५ वर्षपछि हुने भयो गैंडा गणना | Khabarhub Khabarhub

५ वर्षपछि हुने भयो गैंडा गणना


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब पाँच वर्षसम्म मुलुकमा गैंडा गणना हुन नसकिरहेको बेला १ चैतबाट गणना शुरु गर्ने तयारी भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा एकसिंगे गैंडा गणना गर्ने तयारी भएको हो ।

हरेक चार वर्षमा गैंडा गणना हुँदै आए पनि विभागले बजेट नभएको भन्दै अघिल्लो वर्ष गणना गर्न सकेको थिएन । यसअघि २०७१ (सन् २०१५) सालमा गैंडा गणना गरिएको थियो ।

विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाको विषयमा सरोकारवाला निकायसँगको सहकार्यमा यो वर्ष गणना गर्ने तयारी भएको हो । ‘अघिल्लो वर्ष नै गणना गर्नुपर्ने हो,’ उनले भने, ‘मन्त्रालय र विभागका साथै सरोकारवाला निकायहरूसँगको सहकार्यमा यही वर्ष गणना गर्ने तयारी गरिएको हो ।’

अघिल्लो वर्ष साउनदेखि फागुनसम्ममा मात्र प्राकृतिक कारणले निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनमा गरी ४१ वटा गैंडा मरेका छन् । प्राकृतिक कारणले गैंडा मरेको समाचार सार्वजनिक भएका बेला गणना गर्दा ‘उत्साहजनक परिणाम नआउने मनोवैज्ञानिक त्रास’ हुँदा सरकारले गणनाको कार्यक्रम नै सारेको सरोकारवाला निकायका प्रतिनिधिको दाबी छ ।

सन् २०१५ को गणनायता चोरी सिकार नभए पनि प्राकृतिक कारणले मर्ने क्रम रोकिएको छैन । ‘हरेक वर्ष दुई दर्जन हाराहारीमा प्राकृतिक कारणले गैंडा मरिरहेका छन्,’ एक विज्ञले भने, ‘सरकारी अधिकारी संख्या अद्यावधिक गर्नुभन्दा पनि गणना टार्नेतिर केन्द्रित भएको देखिन्छ ।’

विज्ञहरूका अनुसार फागुनदेखि वैशाखसम्म गैंडा गणनाको उपयुक्त समय हो । विभागका उपमहानिर्देशक कँडेलले गणनाका लागि संरक्षण साझेदार संस्थाहरू डब्लूडब्लूएफ नेपाल, हरियो वन र जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल)लगायतका संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको आर्थिक सहयोगमा गैंडा गणना गर्न लागिएको हो ।

पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एसियामै चितवन निकुञ्ज एकसिंगे गैंडाको दोस्रो ठूलो बासस्थान हो । पहिलो बासस्थान भारतको काजिरगा नेसनल पार्क हो । चितवनमा गैडा पर्यटकका मुख्य आकर्षण भएकाले तिनको दिगो संरक्षण र व्यवस्थापनका लागि संख्याका साथै अवस्था पनि अद्यावधिक हुनुपर्छ ।

विभागले गत वर्षको बजेटमा प्रजाति गणनाका लागि रकम छुट्याएको थिएन । गैडा, बाघलगायतका वन्यजन्तु अवलोकन गराएर स्वदेशी–विदेशी पर्यटकबाट विभागले बर्षेनि ५० करोड रुपैयाँभन्दा बढी आर्जन गर्दै आएको छ । नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैडा गणना गरिएको थियो ।

सन् २०१५ मा भएको गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैडा देखाएको थियो । पर्सा, बर्दिया र शुक्लाफाँटासहित ६ सय ४५ गैडा थिए ।

गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैडा स्थानान्तरण गरिएको छ । चितवनबाहेक पनि गैंडाको संख्या विस्तार गरी प्रजाति संरक्षण गर्न स्थानान्तरण शुरु गरिए पनि दुई वर्षयता रोकिएको छ ।

बर्दियाको बबई उपत्यकामा स्थानान्तरण गरिएका गैंडाबाट संख्या विस्तार गर्ने सरकारको योजना सफल भएको छैन । त्यहाँ स्थानान्तरण गरिएको संख्या थोरै भएकाले वंश विस्तार हुन नसकेको जानकारहरूको तर्क छ ।

सन् २०१५ को गणनापछि चोरी सिकारबाट मर्ने गैडाको संख्या नगण्य छ । प्राकृतिक कारणले मर्नेको संख्या भने उकालो लागिरहेको छ । गैडाको विषयमा विशेषज्ञता हासिल गरेका शान्तराज ज्ञवाली गैडा मरेको तथ्यबाहिर आइरहेका बेला गणना, रोगव्याधि परीक्षण, खानपान र दीर्घकालीन वासस्थान व्यवस्थापनमा सक्रिय रूपमा लाग्नुपर्ने बताएका छन् ।

‘फरकफरक कारणले गैडा मरेका कारण विस्तृत अध्ययन आवश्यक देखिन्छ,’ उनले भने, ‘परीक्षणका लागि केही गैडाको रगत जाँच गरे रोगव्याधि पहिचान गर्न सकिन्छ ।’

वासस्थान र घाँसे मैदान हेर्नका लागि ड्रोन प्रयोग गर्न सकिने उनको सुझाव छ । आपसमा जुधेर, खाडलमा परेर, विद्युतीय तार–धरापमा परेर र केही बुढो भएर पनि गैडा मरेको पाइएको छ । पछिल्ला अध्ययनले चितवन निकुञ्जमा गैंडाका लागि पर्याप्त घाँसेमैदान र घोल (ताल) नभएको देखिएको छ ।

डा. नरेश सुवेदीले भने, ‘खानाका लागि अत्यधिक प्रतिस्पर्धा छ ।’ बजेट अभावका कारण बारम्बार रोकिएको गणना आगामी चैत १ गते शुरु गरी चैत मसान्तअगावै सक्काउने योजना बनेको विभागका उपमहानिर्देशक कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ५० बजे

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले