भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन ! « Khabarhub

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !



काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा निर्मम बन्दै गएको छ । नयाँ वर्षको सुरुवातसँगै सरकारले थालेको अभियानका क्रममा प्रहरी टोलीले महिला, जेष्ठ नागरिक, साना बालबालिका तथा सुत्केरी महिलालाई समेत लछारपछार पार्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

नगर प्रहरीको टोलीले बुटवलमा सुकुम्बासी बस्तीमा रहेको आफ्नो टहरो जोगाउदै गरेकी महिलालाई एउटा रुखमा हात पछाडि पारेर घाँटी ङ्याकेको दृश्यले सामाजिक सञ्जालमा खुबै चर्चा र आलोचना बटुलिरहेको छ । त्यस्तै, अर्को सुत्केरी महिला आफ्नो दुधे बालक लिएर कहाँ जाउँ ? भनेर रुदै सरकारसँग याचना गरेकी छिन् । उनी भन्छिन्, ‘यो सानो बच्चा लिएर म कहाँ जाउँ ? अर्को पनि मेरो बच्चा छ । यिनीहरु लिएर म कहाँ जाउँ ?’

त्यसैगरी, अर्का दुई नाबालिक बालिकाहरु अभिभावक नहुँदाको अवस्थामा घर भत्काइँदा अत्तालिएका छन् । उनीहरुले रुँदै गुहार मागेका छन्, ‘बुवा कहाँ हुनुहुन्छ ? हामीलाई लिन आउनुहोस् ।’

सडक विस्तारकै क्रममा पनि नगर प्रहरीले व्यवसायीहरुको सामान जफत गरेको देखिएको छ । व्यवसायीका कतिपय सामान सडकमै लथालिङ छाडिएको छ । भाँडाकुडा, लत्ताकपडा, व्यागजस्ता सामान नगर प्रहरीले जफत गरेको देखिन्छ । यसबाट सानो लगानीमा व्यवसाय गरिरहेका व्यापारीहरु आतङ्कित भएका छन् ।

नगरपालिका गुण्डागर्दी शैलीमा आफूहरुमाथि आक्रमणमा उत्रिएको बुटवलका व्यवसायीहरुक‍ो आरोप छ । पसलको पेटीमा राखेका सामानहरु उठाएर भित्र हाल्छु भन्दा पनि नगर प्रहरीले नमानेर सामान उठाएको भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।

व्यवसायी सुरज अग्रवालले प्रहरीले आफ्नो पसलबाट २० वटा भन्दा बढी डसना नगरपालिकाले लुटेर लगेको बताए । उनले भने, ‘अब घरको पेटीमा सामान राख्दिनँ भनेर कसम खाँदा पनि जबरजस्ती उठाएर ट्रिप्परमा हाले । पसलमा एक्लै थिएँ । सामान जेगाउन सकिनँ । छिमेकी सबैले रमिता हेरेर भिडियो बनाए । कसैले सहयोग गरेनन् । सानो व्यापार थियो । धेरै खति पुर्‍याइदिए ।’

बुटवलको नगर प्रहरीले अमरपथमा रहेको थापा किचन, गौरीशंकर भाँडा पसल, सिटी ब्याग हाउसजस्ता पलसमा धरपकड नै गरेर सामान जफत गरेको थियो । पसलबाट नगर प्रहरीले झोला, डनलप, डसना, सिरकहरू उठाएको थियो । शुक्रबार बुटवलमा नगर प्रहरी, नेपाल प्रहरी, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार शाखाका कर्मचारीसहित अनुगमनमा निस्किएको नगरपालिकाको टोली र व्यवसायीबीच धक्कामुक्कीकै अवस्था सिर्जना भएको थियो ।

सडक अतिक्रमण हटाउने र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएपनि बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले अपनाएको आक्रामक शैलीको भने विरोध भइरहेको छ । सामाजिक सञ्जालमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको समेत ख्याल नगरी राज्यले निर्ममता देखाउनु सही नभएको टिप्पणी भइरहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले राज्य र लुटेराबीच फरक नदेखिएको उल्लेख गरेका छन् ।

