सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता « Khabarhub

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे स्पष्टीकरण दिएका छन् । उनले पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयका विद्यार्थीसमेत रहेको भन्दै मन्त्री पोखरेलले पारदर्शिता केवल नारा नभई व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गरेका छन् । सोही मान्यताअनुसार आफूले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा सार्वजनिक गरेको उनले स्पष्ट पारेका छन् ।

मन्त्री पोखरेलले आफ्नो व्यक्तिगत सम्पत्तिमात्र नभई बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर विवरण सार्वजनिक गरेका छन्। उनले बुवाको नाममा रहेका सवारीसाधनसमेत उल्लेख गरेको बताएका छन्। “कानुनी रूपमा व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पुग्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ,” उनले भने।

उनले आफ्नो परिवारको सम्पत्ति इमान्दार मेहनतको कमाइ भएको दाबी गर्दै त्यसबारे आफूलाई कुनै शंका वा डर नभएको बताएका छन्।

आफ्ना बुवाको पेशागत पृष्ठभूमिबारे जानकारी दिँदै मन्त्री पोखरेलले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेको उल्लेख गरेका छन्। साथै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), वाशिङ्टन डी.सी. मा कार्यकारी निर्देशकका सल्लाहकारका रूपमा समेत काम गरेको उनले बताएका छन्। बुवाको इमान्दारिता र नैतिक मूल्यले आफूलाई प्रेरित गरेको उनको भनाइ छ।

काठमाडौंमा रहेको जग्गा खरिदबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले त्यसबेला आना अनुसारको मूल्य अहिलेको तुलनामा निकै कम रहेको उल्लेख गरे। हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको उनले बताए। “यो वृद्धि व्यक्तिगत मात्र नभई समग्र बजार प्रवृत्तिको परिणाम हो,” उनले स्पष्ट पारे। साथै, उनले सम्पत्ति विवरणमा खरिद मूल्य वा सरकारी मूल्य नभई हालको चलनचल्तीको बजार मूल्य समावेश गरिएको जानकारी दिए।

आफ्नो पृष्ठभूमि ‘प्रिभिलेज्ड’ भएको स्वीकार गर्दै मन्त्री पोखरेलले आधारभूत शिक्षाबाहेक आफूले अभिभावकको सम्पत्तिमा निर्भर भएर विलासिता नगरेको दाबी गरेका छन्। उनले स्नातक दोस्रो वर्षदेखि पार्ट टाइम अनलाइन काम सुरु गरेको र चौथो वर्षमा फुल टाइम रूपमा काम गरेको अनुभव पनि साझा गरे। आफ्ना खर्चहरू आफैंले व्यवस्थापन गरेको र विवरणमा उल्लेख गरिएको ऋणसमेत आफ्नै आम्दानीका आधारमा गाडी खरिद गर्न लिएको उनले बताए।

प्यान नम्बरबारे पनि स्पष्ट पार्दै उनले आफ्नो वैध प्यान नम्बर रहेको तर व्यक्तिगत सुरक्षाका कारण सार्वजनिक विवरणमा समावेश नगरेको जानकारी दिए।

मन्त्री पोखरेलले पारदर्शिता व्यवहारमा देखिनुपर्ने विषय भएको दोहो¥याउँदै आफूले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तो छ उनको भनाइ

पारदर्शिता, पारदर्शिता, पारदर्शिता।
म त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ।
यसै मान्यताअनुसार मैले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको छु। मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाइ हुन्।
मेरो बुवाको सन्दर्भमा पनि स्पष्ट पार्न चाहन्छु। उहाँले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। साथै, उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी. मा Executive Director का सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमान्दारिताप्रति म सधैं गर्व गर्छु, र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्।
काठमाडौंको जग्गा खरिदको विषयमा, त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम थियो। हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ, जुन केवल हाम्रो मात्र होइन, समग्र बजार प्रवृत्तिको परिणाम हो। पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको छु।
अन्त्यमा, म यो पनि स्वीकार गर्दछु कि म एक हिसाबले Privileged पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। तर आजसम्म, आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवा आमा को सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। म स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फुल टाइम रूपमा काम गरेको व्यक्ति हुँ। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु। मेरो विवरणमा देखाइएको ऋणसमेत, बुवा आमा को आर्थिक सहयोग बिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको हो।
PAN नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु, मसँग वैध PAN नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण PAN नम्बर समावेश नगरेको हुँ।
पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु, र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १० : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको