बेइजिङ– चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनाव कम गर्ने दिशामा दुवै देशले पारस्परिक महसुल कटौती प्रक्रिया अघि बढाउने सहमति गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै सम्पन्न चीन भ्रमणपछि बुधबार सार्वजनिक गरिएको चिनियाँ वाणिज्य मन्त्रालयको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो।
विज्ञप्तिअनुसार, दुवै देशले अर्बौं डलर बराबरका सामानमा लाग्दै आएको अतिरिक्त महसुल घटाउने विषयमा सहकार्य गर्ने सहमति जनाएका छन्। विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच सन् २०२५ भर व्यापारिक प्रतिस्पर्धा चर्किएको थियो। एकअर्कामाथि लगातार महसुल बढाइँदा विश्व बजारसमेत प्रभावित बनेको थियो।
गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटवार्तापछि दुई देशका नेताबीच व्यापार युद्धलाई एक वर्षका लागि रोक्ने समझदारी बनेको थियो। त्यसयता सम्बन्ध सुधारका लागि विभिन्न चरणमा वार्ता जारी रहेको छ।
हालै सम्पन्न सी–ट्रम्प शिखर वार्तापछि दुवै देशले संयुक्त व्यापार परिषद् गठन गरेका छन्। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार परिषद्को मातहतमा ‘समान स्तरका उत्पादनहरूमा पारस्परिक महसुल कटौतीका लागि ढाँचागत व्यवस्था’ तयार गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ। चीनले यसलाई व्यापारिक सम्बन्ध स्थिर बनाउने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा प्रस्तावित महसुल कटौतीबाट कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका सामान प्रभावित हुने उल्लेख गरिएको छ। यसले औद्योगिक सामग्रीदेखि उपभोग्य वस्तुसम्मका विभिन्न क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ।
चीनले वार्ताका क्रममा अमेरिकाले गरेका प्रतिबद्धता कार्यान्वयन हुने अपेक्षा पनि व्यक्त गरेको छ। बेइजिङले गत वर्षको व्यापार युद्धविराम सम्झौता थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुवै पक्षबीच सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ।
द्विपक्षीय सम्बन्ध सुधारको अर्को संकेतस्वरूप चीनले केही अमेरिकी गोमांस निर्यातक कम्पनीहरूको दर्ता पुनःस्थापना गरेको जनाएको छ। व्यापार तनाव उत्कर्षमा पुगेपछि ती कम्पनीमाथि प्रतिबन्ध लगाइएको थियो।
त्यस्तै, चीनले अमेरिकी वायुयान निर्माण कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्ने निर्णय पनि पुष्टि गरेको छ। यद्यपि कुन मोडलका विमान खरिद गरिने भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
अमेरिकी सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा चीनले बोइङसँग ठूलो परिमाणमा विमान खरिद सम्झौताको तयारी गरिरहेको समाचार प्रकाशित गर्दै आएका थिए। ती विवरणअनुसार सम्भावित अर्डरमा ५०० वटा ७३७ म्याक्स विमान तथा करिब १०० वटा ७८७ ड्रिमलाइनर र ७७७ शृङ्खलाका विमान समावेश हुन सक्ने अनुमान गरिएको छ।
दुर्लभ पृथ्वी खनिजको आपूर्ति र निर्यात नियन्त्रणजस्ता संवेदनशील विषयमा भने विज्ञप्तिमा धेरै विवरण खुलाइएको छैन। चीनले गत वर्षदेखि यस्ता महत्त्वपूर्ण खनिजमा निर्यात नियन्त्रण कडा बनाएको थियो, जसले विश्व प्रविधि तथा रक्षा उद्योगमा समेत असर पारेको थियो।
यस विषयमा मन्त्रालयले ‘दुवै पक्षले एकअर्काका वैध र कानुनी चासोको अध्ययन तथा समाधानका लागि संयुक्त रूपमा काम गर्नेछन्’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएको छ।














प्रतिक्रिया