सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य « Khabarhub

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे ।

‘आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो’, उनले भने, ‘पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छौँ ।’ बेल्फी लुरवाङ सिँचाइ योजना निर्माण सम्पन्न भएपछि तुलप्रसादजस्तै बिमका किसानलाई लुरवाङ फाँटमा धान रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

२०४५ सालमा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरपरिवार किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइँका लागि यसपालि आकासे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकवीर जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भीरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

पक्की नहर निर्माण भएपछि बेल्फीको मुहानबाट लुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०–८१ देखि सुरु भएको आयोजना निर्माणले यसपालि पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए ।

चालु आर्थिक वर्षमा विनियोजन भएको १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप १७५ मिटर पक्की नहर निर्माण भएको छ । आव २०८१–८२ मा २० लाख रुपैयाँ बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भीर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको थियो । एक सय ७० मिटर १२५ मिलीलिटर क्षमताको पाइप लाइन जडान गरिएको थियो । आव २०८०–८१ मा विनियोजन भएको १० लाख बजेटबाट बेल्फीमा इन्टेक, बाँध र करिब २०० मिटर पाइप लाइन जडान भएको थियो ।

लुरवाङमा धानलगायत खाद्य बालीका साथै सुुन्तला र व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् । (रासस)

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ३५ बजे

‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर