दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन भग्नावशेषले धेरैलाई अचम्ममा पारेको छ । जिल्लाको गाउँपालिका -९ अन्तर्गतको सुन्द्रावती कटुवाचौरको स्थानीय आँगेडाँडामा उत्खननको क्रममा प्राचीन शैलीको विसाल भवनको भग्नावशेष फेला परेसँगै धेरैको ध्यान तानेको छ। यहाँ प्राचीनकलामा निर्माण गरिएको भवनको पर्खाल, त्यसबेला प्रयोग गरिएका ढुङ्गा, जाँतो भेटिएको छ । संरचनाछेउमा चौतारी पनि फेला परेको छ ।
उक्त संरचनालाई स्थानीयले थामी जातिका राजा खान्डुको दरबार भएको दाबी गरेका छन् । खुल्ला र खेतीयोग्य जग्गाको डाँडामा देखिएको उक्त भग्नावशेष खान्डुराजाको हुनसक्ने उनीहरुको दाबी छ । यहाँका पुराना पुस्ताका थामी अगुवाले बताए अनुसार प्राचीन शैलीमा भवनका संरचनाहरु उत्खननको क्रममा फेला परिएकाले पनि उक्त भवन थामी राजाको दरबार हुनसक्छ । यस संरचना आज भन्दा १७/१८ सय वर्ष अघि निर्माण गरिएको हुनसक्ने अनुमान छ ।
खान्डु कुनै समयमा प्रख्यात थामी राजा रहेको थामी अगुवा बताउँछन् । दोखला जिल्ला थामीहरुको उद्गमस्थल भएको र उक्त डाँडामा राज गरेर बसेको भन्ने पुर्खाबाट सुनिएको हुँदा पनि उक्त संरचना सामान्य व्यक्तिको घर नभइ खान्डुकै दरबार हुनसक्ने स्थानीय ८५ वर्षीय गोपीलाल थामीले बताए । उनका अनुसार पुर्खाले पनि परापूर्वकालमा थामी समुदायका पूर्वज खान्डु राजाको दरबार आँगेमा थियो भन्ने आफूले पनि आफ्ना बाबु बाजेबाट सुनेको र अहिले सोही ठाउँमा उत्खनन गर्दा विशाल भवनको अनेकौँ संरचना माटोले छोपेको अवस्थामा फेला पारिएको बताए । अहिले भग्नावशेष भेटिँदा बाबुबाजेबाट सुनेको कुरा सत्य रहेछ भन्ने कुरा आफूलाई विश्वास भएको उनको दाबी छ ।
दोलखामा आदिवासी थामी जातिको पहिचान तथा कला संस्कृति संरक्षणका लागि बागमती प्रदेश सरकारले सुन्द्रावतीमा भवन निर्माणका लागि स्थानीयको माग बमोजिम बजेट विनियोजन गरेको थियो । सुद्रावतीमा सो भवन निर्माणको लागि उत्खनन् गर्दा पुरानो भवन भेटिएको हो । नयाँ भवन निर्माणको लागि जमिन खन्दै जाँदा २१ मिटर लम्बाई तथा १७ मिटर चौडाइको पर्खाल भेटिएको र पछि थप उत्खनन गर्दा भवनको कोठाहरु भेटिएको थामीले जानकारी दिए ।
उत्खनन गर्दै जाँदा हालसम्म ९ वटा कोठाहरु प्रष्ट फेला परेका छन् । भवनको पश्चिमतर्फ करिब १८ फिट चौडाई तथा ५४ फिट लम्बाई रहेको अर्को भवनको जग समेत भेटिएको छ । मुख्य भवन भित्रको भागमा रहेको माटो तथा ढुङ्गा पन्छाउने काम बाँकी छ । कालिञ्चाेक गाउँपालिकाका पूर्वअध्यक्ष बिनकुमार थामीका अनुसार स्थानीयले खान्डु पुर्खाको दरबार दाबी गरेपनि थप खोज र अनुसन्धानबाट प्रमाणित गर्न बाँकी नै छ । यसका लागि सरकार र पुरातत्व विभागले भग्नावशेषको अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
बाबुबाजेले भनेकै ठाउँमा प्राचीन भवन भेटिएपछि स्थानीयले खान्डुराजको दरबार दाबी गर्नु स्वभाविक रहेको र सरकारले यसबारे थप खोज अनुसन्धान गर्नुपर्ने उनले बताए । त्यहाँ देखिएका सबै संरचना सामान्य हिसाबले हेर्दा उत्खनन् गरिएका भित्ताहरुमा कोइला समेत भेटिएकोले आगलागीमा परी भवन ध्वस्त भएको वा भूकम्पले भत्किएको हुनसक्ने स्थानीयहरुको भनाइ । कतिपय ठाउँका गारोहरुमा झ्याल रहेको अनुमान गर्न सकिने आधार छन् ।
लामो समय भइसकेको र पहाडी क्षेत्रमा बलियो काठ नपाइने हुनाले भवनमा प्रयोग गरिएका काठहरु सडेको हुनसक्ने अनुमान गरिएको छ । सामान्य हिसाबले विशाल भवनको भग्नावशेष हेर्दा कुनै व्यक्तिको मात्र घर मात्रै नहुने स्थानीयको दाबी छ । सोही कारण उक्त भग्नावशेष दरबार नै हो भन्ने स्थानीय बताउँछन् । थामी जातिमा चलेको खान्डु राजाको मिथकले यसलाई थप बल पुर्याएको छ ।
-सुवास बस्नेत/दोलखा













प्रतिक्रिया