कास्की- राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा महानगरपालिका–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् । सहारा क्लब पोखराले सञ्चालन गरेको सो एकेडेमीको निरीक्षणका क्रममा उनले एकेडेमीको विकासका लागि परिषद्बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एकेडेमीमा रहेका बालकको उच्च शिक्षाको अध्ययनको लागिसमेत आवश्यक सहयोग गर्ने सिलवालले प्रतिवद्धता जनाए ।
सो अवसरमा उनले एकेडेमीको भौतिक पूर्वाधार लगायतका बारेमा जानकारी लिएका थिए । करीब २६ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा हाल १६ जिल्लाका २४ बालक आश्रित छन् ।
सदस्य सचिव सिलवालले सहारा एकेडेमीको खेल मैदान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को प्रशिक्षणका लागि उपयुक्त रहेको बताउनुभयो । एकेडेमीको मैदान साग महिला फुटबलको अभ्यासका उपयुक्त रहेको उनको भनाइ थियो ।
सहारा क्लबको प्रयासलाई सफल पार्न आग्रह गर्दै उनले भने, “सहारा एकेडेमीको बारेमा सञ्चार माध्यमबाट जान्ने अवसर पाएको थिएँ, आज एकेडेमीमा आउँदा मेरो इच्छा पूरा भएको छ । एकेडेमीको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ ।”
सहराका अध्यक्ष केशवबहादुर थापाले सदस्य सचिव लगायतलाई एकेडेमीको अवस्था बारेमा जानकारी गराएका थिए । राखेपका सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा युकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङलगायत सहभागी थिए ।
प्रतिक्रिया