गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।
बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ । तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन ।
स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका छन् । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा गरिएको छ । त्यसैले उक्त क्षेत्रमा मोटर पुग्न सहज भएको हो । चार पाङ्ग्रे सवारीसाधन सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण गरिएको स्थानीय कुमारी गुरुङले बताए ।
‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुँदै पैदल आउनुपथ्र्यो’, उनले भने, ‘अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।’
ह्यूम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिए। मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनी बताउँछन् । अस्थायी पुल भएकाले समस्या समाधानको दीर्घकालीन उपाय भने नभएको गुरुङको भनाइ छ ।
गुरुङ भन्छन्, ‘यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ । पक्की पुल नै आवश्यक छ ।’
सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा सङ्घको टोली आएको थियो । तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज विभागमा पठाइसकेको छ ।
निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढेपनि कुनै निर्णय आएको छैन । सोही कारण काम अघि बढाउन नसकिएको पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
नदी किनारदेखि फिलिमसम्मको ४।५ किलोमिटर सडक ट्रयाक खोल्ने तयारी छ’, अधिकृत लामिछानेले भने । सडक ट्रयाक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ । पालिकाले सडक ट्रयाक खोल्न रु एक करोड २५ लाख विनियोजन गरेको छ ।












प्रतिक्रिया