‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’ « Khabarhub

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । 

सङ्क्रमित भनेपछि समाजले अझै हेयको दृष्टिले हेर्ने भएकाले आफू बसेकोभन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको बताउँछन् । 

लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउँछिन् । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उनी बताउँछिन् । 

‘श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई छैन भनेकी छु’, उनी भनिन्, ‘थाह पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।’

टीकापुर अस्पतालमा लम्की चुहा नगरपालिकाका मात्रै १६२ एचआइभी सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेका छन् । 

टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ जना एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । 

अस्पतालबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमितमा २०७ जना पुरुष, ३०४ जना महिला, ११ जना लैङ्गिक अल्पसङ्ख्यक, नौ जना बालबालिका छन् । 

अघिल्ला वर्षसम्म यो सङ्ख्या ९०० सम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् ।

सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना बिरामी छन्, भने अरु बिरामी अन्य पालिकाका हुन् । 

एचआइभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरै बिरामी लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल (एएचएफ) नेपालले जनाएको छ । 

टीकापुर अस्पतालमा सेवा लिन आउने बिरामीमा पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गरेका छन् ।

टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ । संस्थाले एचआइभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएच एफ नेपालका काउन्सिलर मीनबहादुर बोहरा बताउँछन् । 

‘चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यत्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छ’, उनी भन्छन्, ‘३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बिमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ जना बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।’

यसका साथै एचआइभी सङ्क्रमित सबै बिरामीलाई स्वास्थ्य बिमा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । 

संस्थाले बिरामीले नियमित औषध सेवन गरे नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । 

पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहाका १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडी १८, मोहन्यालका ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक जनाले यहाँबाट सेवा लिने गरेका बोहराले जानकारी दिए ।

कैलालीमा चार स्वास्थ्य संस्थामा एआरटी सेवा सञ्चालनमा छन् । कैलालीको सेती अस्पताल, टीकापुर अस्पताल, लम्की चुहा अस्पताल, मालाखेती अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ । एचआइभी सङ्क्रमितलाई पोषणको समस्या, नियमित आम्दानीमा समस्या भइरहेको छ । 

टीकापुर र लम्की चुहा लगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामी बताउँछन् । मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया अर्की महिला श्रीमान् बितेपछि घरमा कमाउने कोही नभएको, जग्गाजमिन पनि नभएकाले आफूलाई दैनिक गुजारा चलाउनै समस्या भएको बताउँछिन्। 

‘पेट भर्नकै लागि समस्या छ। एउटै छोरी थिइन् विवाह गरेर गइन्’, उनी भनिन्, ‘मलाई हेर्ने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पुग्दैन, पोषणका लागि पनि मासिक सहयोग पाएको भए हुने थियो ।’

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरु एचआइभी सङ्क्रमितको उपचार र हकहितका लागि अस्पतालमा रहेको एआरटी सेण्टरले राम्रो काम गरिरहेको बताउँछन्। 

‘अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिकाले सघाउनुपर्छ’, पनेरु भन्छन्, ‘उनीहरूका समस्या समाधानका लागि स्थानीय सरकार, संघसंस्था र सरोकारवाला सबैको समन्वय र सहयोग आवश्यक छ ।’ रासस

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : ०६ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।