सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की « Khabarhub

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की सोमबार एकाएक भाइरल भएका छन् ।

अफ्रिकन मुलुक नाइजेरियाकी एकजना युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्था साप्ताहिकको अनलाइन संस्करणले छापेसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीलाई लिएर खैलाबैला भएको छ।

उक्त अनलाइनले समाचार प्रकाशित गर्नुअघि नै कार्की तनावमा रहेको पुष्टि उनी सोमबार संसद्मा नदेखिनुले गरेको छ।

सोमबार बिहान श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले संसद्भित्रै पहिलो पटक पम्प्लेटसहित प्रदर्शन गर्दै रोस्ट्रम घेरे । श्रम संस्कृतिको उक्त विरोधप्रति रुष्ट सभामुख डोलप्रसाद अर्यालले घुमाउरो शैलीमा कारबाहीको पनि चेतावनी दिए ।

श्रमसंस्कृतिको विरोधबीच सभामुख अर्यालले संसद्मा आकस्मिक समय अघि बढाए । आकस्मिक समयअन्तर्गत नेकपा एमालेका समानुपातिक सांसद कृपाराम रानापछि उनै मोरङ २ का रास्वपा सांसद कार्कीको बोल्ने पालो थियो । सामन्यता आकस्मिक समय भन्नाले अघिल्लो बैठकदेखि यो बैठकसम्मको समयमा हुने गरेका कुराहरू उठाउने अवधिलाई बुझ्नुपर्ने हुन्छ ।

त्यही आकस्मिक समयमा एमालेका कृपाराम रानाथारूले सुशासनको दुहाई दिने रास्वपाको सरकारले न्याय खोज्न पनि नसघाएको भन्दै कञ्चनपुरको एउटा घटनाको दृष्टान्त सुनाए ।

त्यसपछि सभामुख अर्यालले आकस्मिक समयमा बोल्नका लागि ड्यासबाट रास्वपा सांसद कार्कीको नाम कम्तीमा तीन पटक लिए ‘माननीय सदस्य कृष्णकुमार कार्की, माननीय सदस्य कृष्णकुमार कार्की, माननीय सदस्य कृष्णकुमार कार्की ।’

तर सभामुखले माननीय भनेका कार्की संसद् हलभित्र देखिएनन् । सम्भवत: आफ्नोबारे समाचार सार्वजनिक हुँदै गर्दा त्यसको छनक उनलाई मिलिसकेको थियो । त्यहीकारण उनी आफैं मागेको आकस्मिक समयमा बोल्न उपस्थित भएनन्।

आकस्मिक समयमा बोल्न सिधै संसद् सचिवालय, सम्बन्धित दलको सचेतक-प्रमुख सचेतमार्फत् सभामुखलाई नाम टिपाउने गरिन्छ। यसरी बोल्न संसद् सुरू हुनुअघि नाम टिपाउन प्रचलन छ।

कार्की बैठकमा अनुपस्थित भएको मान्ने हो भने उनले आकस्मिक समयमा बोल्नका लागि संसद् सचिवालयमार्फत सभामुख अर्यालसमक्ष नाम टिपाएका थिए । नाम टिपाएर पनि मोरङ २ का सांसद कार्की संसद्मा उभिएर बोलेनन् ।

सभामुख अर्यालले तीन पटकसम्म नाम लिँदा पनि बोल्न माइक नलिएपछि अर्का सांसद केपी खनालको बोल्ने पालो आयो । रास्वपाकै सांसद खनालले सुदूरपश्चिमको भविष्य मानिएको सेती लोकमार्गको मुद्दा उठाए ।

यसअघि नै नयाँबानेश्वरको संसद् भवन जलाउने काममा प्रत्यक्ष संलग्न भएका कार्कीलाई टिकट दिएको कुराले रास्वपाको विरोध भएको थियो ।

तर रास्वपाले कार्कीलाई नै मोरङ २ को टिकट विवादित पृष्ठभूमिका कार्कीलाई थमाइदियो । गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ २ बाट उनै कार्की रास्वपाबाट विजयी भए ।

कार्कीले ४० हजार ९ सय २४ मतसहित जित निकालेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १४ हजार ६२४ मत ल्याए । उता नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल १२ हजार ६ सय ६४ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउने व्यक्तिलाई रास्वपा उम्मेदवार बनाएको खुलेको थियो । २४ भदौमा संसद् भवन जलाउँदै गरेको दृश्य कार्कीले नै सामाजिक सञ्जालमा हालेका थिए ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की वैदेशिक रोजगारीबाट फर्किएका थिए । कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि नेपाल फर्किएका थिए ।

कार्की आफैंले फेसबुकमा हालेको भिडियोमा समर्थकसहित नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर आगो लगाउन सघाएको देखिन्थ्यो । कार्कीले पनि सरकारी सम्पदा तोडफोड र आगजनीमा संलग्न भएको स्वीकारेका थिए । संसद् भवनको कुर्सी मात्रै आफूले जलाएको बताएका उनी अहिले त्यही संसद्मा पुगेर अर्को प्रकरणमा मुछिएका हुन् ।

उनले त्यसबेला दलका नेताहरूको घरमा गरिएको आगजनीमा पनि आफ्नो संलग्नता स्वीकारेका थिए । काठमाडौंका बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबारहुँदै नेताहरूको घर जलाएको कुरा उनैले स्वीकारेका थिए । अपराध स्वीकारेर पनि टिकट पाएका उनी रास्वपाबाट सांसद भएपछि अर्को गम्भीर विवादमा मुछिएका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : ०४ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली