के रहस्यमयी हिममानव ‘यति’ साच्चै छ त ? | Khabarhub Khabarhub

के रहस्यमयी हिममानव ‘यति’ साच्चै छ त ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय सेनाको हिमाल आरोहण दलले नेपालको मकालु हिमालको आधार शिविरमा हिममानव यतिको पदचिह्न फेला पारेको दावी गरेसँगै फेरि एक पटक यतिबारे चर्चाले व्यापकता पाएको छ ।

भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत यतिको पदचिह्न भेटेको भन्दै तस्वीरसमेत सार्वजनिक गरेको थियो । योसँगै भारतीय सञ्चारमाध्यमका साथै नेपालका सञ्चार क्षेत्रमा पनि यसले विशेष स्थान पाएको थियो ।

तर, भारतीय सेनाले गरेको दावी अहिले सत्य नभएको खुल्न आएको छ । भारतीय सेनासँगै मकालु आरोहणमा गएका भरियाहरूले उक्त पदचिन्ह यतिको नभएर हिमाली ठूलो भालुको भएको बताएका छन् । त्यस क्षेत्रमा बेला–बेला भालुको पाइला देखिने गरेको र स्थानीय तथा आरोहणमा गएका भरियाले यसअघि पनि भालुको पाइला देखेको बताएका छन् ।

यतिका विषयमा यसअघि पनि विभिन्न खाले दावी तथा किस्सा आउने गरेका थिए । यतिलाई आधा मान्छे र आधा चिम्पान्जी जनावरको रुप भएको भिम्काय हिममानवका रुपमा व्याख्या गरिँदै आइएको छ । यद्यपि, अहिलेसम्म पनि यतिलाई मानिसहरुले प्रत्यक्ष रुपमा देख्न पाएका छैनन् । विभिन्न समयमा यति र उसको पाइला देखिएको दावीहरु सार्वजनिक भए पनि त्यसको यथेष्ट प्रमाण भने कसैले दिन सकेका छैनन् । हिममानव यतिको अस्तित्व यो संसारमा छ त ? साच्चै नै यति छ ? आउनुहोस्, यतिबारे अहिलेसम्मका किस्सा तथा किम्वदन्ती के कस्ता छन्, जानी राखौँ ।

हिममानव यति हिमाली क्षेत्रमा बस्छ र यसलाई देखेको धेरै व्यक्तिले दावी गरेका छन् । तपाईं हिममानवको कल्पना सहज ढंगबाट गर्न सक्नु हुन्छ । यो कस्तो हुन्छ भन्ने कुरा तस्वीर हेरेर पनि थाहा पाउन सक्नु हुन्छ । किन कि यतिबारे थुप्रै चलचित्र बनिसकेका छन् । र, ति चलचित्रले तपाईंलाई यतिको आकृतिबारे एक किसिमको कल्पना गर्न सहज बनाइ दिएको छ ।

किम्वदन्तीअनुसार यति एक भिम्काय शरीर भएको हिममानव हो । शरीरमा लामो–लामो भुत्ला, मान्छे र चिम्पान्जीको जस्तो मिल्ने अनुहार, ठूल्ठूला खुट्टाको पाइला, लामो दाँत भएको कल्पना गरिएको छ । यति हिमाली क्षेत्रको हिऊँमा लुकेर बस्ने र एक्लै हिँड्डुल गर्ने विश्वास गरिन्छ ।
यद्यपि, हिममानव हामीले कल्पना गरे जस्तै हुन्छ त ? यो विषय भने रहस्यको गर्वमा लुकेको छ । ज–जसले हिममानव यतिलाई देखेको दावी गरेका छन्, उनीहरुले भने जस्तै वास्तवमै यति छ त यो संसारमा ? अथवा यो एक कोरा कल्पना मात्रै हो ?

