रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत « Khabarhub

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गरेका छन् । 

अघिल्लो उम्मेदवारले संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएका हुन् ।

५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य छन् । उनी यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन गरेको दोस्रो व्यक्ति हुन् ।

यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावित युजेन टोम्याकले आवश्यक राजनीतिक समर्थन जुटाउन नसकेपछि आफ्नो जनादेश फिर्ता लिएका थिए  । संसद्मा मन्त्रिपरिषद् प्रस्तुत गर्ने समयसीमा पूरा हुन नसकेपछि राष्ट्रपति डानले नयाँ विकल्प रोजेका छन्  ।

बुखारेस्टस्थित कोट्रोसेनी दरबारमा आयोजित कार्यक्रममा राष्ट्रपति डानले टोम्याकले आफ्नो जनादेश फिर्ता लिएको जानकारी दिँदै एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका रूपमा मनोनीत गरेको घोषणा गरे । उनको मनोनयनले प्रभावकारी हुन भने संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

राष्ट्रपति डानले भेस्टियालाई प्रशासनिक अनुभव र व्यवस्थापकीय क्षमताका आधारमा योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरे । उनका अनुसार भेस्टियाले आफ्नो राजनीतिक यात्रामा स्थानीय तहदेखि राष्ट्रिय नेतृत्वसम्मका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालेका छन् ।

भेस्टियाले सानो सहरको मेयर, ब्रासोभ काउन्टी परिषद्का अध्यक्ष तथा विकास मन्त्रीका रूपमा काम गरिसकेका छन् । ब्रासोभमा रहँदा उनले युरोपेली कोष आकर्षित गरी विकास परियोजनाहरू अघि बढाएको उल्लेख गरिएको छ ।

राष्ट्रपति डानले भेस्टियालाई पश्चिम समर्थक राजनीतिज्ञ र बजेट व्यवस्थापनमा अनुभवी व्यक्ति भन्दै उनले नयाँ जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२३ देखि २०२४ सम्म विकास मन्त्री रहेका भेस्टियाले आफू वास्तविक सुधार लागू गर्ने र रोमानियालाई पश्चिम समर्थक मार्गमा अघि बढाउने राजनीतिक सरकार गठन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले रोमानिया युरोपको छैटौँ ठूलो देश भएकाले विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपतिको लगातार दोस्रो मनोनयन मे महिनामा तत्कालीन प्रधानमन्त्री इलि बोलोजन अविश्वास प्रस्तावबाट पदच्युत भएपछि आएको हो । रोमानियामा अर्को आम निर्वाचन सन् २०२८ सम्म नहुने भएकाले वर्तमान राजनीतिक व्यवस्थापनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

युरोपेली सङ्घ (इयु) भित्र सबैभन्दा ठूलो बजेट घाटा झेलिरहेको रोमानिया उच्च मुद्रास्फीति र प्राविधिक मन्दीको चुनौतीसँग जुधिरहेको छ । सन् २०२५ मा गठबन्धन सरकार सत्तामा आएपछि बजेट घाटा घटाउने लक्ष्यलाई प्रमुख प्राथमिकता बनाइएको थियो ।

बोलोजन सरकारले कम्युनिस्ट शासनपछिको रोमानियाको गम्भीर राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्य राखे पनि त्यो सरकार एक वर्षभन्दा कम समयमै ढलेको थियो । यस्तो अवस्थामा भेस्टियाको सम्भावित नेतृत्वलाई राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ परीक्षणका रूपमा हेरिएको छ । रासस
 

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : ५२ बजे

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी