काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिलाई खारेज गर्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता, र धर्मनिरपेक्षता माथि खेलबाड गरिए वा प्रदेश खारेज गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने चेतावनी दिए ।
उनले संविधान संशोधन गर्ने नै हो भने महिलाहरूको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने धारणा राखे ।
संविधान संशोधनले पिछडिएका र उत्पीडित समुदायको अधिकारलाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ । राईले लोकतन्त्रमाथि प्रहार गरिए सिंहदरबारका विरुद्ध पुनः विद्रोह हुने चेतावनी समेत दिए ।
सिंहदरबारले आफ्नो हितमा काम गरेको अनुभूति जनताले गर्न नपाएका कारण नै विगत २००७ सालदेखि हालसम्म निरन्तर विद्रोह हुँदै आएको उनको भनाइ छ ।












प्रतिक्रिया