फेसबुक प्रयोगकर्ता रमेश शर्माले उचित स्थानान्तरण र सुरक्षित आवासको व्यवस्था गरेर मात्र डोजर चलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सुकुम्बासीको घर डोजर लगाएर भत्काइँदैछ । वास्तविक सुकुम्बासी (भूमिहीन) हुन् भने उनीहरूलाई पहिले उचित स्थानान्तरण र सुरक्षित आवासको व्यवस्था गरेर मात्र डोजर चला सरकार, यो देश धनी र हुने खानेको मात्र होइन । गरिबको पनि हो । संविधानले नै आवासको अधिकार सुनिश्चित गरेको छ ।’

विश्लेषक महादिप पोखरेलले सरकारको यो खालको रबैया गरिबीविरुद्ध नभएर गरिबविरुद्ध भएको आरोप लगाएका छन् । उनले सञ्जालमा लेखेका छन्, ‘खिलहरु भनेका : गरिब र सर्वहाराहरु, सुकुम्बासीहरु, साना ठेला व्यापारीहरु, बाटोमा पोलेको मकै ,चटपट, पानीपुरी बेच्नेहरु । निम्न आय भएका नेपालीहरु : बोर्डरमा ५ किलो चिनी, दुई चार लुगा, एक दुई पोका किनमेल गर्ने नागरिकहरु । सरकारलाई प्रश्न सोध्ने साहस राख्ने अलिकति बचेका केही सचेत नागरिकहरु यिनीहरु नै हुन् ? सरकार तिम्रो रबैया गरिबीको विरुद्ध होइन, गरिबको विरुद्ध छ ।’

नगर प्रमुख खेलराज पाण्डेले बुटवललाई सुन्दर र अनुशासित व्यवसायिक बस्ने सहर बनाउने उद्देश्यले अभियान चलाइएको दाबी गरेका छन् । उनले भने, ‘नगरपालिकाले १५ दिनअगाडि सूचना प्रकाशित गरेर फुटपाथ खाली गर्न निर्देशन दिएको थियो । सूचनासँगै माइकिङ पनि गरिरएको थियो । तर, व्यवसायीले अटेर गरे । बाध्य भएर आक्रामक शैली अपनाउनु परेको हो ।’

‘नगरपालिकाले सुरुमा नरम शैली अपनाउँछ । त्यसपछि आवश्यकता अनुसार आक्रामक बन्नुपर्‍यो । सूचनालाई अटेर गरेपछि नगर प्रहरीनै लगाउनुपरेको हो । हेर्दा व्यवसायीलाई दुःख दिएजस्तो देखिन्छ’ थप उनी भन्छन्, ‘कानून सबैका लागि बराबर हो । कानूनको पालना नगर्दा लड्नु परेको छ । उहाँहरुले कुरा नसुनिदिँदा समस्या आएको हो । उहाँहरु नगरप्रहरीमाथि नै जाइलाग्नुभएको छ ।’

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले पनि पुराना व्यवसायी र रिकन्डिसन व्यवसायीहरूले अटेर गरेपछि डोजर र क्रेनसहित बजारमा निस्किनु परेको टिप्पणी गरे । उनले भनेका छन्, ‘यो अभियान तीन महिनासम्म निरन्तर चल्छ र त्यसपछि पनि अनुगमन जारी रहन्छ । अघिल्ला दुई दिनको तुलनामा व्यवसायीहरूले सडकपेटीबाट सामान हटाएका छन् ।’

‘नगरपालिकाले व्यवसायीको सामान जफत गर्दैन । उठाइएका सामानहरू अहिले गोदाममा बन्द गरेर राखिएको छ । अनुगमन सकिएपछि त्यसको विवरण संकलन गर्छ,’ उनी थप भन्छन्, ‘कुन पसलबाट उठाइएको भन्ने विवरण नखुले पनि कति सामग्री उठ्यो र कस्तो अवस्थाको छ भन्ने खुलाएपछि त्यसको मूल्याङ्कन गरेर के गर्ने भन्ने निर्णय हुन्छ ।’

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : २८ बजे

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज,

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङबीच प्रतिस्पर्धा

इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप