काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम नआउँदै अनेक विवाद देखिएका छन् ।
जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि २९ सय ५९ मत मात्रै खसेको छ । १३ सय ५२ प्रतिनिधिहरू मतदान नगरी बाटो लागेका छ।
चितवनको भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचनअघिसम्म पनि महाधिवेशन प्रतिनिधिको समेत टुंगो लागेको थिएन।
रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि विद्य्युतीय मेशिनमै सेटिङ गरेको आरोप लागेको छ। जहाँ पहिलो नम्बरमै डा. स्वर्णिम वाग्लेको नाम राखिएको छ।
९९ केन्द्रीय सदस्यका लागि भएको मतदाननमा ३८४ जना उम्मेदवार मैदानमा छन् । तर नुवाकोटका राम-लक्ष्मण खनालले बनाएको विद्ययुतीय भोटिङ मेशिनमा क्लस्टरअनुसार र वर्णानुक्रमअनुसार उम्मेदवारको नाम राखिएको छेन। मतदानका लागि वर्णानुक्रम र पार्टीको वरीयता दुवैलाई बेवास्ता गरिएको छ।
समस्या के भएको छ भने ९९ जना उम्मेदवारका लागि ३८४ जना मैदानमा हुँदा मतदातालाई समस्या भएको छ। पहिलो नम्बर र शीर्ष १० रहेका नामलाई यस मतदानमा सजिलो भएको छ। यसमा अन्तिक क्रममा राखिएका उम्मेदवारलाई ठूलो घाटा हुने अवस्था छ । प्रतिनिधिहरूले पहिले नै ९९ जनालाई मत हालिसके भने ३८४ सम्म पुग्दा आफूले चाहेकाहरू छुट्ने जोखिम छ।
उम्मेदवारको क्रम संख्या, क्लस्टर, वर्णानुक्रम तलमाथि पारिएपछि उम्मेदवारहरू आक्रोशित छन् । आशिका तामाङ र ज्वाला संग्रौलाहरूले आफूहरूको नाममै गडबडी गरिएको आरोप लगाएका छन् ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले गुट-उपगुट निषेध भने पनि दुवै पक्षले सूची नै बाँडे । उद्घाटन समारोहको उद्घोष बन्द सत्र आइपुग्दा अलपत्र परेको छ। नेताहरूको बोली र ब्यवहारवीच तालमेल नमिलेको भन्दै प्रतिनिधिले आक्रोश पोखेका छन् ।
मध्यराति वालेन पक्षले एउटा सूची बाँडेको थियो । बिहीबार बिहान अर्को पक्षले क्रम संख्या र वर्णानुक्रम बिगारेर भोटिङ्ग मेशिनमा अपलोड गरेको जिकिर छ ।
नयाँको नाममा फागुन २१ गते सत्तामा उक्लिएकाहरू आफैँ सम्हालिन सकेनन् । यसले रास्वपाको पहिलो महाधिवेशन भद्रगोल भएको छ।
यो महाधिवेशन तीन दिनमा सक्ने गरी थालिएको थियो । तर दुई दिन लम्बिँदा पनि सकिएको छैन । अर्कातिर व्यवस्थापकीय कमजोरी पनि बाहिरिएको छ। जेन-जी, युवा र शिक्षित मतदाताको प्रविधिमैत्री पार्टी भनिए पनि रास्वपाले आफूलाई व्यवस्थापनमा कांग्रेस, एमाले र माओवादीभन्दा कमजोर र निकम्मा बनाएको छ।
बर्षे खेती छाडेर चितवन उत्रिएका कार्यकर्ताहरू नेतृत्वको लापरबाही र अकर्मण्यता देखेर आक्रोशित छन् । सर्वसम्मतिका नाममा नेताहरूको निर्णय लाद्ने कोसिसलाई महाधिवेशन प्रतिनिधिले प्रतिरोध गरेका छन् । सूचना प्रविधिको प्रयोगमा अब्बल भनिएको रास्वपाले महाधिवेशनस्थलमा छरेका पोस्ट र पर्चाले नराम्रोसँग गिज्याएको छ।

सयजना केन्द्रीय सदस्य छान्ने चुनाव रास्वपाका लागि कष्टमय बनेको छ। रास्वपाले सभापतिमा यसअघि नै रवि लामिछानेलाई निर्विरोध गरिसकेको छ। उता वरिष्ठ नेता बालेन शाह र उनीनिकट कयौँ नेताले उम्मेदवारी नै दिएनन् । रास्वपामा प्रतिनिधि विवाददेखि उम्मेदवारको नामावली प्रकाशनसम्मै अनेक गाईजात्रा चल्यो ।
महाधिवेशनमा प्यानल बनाउन नपाइने भने पनि आफ्नो पक्षलाई जिताउन चिट बाँड्ने काम भएको छ। पाँच वर्षअघि एमालेले चितवनको सौराहामा गेो बन्द सत्रमा पनि यसैगरी चिट बाँडेको थियो । खासमा त्यसबेला केपी शर्मा ओली पक्षले व्यापकमात्रामा चिट बाँडेको थियो ।
महाधिवेशनस्थलमै यज्ञमणि न्यौपाने, दीपक बोहोरा, आशिका तामाङ र ज्वाला संग्रौलालेसमेत आक्रोश पोखे। उम्मेदवारको सूचीमा गडबड गरिएको आरोप उनीहरूको थियो । आफूले भन्दा पछि फर्म भरेका उम्मेदवारको नाम अगाडि राखिएकोमा यज्ञमणिले आपत्ति जनाए ।
उता दीपकले खुल्लामा भनेर प्रचार गरे पनि भूगोलमा पारिएको गुनासो गरेका छन् । आशिका तामाङले मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको सुनाइन् । तर आफ्नो नाम मेशिनमा १०६ नम्बरमा राखिएको भन्दै उनले निर्वाचन आयोगलाई दोष दिइन् ।
फागुन २१ को जस्तै निर्वाचन आयोगले नै मतदान गराउने बुझेर आफू ढुक्क भएको उनको भनाइ थियो । तर यसैलाई कमजोरी ठानेर ‘मिडिया ट्रयाल’ गरिएको उनको जिकिर छ । महाधिवेशनमा के के नै हुने ठाने पनि भुइँ मान्छेलाई द:ख दिने काम भएको उनले बताइन् ।
‘मैले सोचेँ, फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोगजस्तो लागेको थियो, पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ ?’, आशिकाले सोधिन् ।
उनले आफू राजनीतिमा आएको दुई महिना पनि नभएको बताइन् । ‘मेरो राजनीतिकमा जन्म भा’को २ महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ थियो न आमा न म आफैँ । मान्छे सिक्दै जाने हो, बुज्दै जाने हो ! तर मैले महाधिवेशनबाट के बुझेँ भने दुःख पाउने भुइँमान्छेनै रहेछ जता पनि’, उनको तर्क छ।
केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका कयौँ नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप सामाजिक सञ्जालमै लगाएका छन् । आफूनिकट जिताउन विभिन्न उपाय अपनाइएको आरोप उनीहरूको छ। पार्टीमा अन्यको झैँ गुट-उपगुट निषेध हुने भनिए पनि वालेनको तर्फबाट चिट बाँडिएको छ।













प्रतिक्रिया