ्नो एजेन्डा बिर्सदैनौँ। एजेण्डा निरन्तर चलिरहन्छ जनतालाई बुझाउन केही समय लाग्छ ।

हुन त स्थानीय तह प्रदेश र प्रतिनिधि सभा गरी ३९ क्षेत्रमा भएको उपनिर्वाचनमा पनि राप्रपाले सम्मानजनक मत ल्याउन सकेको थिएन । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतको टोलीले देशव्यापी रुपमा राप्रपाको प्रचार गरे पनि उसले महत्व त्यसबेला पनि बढाउन सकेन । राजा फर्काउँछु भन्दै हौसिएको राप्रपाले यो निर्वाचनमा लज्जास्पद हार निकाल्नुले पार्टीलाई ठूलै घाटा लागेको देखिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४१ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को