शेर्पा र यतिको लोक कथा 

वैज्ञानिकहरुको मान्यताअनुसार यति अर्थात हिममानव एक कल्पना मात्रै हो । यतिको जस्तै पश्चिमी देशहरुमा पनि ठूलो पदचिन्ह वा त्यसको आकृति (जस्तै भिम्काय बाँदर वा मानव) को किस्सा सुनिने गरेको छ । यति हिमाली क्षेत्रको लोककथाहरुको उपज हो । यो पहाडी क्षेत्रको किस्साको धेरै पुरानो चरित्र हो । विशेष गरी नेपालको पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुको जीवनसँग जोडिएको यो एउटा पाटो पनि हो ।

यतिबारे खोज गरेका शिव ढकालले आफ्नो किताबमा १२ लोककथा उल्लेख गरेका छन् । ‘फोक टेल्स अफ शेर्पा एन्ड यति’ नामक किताबमा उनले लोककथालाई संग्रहित गरेका हुन् ।

किताबमा लेखिएको एउटा कथालाई लिऊँ । यतिसँग शेर्पाहरुले बदला लिएको कथा छ । शेर्पाहरुले रक्सी पिएर आपसमा झगडा गर्छन् । यसबाट ति शेर्पाहरुले यतिको समूहलाई पनि आफुहरु जस्तै आपसमा झगडा गर्न उक्साउँछन् ।

मानिसहरुले गरेको क्रियाकलापलाई नक्कल गर्दै यतिले पनि रक्सी पिएर आपसमा झगडा गर्न थाल्छन् । तर, केही समयमा नै यतिले मान्छेले आफुहरुमाथि गरेको जालझेल थाहा पाइहाल्छन् । त्यसपछि यति आपसमा झगडा गर्न बन्द गर्छन् । र, हिमालको उच्च भागमा गएर लुक्छन् । ताकि एक दिन मान्छेसँग त्यसको बदला लिन सकौँ भन्ने यतिको दाऊ रहेको किंवदन्ती छ ।

त्यसैले आज पनि यति मान्छेसँग बदला लिन बेला बेला देखिने गरेको स्थानीयको भनाइ रहेको छ ।

शेर्पाहरुमा लोकप्रिय अर्को पनि कथा छ । हिममानव यति घाम चर्किने बित्तिकै बिशाल र बलवान हुने गर्छ । त्यसबेला उसलाई देख्ने मान्छेले आफ्नो सम्पूर्ण शक्ति गुमाउने र बेहोस हुने बताइन्छ ।

केही मानिसले यतिलाई त्रास बढाउने एक कल्पनाको रुपमा पनि लिने गरेको ढकालको भनाइ छ । पहाडी क्षेत्रमा बस्ने मानिसहरुमा कुनै पनि समस्या निडर भएर सामना गर्नका लागि तयार रहन पनि यतिको डर देखाइएको मान्ने गरिन्छ ।

यद्यपि, जब पश्चिमी देशका मानिसहरु हिमाल आरोहणका लागि जान थाले । यो लोककथाको पात्र यतिबारे अझ चर्चा बढेर गयो । साथै, यसले संसारभर सनसनी नै मच्चायो ।

पश्चिमी देशमा यति कसरी लोकप्रिय बन्यो ?

बेलायतका तत्कालिन राजनेता तथा अन्वेषक चाल्र्स होवार्ड केही मानिसहरुको साथमा सगरमाथा हिमाल आरोहणमा गएका थिए । बाटोमा उनले केही ठूला पदचिन्ह भेटेका थिए । उनले उक्त पाइला मान्छे तथा भालु जस्तो कुनै जीवको पदचिन्ह भएको बताएका थिए ।

जब उक्त आरोहण दल हिमालबाट फर्किए त्यसबेला पत्राकार हेनरी न्यूम्यानले उनीसँग कुराकानी गरेका थिए । उनले मान्छे तथा भालु जस्तो जीवलाई अनुवाद गर्दा फोहोरी तथा नराम्रो भनी उल्लेख गरेका थिए । यो गलत रिपोर्टिङपछि पश्चिमी देशहरुमा हिममानव यतिको चरित्र लोकप्रिय बन्न पुगेको बताइन्छ ।

