तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै दुई पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र यायर ल्यापिडले एकता गरेका छन् ।
उनीहरूले आफ्ना राजनीतिक दलहरू एकीकृत गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन्। ‘टुगेदर’ नाम दिइएको उक्त पार्टीको नेतृत्व बेनेटले गर्नेछन्। यसको मुख्य लक्ष्य वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउनु हो।
द जेरूसलम पोस्टका अनुसार दुई नेताबीचको सहमति शनिबार साँझ भएको हो। अब ल्यापिडको ‘येश अतीद’ र बेनेटको दल ‘टुगेदर’ पार्टीअन्तर्गत एकजुट भएर २०२६ को चुनाव लड्नेछन्।
संयुक्त पत्रकार सम्मेलनमा बेनेटले यसलाई ऐतिहासिक कदम भन्दै देशको हितका लागि सबैभन्दा राष्ट्रवादी र देशभक्त निर्णय भएको बताएका छन्। उनले अब विभाजनको राजनीति अन्त्य हुनुपर्ने बताएका छन्।
ल्यापिडले पनि मध्यमार्गी मतदातालाई नयाँ पार्टीको पक्षमा उभिन आह्वान गर्दै चुनाव जित्न सबै केन्द्रवादी शक्ति एकजुट हुनुपर्ने बताए। उनले हंगेरीको उदाहरण दिँदै एकजुट विपक्षले जित हासिल गर्न सक्ने उल्लेख गरे।
अरब दलसँग सहकार्य नगर्ने
नयाँ पार्टीले केवल जायनिस्ट विपक्षी दलहरूसँग मात्रै सहकार्य गर्ने भएका छन्। उनीहरूले अरब दलहरूसँग सरकार नबनाउने स्पष्ट पारेका छन्।
बेनेटले सत्ता आएमा ७ अक्टोबरका आक्रमणबारे राष्ट्रिय छानबिन आयोग गठन गर्ने, सबैका लागि अनिवार्य सैनिक सेवा लागू गर्ने र प्रधानमन्त्रीको कार्यकाल ८ वर्षमा सीमित गर्ने बताएका छन्।
यसका साथै उनले सिभिल विवाह र समलैंगिक विवाहलाई अघि बढाउने तथा राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिने बताएका छन्। ‘हामी देशको भूमिको रक्षा गर्नेछौं र एक इन्च जमिन पनि शत्रुलाई दिन्नौं,’ उनले भने।
बेनेट र ल्यापिडले याशार पार्टीका नेता गादी आइजेनकोटलाई पनि नयाँ पार्टीमा सहभागी हुन निम्ता दिएका छन् । जसले विपक्षलाई अझ बलियो बनाउन खोजिएको संकेत गर्छ।
इजरायली सञ्चारमाध्यमका पछिल्ला सर्वेक्षणहरू अनुसार, बेनेट–ल्यापिड गठबन्धन र नेतन्याहूको लिकुड पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यसअघि पनि बेनेट र ल्यापिडले २०१९ देखि २०२१ सम्म संयुक्त सरकार सञ्चालन गरेका थिए, तर उक्त सरकार एक वर्षमै ढलेपछि २०२२ मा नेतन्याहू फेरि सत्तामा फर्किएका थिए।













प्रतिक्रिया