पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै « Khabarhub

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक, जैविक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ ।

प्राकृतिक सुन्दरता, शान्त वातावरण, जैविक विविधताले भरिपूर्ण यस तालले पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना बोकेको छ । राज्यका सरोकारवाला निकायको पहुँचभन्दा टाढा रहेका कारण ओझेल परेको तालको संरक्षण तथा संवर्द्धनका लागि सुरुमा नागरिकस्तरबाटै केही गर्न सकिन्छ भन्ने उद्देश्यले ताल संरक्षणको अभियानमा जुटेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।

मानव जातिको चहलपहलसहित विभिन्न कारणले गर्दा जलचर प्राणीको अस्तित्व सङ्कटमा पर्ने अवस्थालाई मध्यनजर गर्दै पर्यटन प्रवर्द्धनका माध्यमबाट तालको संरक्षणमा सरोकारवाला निकायको ध्यान केन्द्रित गर्न सकिन्छ कि भन्ने अभिप्रायले २०८० असार २६ गतेदेखि ताल संरक्षणको अभियानमा जुटेको उनले बताए ।

यसरी अभियान सुरु भएसँगै सुरुआती चरणमा स्वःस्फुर्त रूपमा नागरिकस्तरबाटै आर्थिक सहयोग जुटेको थियो । जुटेको आर्थिक सहयोगबाट ताल परिसरमा अहिले विभिन्न दुर्लभ जलचर प्राणी ओद, पहेँलोधुरे कछुवा, जलकपुर माछा, जरायो र गोहीका प्रतिमा निर्माण गरिएका छन् । त्यस्तै मयुर, सिमकुखुरा र राष्ट्रिय पन्छी डाँफेको प्रतिमा निर्माण गरी नयाँ वर्षमा राख्ने तयारी भइरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

तालको संरक्षण तथा प्रवर्द्धनका लागि भनेर आर्थिक वर्ष २०८१र८२ मा सङ्घीय सरकारको रु ९० लाख र पुनर्वास नगरपालिकाको रु २० लाख गरी रु एक करोड १० लाखमा बोलपत्र आह्वान भएको थियो । उक्त रकम पुनर्वास नगरपालिकामार्फत बोलपत्र आह्वान गर्दा रु ७३ लाख ४९ हजार ६५६ (मुअकर र पीएससहित)मा ठेक्का सदर भई ११५ मिटर लामो तटबन्धको निर्माणकार्य सम्पन्न भइसकेको छ । तटबन्धसँगै अत्याधुनिक सुविधासम्पन्न एउटा सभाहल निर्माण भएको छ ।

चालु आव २०८२–८३ मा पुनर्वास नगपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा ताल परिसरमा ब्लक बिछ्याइएको छ । युवापिँढीलाई आर्कषण गर्न मुन सेल्फी प्वाइन्ट, ‘आइलभ प्याराताल’ शब्द अङ्कित कङ्क्रिटको संरचना निर्माण भइरहेको छ ।

गत आर्थिक वर्षमा मूल सडकदेखि प्यारातालसम्म जाने ५५० मिटर ग्राभेलिङ पानी पिच सडकको स्तरोन्ति नगरपालिकाको बजेटमा निर्माण भएको थियो । प्याराताल परिसरमा पदमार्ग निर्माणको लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट चालु आवमा रु १० लाख बजेट विनियोजन भई पुनर्वास नगरपालिकाको खातामा जम्मा भइसकेको समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

तालका विशेषता

सदावहार जलाशययुक्त तालको छ किलोमिटर लम्बाइ, सरदर ७० मिटर चौडाइ र १५ देखि १८ फिट गहिराइ रहेको छ । तालमा विश्वमै दुर्लभ मानिएको जलचर प्राणी ‘ओद’ (मांसाहारी प्राणी), दक्षिण एसियामै दुर्लभ मानिएको पहेँलोधुरे प्रजातिको कछुवा, गोही, जलकपुरसँगै ३५ भन्दा बढी प्रजातिका माछा रहेका छन् ।

यो सँगसँगै खोज र अनुसन्धान हुन नसकेका थुप्रै यस्ता संरक्षण गर्नुपर्ने जलचर र उभयचर प्राणीहरुको बासस्थान यो ताल बनेको छ ।

पर्यटकीय महत्त्व

प्राकृतिक सुन्दरता, शान्त वातावरण, जैविक विविधताले भरिपूर्ण यस तालले पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना बोकेको छ । पछिल्ला वर्षमा पर्यटक आर्कषणका लागि विभिन्न संरचना निर्माण भइरहेको छन् । ताल परिसरमा दुर्लभ मानिएको जलचर प्राणी ‘ओद’, पहेँलोधुरे प्रजातिको कछुवा, गोही, माछा, जरायोका आकर्षक प्रतिमा निर्माण भइसकेका छन् ।

युवापिँढीलाई आर्कषित गर्न मुन सेल्फी प्वाइन्ट, ‘आइ लभ प्याराताल’ शब्द अङ्कित कङ्क्रिटको संरचना निर्माणाधीन रहेको छ । पुनर्वास नगरपालिकाको सहयोगमा यहाँ घुुम्न आउने पर्यटकलाई तालमा सफारी गर्न दुईवटा बोट राख्ने तयारी पनि भइराखेको छ । पानीको फोहराको लागि फाउन्डेसन निर्माण भइरहेको छ ।

यो ताल चारैतिर हरियाली जङ्गलले घेरिएको छ । विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचर तथा वन्यजन्तुले यस क्षेत्रलाई रमणीय बनाएको छ । जाडो याममा विशेषगरी यहाँ विभिन्न प्रवासी चरा आउने भएकाले पन्छी अवलोकलका लागि पनि यो स्थान महत्त्वपूर्ण मानिन्छ ।

नागरिकस्तरबाट स्वःस्फुर्त रूपमा सहयोग जुट्दै

ताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा यहाँका स्थानीय नागरिकस्तरबाट स्वःस्फुर्त रूपमा सहयोग जुट्दै गएको छ । ताल परिसरमा बस्नका लागि स्थानीयबाट २५ थान कङ्क्रिट बेन्च, ट्रिगाड उपलब्ध छन् । फोहर व्यवस्थापनको लागि ठाउँठाउँमा डस्टबिनको व्यवस्था गरिएको छ । पुनर्वास उद्योग वाणिज्य सङ्घ, भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रिज र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह विष्टको व्यक्तिगत लगानीमा यहाँ विभिन्न जीवजन्तुका आकर्षक प्रतिमा निर्माण गरिएका छन् ।

त्यस्तै कतिपय स्थानीयले परिवारमा दिवङ्गत भएका आफ्ना परिवारको सदस्यको सम्झनामा केही पन्छी तथा जीवजन्तुका प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । केही निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।

आन्तरिक पर्यटकको आगमन बढ्दै

तालको संरक्षण तथा संवर्द्धनसँगै पर्यटकीय रूपमा विकास हुन थालेपछि पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । विभिन्न चाडपर्व तथा बिदाका बेला यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पाइन्छ ।

जिल्ला सदरमुकामदेखि झन्डै ७५ किलोमिटर पूर्वीदक्षिण र प्रदेश राजधानी धनगढीदेखि झन्डै ३० किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो प्याराताल प्रचारप्रसार र संरक्षण तथा संवर्द्धनको अभावका कारण ओझेलमा पर्दै आएको भए तापनि विगत दुुई वर्षयता अहिले यो ताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने क्रममा छ ।

जैविक हिसाबले महत्त्वपूर्ण मानिएको प्यारातालको संरक्षण तथा प्रवर्द्धन, यसको प्रचारप्रसारको साथै आन्तरिक पर्यटकलाई आकर्षक हुने खालको संरचना निर्माण गर्न सक्यौँ भने सुदूरपश्चिमकै एउटा पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिको अपेक्षा छ ।

छिमेकी मुलुक भारतसँग भूभाग जोडिएको उक्त तालको राज्यस्तरबाट समयमै संरक्षण तथा संवर्द्धन गर्नमा ध्यान गएन भने ताल संरक्षणमा असर पर्न सक्ने सोही क्षेत्रका स्थानीय जानकारहरूको भनाइ छ ।

तिलकराज ओझा/रासस

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले