कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन « Khabarhub

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजीमा परिचालन भएका छन्। बिहीबार करिब पाँच घण्टासम्म खोजी गर्दा पनि गाडी वा बेपत्ता यात्रु फेला नपरेपछि पुनः खोजी अभियान सञ्चालन गरिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढेको, बहाव अत्यन्त तीव्र रहेको तथा पानी धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले उद्धार टोली अछामतर्फबाट परिचालन गरिएको उनले जानकारी दिए।

दुर्घटनामा भीरमा अड्किएका एक पुरुषलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।

बिहीबार बिहान ८ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

प्रहरीका अनुसार गाडी सुर्खेतबाट छुट्दा तीन जना यात्रु सवार थिए भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए। चालक र सहचालकसहित गाडीमा हालसम्म आधिकारिक रूपमा सात जना सवार रहेको पुष्टि भएको छ।

खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन्।

दुर्घटनास्थल दैलेख प्रहरीचौकीबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ। प्रहरीले बेपत्ता गाडी र यात्रुको खोजी जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ५९ बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४