कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो « Khabarhub

कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । 

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सातपटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । 

‘सातौँपटक थपिएको २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्नेमा म्याद सकिएको २०० दिन पुग्दासमेत कम्पनीले प्रतिबद्धता र शर्त पालनामा जिम्मेवार नदेखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) को आधारमा ठेक्का अन्त्य गरिएको हो’, उनले भनिन्, ‘८५ प्रतिशत भौतिक प्रगति भएको कोवाङ–जोमसोम खण्डको बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउँछौँ ।’

विसं २०६४ मा मार्ग खुलेको सडक चक्लाउने, पर्खाल, नाली बनाउने र ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७४ साल जेठ ९ गते उक्त कम्पनीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । 

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि ११ खण्डमा सञ्चालित आयोजनामध्ये कोवाङ–जोमसोम खण्डमात्र अलपत्र बनेको हो ।  

आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई ठेक्का तोड्नुअघि कुल ठेक्का सम्झौता लागतको ०.०५ प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलान बाँकी छ ।

साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० मिटर कालोपत्र गर्न बाँकी रहेको छ । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको छ । 

अन्य ठाउँमा कालोपत्र र ढलान भइसकेको छ । कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ ।
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ५ : ०४ बजे

ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

नेपाललाई टेक हबको रूपमा अगाडि बढाइने गरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको

के सामाजिक सञ्जालमा गालीगलौज गर्नु पनि मानसिक समस्या हो ?

काठमाडौं- आजको समयमा सामाजिक सञ्जाल आम मान्छेको जीवनशैलीको अभिन्न हिस्सा

हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

काठमाडौं– विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र