हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो « Khabarhub

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मङ्गलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ।

बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी भए पनि घटनाबाट वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।

पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो। विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ हुने सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्याङ्कर आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। यसअघि इरानले स्वीकृत समुद्री मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिँदै आएको थियो।

गत बिहीबार इरानको संयुक्त सैन्य कमान्डले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने सबै तेल ट्याङ्करले स्वीकृत मार्ग प्रयोग गर्नुपर्ने र अमेरिकी सैन्य हस्तक्षेप भए ‘द्रुत र निर्णायक’ जवाफ दिइने चेतावनी दिएको थियो।

यसबीच जलघाँटीलाई पूर्ण रूपमा खुला राख्ने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा फेब्रुअरी २८ देखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच वार्ताको प्रयास जारी रहे पनि अन्त्येष्टि कार्यक्रमका कारण वार्ता केही समयका लागि स्थगित भएको जनाइएको छ।

सोमबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए थप कडा कदम चाल्ने चेतावनी दिएका थिए । उनले आवश्यक परे इरानको ऊर्जा तथा पूर्वाधार प्रणालीमाथि आक्रमण गर्न सकिने धारणा पनि व्यक्त गरेका थिए।

दुवै पक्षबीच ६० दिनसम्म जहाजलाई शुल्कबिनै आवतजावत गर्न दिने अस्थायी सहमति भए पनि इरानले भविष्यमा समुद्री मार्गको नियन्त्रण र शुल्क असुलीको अधिकार कायम राख्नुपर्ने अडान दोहोर्‍याएको छ। अमेरिका र खाडी क्षेत्रका धेरै मुलुकले भने त्यस्तो व्यवस्था स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

डाटा विश्लेषण संस्था केप्लरका अनुसार गत सप्ताहन्तमा मात्रै कम्तीमा १०८ वटा जहाजले विभिन्न मार्ग प्रयोग गर्दै हर्मुज जलघाँटी पार गरेका थिए।

यसैबीच, इरानमा दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन लाखौँ नागरिक भेला भएका छन्। इरानी सरकारी टेलिभिजनले शोकयात्राको प्रत्यक्ष प्रसारण गरेको थियो। शोकयात्रामा खामेनी र उनका उत्तराधिकारी मानिएका अयातुल्ला मोजतबा खामेनीका तस्बिरसहितका ब्यानर प्रदर्शन गरिएको थियो।

मोजतबा खामेनी भने हालसम्म सार्वजनिक रूपमा अन्त्येष्‍टि कार्यक्रममा देखिएका छैनन्। युद्धका क्रममा भएको हवाई आक्रमणमा घाइते भएपछि उनी सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ।

८६ वर्षको उमेरमा निधन भएका अयातुल्ला अली खामेनीलाई उनको जन्मस्थल मशहदस्थित इमाम रेजा मन्दिरमा शनिबार दफन गरिएको थियो। राष्ट्रिय शोकका कारण इरानका धेरै क्षेत्रमा सडक, हवाई सेवा र दैनिक गतिविधिमा व्यापक प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : १६ बजे

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडामा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत