रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा « Khabarhub

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा



नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले नयाँ प्रधानमन्त्री पाउँदै गरेका बालेन शाहको वास्तविक नाम बालेन्द्र हो। ज्योतिषशास्त्रअनुसार बालक जन्मेपछि नामकरण हुन्छ, जसलाई न्वारान कार्य भनिन्छ। बाल शब्दमा इन्द्र प्रत्यय लाग्दा बालेन्द्र हुन्छ। इन्द्र पौराणिक शास्त्रअनुसार स्वर्गका देवेन्द्र अर्थात् देवताका राजा हुन्। यहाँ देवत्वकरणको प्रयास गरिएको होइन, बालेन्द्रबाट उनी बालेन भएका छन्।

धेरैले खिसीट्युरी गर्दै उनको कार्यशैली फरक देखेर ‘बा’लेन क्रससँग जोडे। सडकमा लेन क्रस वा संसद्‍मा फ्लोर क्रसलाई सामान्यतया राम्रो मानिँदैन, असहज मानिन्छ। बालेनले लेन क्रस गरेकै कारण आज देशमा माउ दलहरू करिब हराएका छन्। देशलाई लामो समय एकाधिकार, सिन्डिकेट र ठेक्काका रूपमा गठबन्धन गरी चलाएका दल र तिनका कार्यकर्ताको अहिले निद्रा हराम नै भएको छ।

उनी रामनवमीका दिन यतिबेला मन्त्रिमण्डलको नेतृत्व गर्दै देशको मुख्य जिम्मेवारी स्थल सिंहदरबार छिर्दैछन्। काठमाडौँ महानगरको मेयरका रूपमा लौरो चिह्न लिएर उम्मेदवारी दिँदै विजयी बनेका बालेन शाह ‘डोजर मेयर’का रूपमा पनि चिनिएका छन्।

भदौ २३ र २४ को युगान्तरकारी घटनाले निकै जोखिमपूर्ण कार्य रुचाउने बालेन झापा–५ जस्तो मुख्य गढमा गएर चुनाव लडे। घन्टी चिह्न भएको रास्वपा हुँदै उनले जनकपुरबाट निर्वाचनको प्रचार अभियान सुरु गरे। चुनावको सफलताले जनकपुर नामसँगै जोडिएको रामनवमी पर्व यसै चैत १३ गते उनको पदासीन समय आफैँमा संयोग मात्र नहुन सक्छ।

सिद्धार्थ गौतमको नामकरण हुँदा ज्योतिषले भनेका थिए– यो बालक या त फकिर हुन्छ या संसार विजयी महाराज। नभन्दै उनले राजपाठ त रुचाएनन्, फकिर भएरै आफ्नो नाम संसारभर फैलाउन सके। राज्यको मोह र परिवारको सुखलाई सदाका लागि त्यागे। बालेन शाह एक प्राविधिक विज्ञ मात्र नभएर कम बोल्ने, बढी काम गर्ने, प्रशंसाको भोकबाट टाढा रहने र कठोर कार्यशैलीप्रति उत्साहित हुने व्यक्ति हुन्।

देशमा बहुदलको आगमनसँगै २०४७ सालमा काठमाडौँको नरदेवीमा जन्मेका बालेन सम्भवतः बहुदललाई पछार्नैका लागि जन्मिएका हुन सक्छन्।

देशमा बहुदलको आगमनसँगै २०४७ सालमा काठमाडौँको नरदेवीमा जन्मेका बालेन सम्भवतः बहुदललाई पछार्नैका लागि जन्मिएका हुन सक्छन्। अहिले दलगत स्वार्थमा नियुक्ति भएका सबैजसो सार्वजनिक पद धरापमा पर्ने व्यापक शंका छ। उनी अहिले इतिहासकै बलियो दुई तिहाइको सरकारजस्तै हुनेछन्। कसैको टेको लिइराख्न जरुरी छैन।

रवि लामिछाने अनायासै जसरी सञ्चारकर्मीकै नाताले राजनीतिमा वाहवाह भए, उनीमाथि धेरै थरीका मुद्दा लागे। त्यसपछि उनकै अनन्य मित्र बनी सहकार्य गर्ने गरी महानगरको मेयर पद त्यागी सांसदको उम्मेदवारी दिएका बालेनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै चुनावमा गएकाले अहिले रवि केही छायामा परेका र बालेनकै सर्वत्र चर्चा स्वदेशमा मात्रै होइन, विदेशमा पनि भइरहेको छ। यद्यपि पार्टीको साँचो भने रविसँगै छ। उनले सबै सांसदलाई भेला गराई कुनै नराम्रो काम भए ‘रिकल’को व्यवस्था हुने भनिसकेका छन्। यस अर्थमा अब कुनै पनि सांसदले खराबी नगर्लान्, गरे भने दल र जनतामाझ नाङ्गेझार हुनुपर्नेछ।

बालेन सरकारसामु चुनौतीको खाडल छ। देशमा जरो गाडेको कुशासनलाई उखेल्नुपर्नेछ। बिग्रे–भत्केका मात्र होइन, नवनिर्माणको आरम्भ पनि गर्नु पर्नेछ। देशलाई पराधीन गराई उच्च व्यापार घाटा र ऋणमा जकड्ने नीतिको पर्दाफास गरी आत्मनिर्भर अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्नेछ। रोजगारविहीन भई तड्पिएर खाडीमा भेडा चराउन जाने युवा शक्तिलाई स्वदेश फर्काएर रोजगारी दिँदै उत्पादनमूलक उद्योगहरूको जगेर्ना गर्नुपर्नेछ।

हिजो चन्द्रशमशेरले काठमाडौँमा पर्न सक्ने खाद्य संकट टार्न र लत्ताकपडाको अभाव हुन नदिन रोपवेको निर्माण गरेका थिए। बहुदलपछि आएको देउवा सरकारबाट त्यसको अन्त्य भयो। मात्र होइन, २०४७ सालपछि देशमा रहेका धेरै उद्योगधन्दालाई निजीकरणका नाममा कौडीको मोलमा सिध्याइयो। त्यसकै कारण यहाँ उत्पादन शून्य भयो र विदेशबाट आयातीत भन्सार राजस्व र विप्रेषणले येनकेन देशको अर्थतन्त्र धानिएको थियो। अब गोरखकाली रबर उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, भक्तपुरस्थित इँटा कारखाना, बालाजु लगायत देशैभरि सञ्चालित औद्योगिक क्षेत्र, वीरगन्ज लगायतका चिनी कारखाना, विराटनगरको ऐतिहासिक जुटमिलदेखि धेरै कलकारखानालाई सञ्जीवनी दिने काम पनि बालेनसँग रहनेछ।

अब गोरखकाली रबर उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, भक्तपुरस्थित इँटा कारखाना, बालाजु लगायत देशैभरि सञ्चालित औद्योगिक क्षेत्र, वीरगन्ज लगायतका चिनी कारखाना, विराटनगरको ऐतिहासिक जुटमिलदेखि धेरै कलकारखानालाई सञ्जीवनी दिने काम पनि बालेनसँग रहनेछ।

सुशासनको पुनरावृत्ति, भ्रष्टाचारको अन्त्य, डिजिटल सेवा अर्थात् लोकतन्त्र ‘लोभतन्त्र’मा परिणत भई गणतन्त्रलाई ‘गाँडतन्त्र’मा परिणत गर्ने सबै ठेकेदारका काला कर्तुतको समूल नष्ट गर्दै फोहोर फाल्ने जिम्मा पनि उनकै हुनेछ। जसरी काठमाडौँलाई उनले सौन्दर्यीकरण गरे, सिंहदरबारसँग टक्कर लिएर सिंहदरबारलाई नै घुँडा टेकाए, अब उनी र उनका अनुयायीले नदी सभ्यतादेखि पुनर्निर्माण लगायतका काम गरेर देशको सौन्दर्य झल्काउनुपर्नेछ।

रास्वपाको एक अभिव्यक्ति आएको छ- संयुक्त राष्ट्रसङ्घको बैठकबाहेक विदेश भ्रमण नगर्ने। यसअघि सिंहदरबार छिरेदेखि नै कतै न कतैको निम्तो चाहने पुरानाका लागि यो शिक्षा हुनेछ। शपथकै क्रममा मित्र राष्ट्र उत्तर–दक्षिणलाई निम्तो दिइएको खबर बाहिर आएको छ। यसले सर्वोच्च शिखर भएको देशको शिर सधैँ उँचो हुने विश्वास गर्न सकिन्छ। देशको अस्मिता आफैँले कायम राख्ने हो।

कष्ट सहेरै पनि नेपाली बाँच्न सक्छन् भन्ने इतिहास वीर गोर्खालीको पहिचानले नै देखाएको छ। अरूले जस्तै रातबिरात एक्लै बालुवाटार बोलाएर तनखा बुझ्ने काम अब देशमा हुँदैन। नक्सा बनाउने तर प्रयोग नगर्ने, दूरदर्शिताको सख्त अभाव भएको नेतृत्व इतिहासबाट अरू बेला पनि बढारिएका छन्।

अब देशमा योग्यता, विज्ञता र विषयगत क्षमता भएकाको बाहुल्य रहला। सूचिकार पेसालाई सम्मान छ, तर अतीतमा के–कस्तालाई संसद्‍मा लगियो? कसरी ‘ढ्याढ्यापे’ बनाइयो? देशले राम्ररी बुझेको छ। समानुपातिक वा अन्य क्लस्टर भन्दै संविधानको धज्जी उडाएर कानुन निर्माण स्थलमा के–कसरी कस्तालाई लगियो, राम्ररी थाहा छ।

यत्रा वर्षमा देशमा संघीय निजामती सेवा ऐन, शिक्षा लगायत संघीय प्रहरी ऐन किन आएनन्? सत्ता ढल्दाढल्दै ‘कुलिङ पिरियड’का नाममा जे–जति हर्कत गरी देशको प्रशासन यन्त्रलाई जरैदेखि दशकौँसम्म जसरी निर्मम प्रहार भयो र इतिहासकै कच्चा सार्वजनिक सेवा प्रशासन सञ्चालन गरियो, विज्ञलाई जानकारी छ।

अरूले जस्तै रातबिरात एक्लै बालुवाटार बोलाएर तनखा बुझ्ने काम अब देशमा हुँदैन। नक्सा बनाउने तर प्रयोग नगर्ने, दूरदर्शिताको सख्त अभाव भएको नेतृत्व इतिहासबाट अरू बेला पनि बढारिएका छन्।

आज देश पतनमा किन गयो? राणाले निर्माण गरेको इतिहासका जग कसरी ढले? जले? त्यो पनि यी आँखा साक्षी बस्न बाध्य छन्। चुनाव मात्रै हेर्ने नेता हुन्छ? देश र यसको भविष्य हेर्ने राजनेता हुन्छ। कथित कार्यकर्ताले यहाँ कसैलाई राजनेता पनि भनेको देखियो, सुनियो। जसले आफ्नै निर्वाचन क्षेत्रमा के–कति मत आउँछ भनी अनुमान लगाउन नसक्नेलाई पूरै र दशकौँसम्म देश जिम्मा लगाइयो। आफू पतन भइएला भनेर संविधानले दिएसम्मका सबै हर्कत प्रयोग गरी सत्ता लम्ब्याउने कार्य गरियो। तर ‘जेन्जी’ विद्रोहले चरम सीमा लियो र बालुवाटार, खुमलटार लगायतका बूढानीलकण्ठ भागे।

देशलाई अति कष्ट पर्दा तुइन चढेर भाग्ने काम कमसेकम श्री ३ हरूले गरेका थिएनन्। नव श्री ३ हरूले सिंहदरबारसमेत बचाउन सकेनन्, आफू भागे। पार्टी बदल्यौँ, अब देश पनि बदल्छौँ भन्दै चुनावमा नक्कली अनुहार लिएर जाँदा जनताले बहिष्कार गरिदिए। देश कठिन इतिहासको मोडबाट गुज्रिएको छ। अहिलेको चुनाव जनमतसङ्ग्रह पनि हो। जनमतलाई बुझेर अबकाले देशलाई न्याय गर्नुपर्छ र कमसेकम ५ वर्ष देशमा निःशुल्क सेवा गरेर लडेको देशलाई उठाउनुपर्छ।

सार्वजनिक सेवा कसैको मागी खाने पेवा होइन। झुटको सहारा लिएर मिलिभगत गर्दै देशलाई लुछ्न मिल्दैन, अन्यथा भोलि पनि देश फेरि धरापमै पर्नेछ। तीन दिनसम्म कसैको निवासमा नोट जलिरहनु सामान्य विषय नै होइन। चुनावकै बेला जनतालाई मुख देखाउन नसक्ने गरी विदेश सयर, त्यो पनि संसारकै महँगो सहरमा, यो लोकतन्त्रको अर्को शिर झुकाव हो। गरिबीले व्याप्त, ट्रान्सपरेन्सी इन्टरनेसनलको कुशासनको सूची, अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’, सधैँ एलसीडीको चक्करमा रहेको देशमा बसेर आलिसान महलमा राज गर्ने रजौटालाई देशले कसरी बिर्सला? हेर्न बाँकी छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १२ : २१ बजे

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ।