विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ « Khabarhub

विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब २० घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले धन्यवाद दिएका छन्।

रास्वपा सभापति रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद भएको पुष्टि मोदीले सोमबार नै गरिसकेका छन् । त्यसलगत्तै रविले ट्विट गर्दै मोदीसँग विभिन्न चार प्रमुख विषय उठाएको पनि बताएका छन्।

तर भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन्द्रले बल्ल मंगलबार साँझ सवा ६ बजे मोदीलाई ट्विटमा मेन्सन गर्दै जवाफ फर्काएका हुन् । उनले मोदीलाई मेन्सन गर्दै टेलिफोन संवादका लागि धन्यवाद दिएका छन् ।

‘धन्यवाद छ, शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू’, उनले भने, ‘नेपाल–भारत विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’

बालेन्द्रले मोदीसँग के के कुराकानी भयो भन्ने केही पनि खुलाएका छैनन् । बरू उनले लगातार दोस्रो पटक टी-२० क्रिकेट विश्वकपको उपाधि जितेको भन्दै बधाई दिएका छन् ।

‘लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु’, उनले मंगलबार साँझ भनेका छन् ।

उता सोमबार नै रास्वपार्टी सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार भएको टेलिफोन संवादमा नेपालको प्राथमिकताका चार विषय उठाएको बताएका थिए ।

मोदीले दिएको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिमा आधारित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सभापति लामिछानेद्वारा जारी प्रतिक्रियामा रास्वपा नेतृत्वको सरकार ‘विकास कूटनीति’लाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरिएको थियो ।

लामिछानेले नेपाल र भारतबीचको सहकार्यलाई अझ उचाइमा पुर्‍याउन कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा साझेदारी विस्तार गरिने जनाएका थिए । यी चार क्षेत्रमार्फत दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको रास्वपा सभापति लामिछानेको भनाइ थियो ।

सोमबार रवि र वरिष्ठ नेता बालेन साहसँग भारतीय प्रधानमन्त्री मोदीले फोन संवाद गरेर फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए ।

मोदीले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए।

उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताए ।

मोदीले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे। यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई उनले बधाई दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ४७ बजे

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका