काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो ।
वि.सं. २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो।
उनी चर्चित पत्रिका जनआस्थामा व्यंग्य पनि लेख्थे । कलाकार मनोज गजुरेलले सुरेश किरणलाई सम्झिँदै आफूले सिकेको कुराको गुण तिर्न नपाएको बताएका छ्न्।
‘कस्तो झुक्याउनु भयो, प्रिय सुरेश किरण दाइ । अर्को कार्यक्रम गर्ने सल्लाह ‘सल्लाह’मै सीमित भयो । ‘जनआस्था’मा तपाईंले लेख्ने ब्यङ्ग्यबाट कन्टेन्ट ‘चोरेर’ कमेडी बनाएको ऋण मैले तिर्नै सकिनँ’, उनले भनेका छन्, ‘तपाईंबाट सिकेको नेपालभाषा (नेवारी)को ‘गुरुभेटी’ चढाउनै पाइनँ । तपाईंको सरलता र भद्रताको ‘क्यारिकेचर’ गरौँला भन्ने ‘वचन’ देखाउनै पाइनँ ।’
उनको निधनले पत्रकारिता, साहित्य तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । उनको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंका खलः प्राङ्गणमा राखिने भएको छ। उनको अन्त्येष्टि लुँतिघाट (खुसिबुँ)मा हुने भएको छ ।
उनले नेपालभाषा र नेवाः सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि पुर्याएको योगदान सदैव सम्मानका साथ स्मरण गरिने श्रीकृष्ण महर्जनले बताए ।













प्रतिक्रिया