तस्करी, लागुऔषध र जघन्य अपराधमा मोरङ प्रहरीको ‘फुल स्केल’ अभियान « Khabarhub

तस्करी, लागुऔषध र जघन्य अपराधमा मोरङ प्रहरीको ‘फुल स्केल’ अभियान


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङमा पछिल्ला महिनाहरूमा प्रहरीको सक्रियता बढेसँगै भन्सार नाकादेखि बजार क्षेत्रसम्म निगरानी कडा पारिएको छ। शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच, विशेष अपरेसन र सूचना आधारित कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले अपराध नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ कात्तिकदेखि चैतसम्मको ६ महिनाको अवधिमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधिविरूद्धको कारबाही प्रभावकारी बनाइएको छ।

प्रहरी उपरीक्षक कवित कटवालका अनुसार मोरङमा भन्सार चोरी पैठारी, लागुऔषध कारोबार तथा ओसारपसार मुख्य चुनौतीका रूपमा देखिएका छन्।

ती गतिविधि नियन्त्रण गर्न प्रहरीले ‘शून्य सहनशीलता’ नीति अपनाएको कटवाल बताउँछन्। भन्छन्, ‘भन्सार चोरी पैठारी नियन्त्रणलाई शून्य बनाउने नीति अख्तियार गरेका छौँ, चोरी निकासी हुने सबै नाकामा प्रहरीको कडाइ छ।’

जेन-जी आन्दोलनलगत्तै कटवालले १ असोज २०८२ देखि मोरङ प्रहरीको नेतृत्व सम्हालेका थिए। त्यसयताको ६ महिना अवधिको कार्यसम्पादनबारे मोरङ प्रहरीले जानकारी दिएको छ।

यस अवधिमा प्रहरीको मुख्य ध्यान आन्दोलनका क्रममा फरार भएका अभियुक्त, आगजनी, तोडफोडमा संलग्न व्यक्ति पहिचान गरी कानुनी दायरामा ल्याउने र १५ फागुनको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने दिशामा केन्द्रित रह्यो। ‘सँगसँगै अन्य आपराधिक गतिविधि नियन्त्रणमा समेत हामीले कुनै कसर बाँकी राखेनौँ,’ उनी भन्छन्।

फरार अभियुक्त पक्राउ, चोरी-तस्करी नियन्त्रण

मोरङमा प्रहरीको कारबाही अहिले गस्ती र चेकजाँचमा मात्रै सीमित छैन, अदालतको फैसला कार्यान्वयनदेखि वर्षौँदेखि फरार रहेका अभियुक्तसम्मको खोजी तीव्र छ।

अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै मोरङ प्रहरीले पछिल्ला महिनामा फरार अभियुक्तविरुद्ध व्यापक अभियान चलाएको छ। उक्त अवधिमा ३५७ फरार अभियुक्त पक्राउ परेका छन्।

जसमा ११० वर्ष, ८ महिना ३ दिन कैद भुक्तानी भएको छ। अभियुक्तबाट १ करोड २ लाख ५९ हजार ३०४ रुपैयाँ जरिवाना राजश्व असुल भएको छ।

उक्त अवधिमा प्रहरीले भन्सार चोरी निकासी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ। भन्सार चोरी निकासी अन्तर्गत ६ महिनामा ५ करोड ३८ लाख ६० हजार ९९२ रुपैयाँ राजश्व दाखिला भएको छ। जसमा ३० जना व्यक्तिहरू पक्राउ परे भने ४१ सवारीसाधन प्रहरीले बरामद गरेको थियो।

लागुऔषध मुख्य चुनौती

मोरङमा लागुऔषधको कारोबार र नियन्त्रण चुनौतीको रुपमा देखा परेको छ। लागुऔषधतर्फ गाँजा तस्करी र ब्राउनसुगरको कारोबार नियन्त्रण प्रहरीको मुख्य प्राथमिकतामा छन्।

६ महिनाको अवधिमा प्रहरीले लागुऔषधविरूद्धको कारबाहीमा उत्साहजनक सफलता प्राप्त गरेको छ। प्रहरी उपरीक्षक कटवालका अनुसार उक्त अवधिमा लागुऔषधतर्फ कुल १४१ मुद्दा दर्ता हुँदा १९७ जना मानिस पक्राउ परे।

५२७ जना पुरुष र ६३ महिला गरी ५९० जनालाई सचेतनामुलक परामर्श दिइएको छ। ३ हजार ६६७ किलो गाँजा, १ हजार ५६६ ग्राम ब्राउनसुगर र ट्रामाडोल नामक लागुऔषध ३८ हजार ८०१ थान बरामद भएको छ।

पछिल्लो समय धनकुटामा गैरकानुनी रुपमा गाँजा खेती फस्टाएको छ। उक्त गाँजा सुनसरी, मोरङ हुँदै भारतको अररिया र बिहार पुर्‍याउन समूह नै सक्रिय छ। भारत पुगेको गाँजा प्रशोधनपछि ब्राउनसुगर नेपालतर्फ तस्करी हुने गरेको छ।

‘सीमावर्ती क्षेत्र त्यसमाथि खुला नाका भएका कारण गाँजा, ब्राउनसुगर र अन्य लागुऔषध नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै आएको छ,’ कटवाल भन्छन्।

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बनेपछि मोरङ प्रहरीले एक महिने अभियान सञ्चालन गरेको छ। १ वैशाख २०८३ देखि प्रहरीले ‘लागुऔषधमुक्त मोरङ अभियान-२०८३’ सुरू गरेको छ। अभियानमा सामुदायिक प्रहरी र स्थानीय निकायलाई साझेदार बनाइएको छ।

उक्त अभियानमा लागुऔषध तस्करीविरूद्ध कारबाही, सेवनकर्तालाई सचेतना र किशोरावस्थाका व्यक्तिलाई विशेष सचेतना दिइने छ।

नदीजन्य पदार्थको गैरकानुनी कारोबारमा कडाइ

मोरङको राजमार्ग उत्तर वन र चुरे मिश्रित क्षेत्र छ। ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार र बिक्री गर्ने समूहलाई प्रहरीले निरुत्साहित गरेको छ। कतिपय वन क्षेत्रमा मापदण्डविपरीत क्रसर उद्योग स्थापना गरिएका छन्। त्यस्ता क्रसरबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन् हुने गरेको छ।

सुशीला कार्की नेतृत्वको तत्कालीन चुनावी सरकारले गैरकानुनी गतिविधिविरूद्धको कारबाहीमा स्पष्ट निर्देशन दिने गरेका कारण प्रहरीले नदीजन्य पदार्थको गैरकानुनी उत्खनन्, बिक्री र ओसारपसारमा कारबाही सञ्चालन गर्‍यो।

प्रहरी उपरीक्षक कटवालका अनुसार ६ महिनाको अवधिमा ६ वटा हेभी इक्युप्मेन्ट (जेसीबी) बरामद गरिएको छ। प्रहरीले १५ वटा टिपर र ४६ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय पालिकामा पठाएको छ।

नदीजन्य पदार्थको ठेक्कापट्टामा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाइएकोले क्षेत्राधिकारका कारण प्रहरी आक्रामक बन्न सकेको छैन। क्रसर उद्योगको नियमन तथा कारबाहीमा प्रहरीको सक्रिय भूमिका छैन।

जिल्ला समन्वय समिति ९जिसस० खारेज भएसँगै आगामी दिनमा नदीजन्य पदार्थको गैरकानुनी उत्खनन्, बिक्री र ओसारपसार कसरी रोक्ने भन्नेबारे छलफल चलिरहेको छ।

‘पहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्थ्यो, के कसरी क्रसरको नियमन गर्ने भन्नेबारे गृह मन्त्रालयबाट कार्यनीति बनेर जिल्लामा आएपछि थप कारबाहीका लागि सहज हुने ठानेका छौँ,’ कटवाल भन्छन्।

तीन ठूला जघन्य अपराधको अनुसन्धान

मोरङमा यस अवधिमा केही जघन्य अपराध भए। मुख्यगरी तीन वटा घटनामा प्रहरी संलग्न व्यक्ति पक्राउ गरी दायरामा ल्याउन सफल रह्यो।

मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणले प्रहरीलाई निकै सक्रिय बनायो।

घटना भएको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले घटनामा संलग्न रहेको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गर्न सकेको थियो।

प्रहरीका अनुसार बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि अधिकारी पक्राउ परेका थिए। ७ कात्तिकमा स्थानीयले बेलबारी-चिसाङ साझेदारी वनभित्र अंशुको शव क्षतविक्षत अवस्थामा फेला पारेका थिए। कटवालका अनुसार घटनाको अनुसन्धानका क्रममा ३०० जनाभन्दा बढी व्यक्तिसँग सोधपुछपछि अभियुक्त पहिचान भएको थियो।

कटवालका अनुसार २१ असोज दिउँसो विद्यालय नजिक खेलिरहेकी अंशुलाई आरोपीले पैसा दिने लोभ देखाई जंगलतर्फ लगेका थिए। सुनसान स्थानमा बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए। हत्यापछिसमेत अधिकारीले हँसियाले बालिकाको घाँटी रेटेका थिए।

यस्तै, २० माघमा रतुवामाई नगरपालिका(३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीले आफ्नै बुवा ७० वर्षीय शत्रुधन सहनीको हत्या गरे। घरायसी विवादमा श्रवणले बुवालाई कुटपिट गरी सख्त घाइते बनाएका थिए। नोबेल अस्पतालमा उपचारपछि घर लगिएकोमा २८ फागुनमा शत्रुधनको मृत्यु भयो। श्रवण कुटपिटपछि फरार भएका थिए। उनलाई प्रहरीले ६ चैतमा झापा गौरीगञ्ज नगरपालिका(६ देवीगञ्जबाट पक्राउ गरेको थियो।

यसैगरी, विराटनगर महानगरपालिका-१७ स्थित छाला फ्याक्ट्री नजिकै कल्भर्टमुनी पानीभित्र तन्नाले बेरिएको अवस्थामा महिलाको शव भेटिएको घटनामा श्रीमानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति १० चैतको बेलुका उक्त स्थानमा पानीभित्र शव भेटिएको थियो। यसपछि इलाका प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली फरेन्सिक चिकित्सकसहित घटनास्थल पुगेको थियो।

तन्नाले बेरिएको, हातखुट्टा बाँधिएको र सडेगलेको अवस्थामा शव फेला परेको थियो। अनुसन्धानका क्रममा मृतक महिला विराटनगर-१५ हर्ताली हाट बस्ने ३२ वर्षीया कोमल कुमारी साह भएको पुष्टि भयो।

६ चैतदेखि हराएकी भन्दै उनकै श्रीमान रोशन साहले ८ चैतमा इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। अनुसन्धानबाट कोमल साहको हत्या घटनामा श्रीमान रोशन नै संलग्न भएको पत्ता लाग्यो। प्रहरी उपरीक्षक कटवालका अनुसार रोशनसँगै उनका दाजु ४० वर्षीय दीपेन्द्र साह, तथा विराटनगर(१४ का ३२ वर्षीय राकेश पासवान संलग्न देखिएपछि पक्राउ गरिएको छ।

यसै अवधिमा २६ माघमा सुन्दरहरैंचा नगरपालिका वडा नं. २ बेलडाँगी बस्ने सिलास लिम्बूको घरमा अवैध हतियार राखिएको सूचना पाएपछि प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा स्वचालित अमेरिकी पेस्तोल १ थान र राइफलमा प्रयोग हुने आकारको गोली १ थान बरामद भएको थियो।

लिम्बूकै गाईगोठमा रहेको धानको भकारीमाथि २ फिट ५ इन्च लम्बाइको भरुवा बन्दुकजस्तो देखिने काठको डमी १ थान पनि फेला परेको थियो। यस्तै, सुन्दरहरैंचा नगरपालिका(३ का प्रेमबहादुर गुरुङको घरमा गरिएको खानतलासीबाट हेण्डसेट दुई थान बरामद भएको थियो।

मोरङ प्रहरी बढ्दो सवारी चाप, ट्राफिक नियम पालनामा पनि उतिकै सक्रिय छ। लापरबाही, मादक र लागुपदार्थ सेवन गरी दुर्घटना बढेको निष्कर्ष प्रहरीले निकालेको छ।

जिल्लाका विभिन्न ठाउँहरूमा ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको कटवाल बताउँछन्। मादक र लागुपदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागुऔषधको किटसहित समुदाय तथा चिकित्सक समेतको उपस्थितिमा चेकजाँच थालिएको छ।

लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ११ जना चालकविरूद्ध मुद्दा दर्ता गरिएको छ। अन्य निजी सवारी चालकलाई नियमानुसार ट्राफिक जरिवना गरिएको छ ।

६ महिनाको अवधिमा ट्रक ६४८, टिपर २६, बस १३, कार र जीप १९९, ट्याक्टर १४९, टेम्पो, इ(रिक्सा र अटो ८३, मोटरसाइकल २३६ र अन्य १ गरी १ हजार ३५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। त्यसबाट १४ लाख ११ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

सरकारका १०० कार्यसूचीमा मोरङ प्रहरी

प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारको शासकीय सुधारसम्बन्धी ‘१०० कार्यसूची’ अन्तर्गत सेवा प्रवाहलाई चुस्त, छरितो र प्रभावकारी बनाउन मोरङ प्रहरीले विभिन्न संरचनागत सुधार र अभियानलाई तीव्रता दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले प्रत्येक प्रहरी इकाइमा ‘नागरिक सहजकर्ता’ प्रहरीको व्यवस्था गरी सेवाग्राहीलाई प्रत्यक्ष सहजीकरण गर्ने प्रणाली लागू गरेको छ। यसमार्फत प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई लाइन व्यवस्थापन, प्रक्रिया बुझाउने र सेवा छिटो दिलाउने काम भइरहेको छ।

त्यसैगरी, बिचौलियाको गतिविधि निरुत्साहित गर्न प्रत्येक प्रहरी इकाइमा अनावश्यक रूपमा प्रवेश गर्ने व्यक्तिको पहिचान गरी नियन्त्रण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

मालपोत, यातायात, नापी कार्यालय तथा बसपार्क जस्ता सार्वजनिक सेवा केन्द्रहरूमा सेवाग्राहीमाथि हुन सक्ने अनावश्यक हैरानी रोक्न आवश्यकताअनुसार प्रहरी परिचालन गरी निगरानी पनि बढाइएको छ।

विराटनगर महानगरपालिकासँगको समन्वयमा कोशी राजमार्ग तथा मुख्य बजार क्षेत्रमा हालै मात्र ९ वटा सीसी क्यामेरा थप गरी सुरक्षा निगरानी अझ सुदृढ बनाइएको छ। लागुऔषध नियन्त्रणतर्फ ‘क्याम्पेन अगेन्स नार्कोटिक्स’ अभियान सञ्चालन गरिएको छ।

सीमा क्षेत्र हुँदै लागुऔषध सेवन गरी फर्किने युवालाई लक्षित गर्दै सुरू गरिएको यो अभियान अन्तर्गत दुर्व्यसनीमा फसेकाहरूलाई सुधारात्मक प्रक्रियामार्फत पुनः समाजमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सीमा क्षेत्रमा रहेका इकाइहरूमा सरोकारवाला निकायसँग समन्वय गरी लागूऔषधविरुद्ध निरन्तर अभियान सञ्चालन गरिएको छ।

पछिल्ला ६ महिनामा मोरङ प्रहरीको कारबाहीले अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, लागुऔषध नियन्त्रण तथा सेवा प्रवाह सुधारमा उल्लेख्य परिणाम देखाएको छ। तस्करीदेखि जघन्य अपराधसम्मका घटनामा प्रहरीले आक्रामक अनुसन्धान र निरन्तर निगरानीलाई प्राथमिकता दिँदा जिल्लाको सुरक्षा व्यवस्थामा सुधार देखिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : २३ बजे

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय