काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सेनामा व्यापक शुद्धीकरण अभियान थालेका छन् । यस अभियानअन्तर्गत पछिल्लो समय चिनियाँ जनमुक्ति सेनाका दर्जनौँ उच्च अधिकारीहरूलाई पदबाट हटाइएको छ ।
सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडिजका अनुसार सन् २०२२ यता ३६ जना जनरल र लेफ्टिनेन्ट जनरलहरूलाई आधिकारिक रूपमा पदमुक्त गरिएको छ । यसका साथै ६५ जनाभन्दा बढी अन्य सैन्य अधिकारीहरू पनि बेपत्ता पारिएका वा हटाइएका छन् ।
यस अभियानमा दुई जना रक्षामन्त्री र शक्तिशाली केन्द्रीय सैन्य आयोगका १० सदस्यसमेत परेका छन् । चीनले यस कदमलाई भ्रष्टाचार विरोधी अभियान भनेको छ ।
तर, विज्ञहरूका अनुसार यो आफ्नो शक्ति बलियो बनाउने र विरोधीहरूलाई तह लगाउने राजनीतिक अस्त्र पनि हुन सक्छ । यसले गर्दा सेनाभित्र नेतृत्वको अभाव खड्किने र अनुभवी कमान्डरहरूको ठाउँमा कम अनुभवी व्यक्तिहरू आउने जोखिम बढेको छ ।
यो सैन्य उथलपुथलले ताइवानमाथिको तत्कालिन सुरक्षा खतरालाई केही कम गर्न सक्ने अनुमान गरिएको छ । सेनाभित्रको यस्तो फेरबदलले तालिम, योजना र समन्वयमा बाधा पुर्याउँछ। कमान्डरहरू कारबाहीको डरले नयाँ निर्णय लिन हिचकिचाउने अवस्था आउन सक्छ ।
तथापि, यसले गर्दा सम्पूर्ण शक्ति राष्ट्रपति सीको हातमा केन्द्रित हुन पुगेको छ । सेनाभित्र फरक मत राख्ने वा प्रश्न उठाउने अनुभवी कमान्डरहरू नहुँदा रणनीतिक गलत निर्णय हुने सम्भावना पनि बढेको छ ।
सैन्य संरचनामा समस्या देखिए पनि ताइवानलाई आफ्नो बनाउने चीनको दीर्घकालीन लक्ष्य भने परिवर्तन भएको छैन । अमेरिकी गुप्तचर निकायहरूका अनुसार सीले सन् २०२७ सम्ममा ताइवानमा आक्रमण गर्न सक्ने गरी तयारी रहन सेनालाई निर्देशन दिएका छन् ।
चीनको यो आन्तरिक शुद्धीकरणले इन्डो-प्यासिफिक क्षेत्रमा अनिश्चितता र अस्थिरता थप बढाएको छ ।













प्रतिक्रिया