सन् १९५० को दशकसँगै पश्चिमी देशका नागरिकहरु यति भेटिने आशामा नेपालको हिमाली क्षेत्रमा आउने क्रम बढेको पाइन्छ । हलिउड स्टार जेम्स स्टिवर्टले यतिको एउटा औँली फेला पारेको दावी नै गरेका थिए । पछि सन् २०११ मा गरिएके डिएन परीक्षणमा उक्त औँला मान्छे भएको पत्ता लागेको थियो । यतिबारे यसक्रममा पदचिन्ह भेटिएको, अनौठो आकृतिको तस्विर र यतिलाई देखेको जस्ता आश्चर्यचकित दावीहरु धेरै बाहिर आए । केही व्यक्तिले यतिको खप्पर, रौँ, हड्डीको टुक्रा भेटेको पनि दावी गरे । परीक्षणमा ति सबै कुनै जनावरको अंग भएको पत्ता लागेको थियो । भालु, हिरण र बाँदरको अंग भएको पुष्टि भएको थियो ।

यतिबारेको अहिलेसम्म ठोस प्रमाण नभेटिए पनि यसको चर्चा भने बेला–बेला बाहिर आइनै रहेका छन् । बेला–बेला आइरहने यतिबारेको विभिन्न चर्चाले यो धर्तिमा यसको सम्भावना छ भन्ने कुरालाई भने बल पुगिरहेको छ । जसका कारण मानिसहरुमा यति छ भन्ने कुरामा विश्वास पनि बढ्दै गएको देखिन्छ ।

यसैबीच, बेलायति पर्वतआरोही रिनहोल्ड मेसनरको एउटा खोजलाई मान्ने हो भने यति वास्तवमा एक भालु हो । उनले यतिलाई देखेको दावी गरेका छन् । उनले थुप्रै पटक यतिलाई देखेको बताएका छन् । उनले पहिलो पटक सन् १९८० को दशकमा हिमालको काखमा यतिलाई देखेका थिए । उनले यति अरु कुनै जनावर नभएको बताएका छन् । वास्तवमा हामीले भनिरहेको यति हिमाली ठूलो भालु रहेको उनको भनाइ छ ।
उनकाअनुसार वास्तविक भालु र शेर्पाहरुको किस्साको काल्पनिक पात्र मिलेर यतिको किम्वदन्ती बनेको हो ।

केही मानिसहरुमा मानवको कुनै प्रजाति छ भन्ने मान्यता छ । उक्त प्रजाति हिमाली गुफामा लुकेर बस्छ भन्ने बुझाइ छ ।

रुसको साइबेरियामा सन् २००८ मा डेनिसोवान्स नामको मानव प्रजातिको प्रमाण फेला परेको थियो । उक्त प्रजातिका मानवको त्यस क्षेत्रमा हजारौँ वर्षसम्म बसोबास रहेको मानिएको छ । यद्यपि, उक्त प्रजाति ४० हजार वर्ष पहिल नै समाप्त भएको थियो ।

अझै पनि मानव प्रजातिको बोनबोस तथा ओरांगउटानको अस्थित्व यो पृथ्वीमा रहेको अवस्थामा हिमाली क्षेत्रमा मानव जस्तो ठूलो प्राणी लुकेर बस्न सक्ने कुरालाई खोजकर्ताहरुले अस्वीकार गर्न सकेका छैनन् ।

यतिबारे अहिलेसम्म पुष्टी हुने कुनै प्रमाण फेला परेको छैन । यद्यपि, रहस्यको गर्वमा रहेको यतिबारे मानिसहरुको खोजी जारी रहने अनुसन्धानकर्ताहरुको भनाइ छ । कुनै प्रमाण भेटियोस् या नभेटियोस् । जबसम्म मानिसहरु लोक कथा, किम्वदन्ती तथा किस्सामाथि विश्वास गरिरहन्छन्, तबसम्म यति जीवित रहने छ ।

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल