गुरुङ समुदायमा ट्होटेँको उल्लास « Khabarhub

गुरुङ समुदायमा ट्होटेँको उल्लास


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप यस पर्वको सुरुआत भएको मानिन्छ । 

गुरुङ सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको यस पर्व १५ सय वर्षदेखि अस्तित्वमा रहेको गुरुङ जातिको इतिहासमा उल्लेख छ । आदिमकालमा गुरुङहरू गुफा, गोठ हुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको परम्परा सुरु भएको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताए। 

बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले थप व्यापकता पाउँदै गएको उहाँको भनाइ छ । गुरुङ जातिका पूर्वजहरूले आफ्नो बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरी यो पर्व मनाउन सुरु गरेका थिए । 

तम धिँ नेपालका केन्द्रीय सदस्य श्रीजङ्ग गुरुङले परापूर्व कालमा भूतप्रेत र शत्रुवैरीलाई धपाउन यस पर्वको सुरुआत भए पनि पछिल्लो समय देशमा रहेको बेथिति, बिसङ्गको अन्त्य होस्, मानज जातिको कल्याण होस् भन्ने कामना गरी मनाउने गरिएको बताए। 

मङ्गलबार गुरुङ जातिको पहिचान झल्काउने सांस्कृतिक झाँकीसहित पोखरामा रहेका गुरुङ समुदायले पनि यस पर्वलाई हर्षबढाइँका साथ मनाएको उनको भनाइ छ ।

तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ । 

‘कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ’, उनले भने । धमु धिँ नेपालको अगुवाईमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । ट्होटेँमा प्रकृति पूजा गर्ने चलन रहेको छ ।
 
यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातिय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोशाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । मौलिक वेशभुषामा सजिएर गुरुङहरू झाँकीमा सहभागी हुने गर्छन् । झाँकीमा युवादेखि बयस्कसम्मको सहभागिता रहने गर्छ । 

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ  । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर परापूर्वकालदेखि ट्होटेँ पर्व मनाउन सुरु गरिएको अध्यक्ष गुरुङले बताए । 

यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ । पोखरासहित यस क्षेत्रका १४८ गुरुङ गाउँ र समाजघरमा ट्होटेँ पर्व मनाइएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् । 

चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने गरेको गुरुङ अगुवा बताउँछन् । ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनीहरूको भनाइ छ । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो । 

ट्होटेँका अवसरमा मङ्गलबार कास्कीको अन्नपूर्ण, मादी गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिकालगायत स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको ट्होटेँलाई कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत देशभरका गुरुङ समुदायले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । रासस

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ३७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको