ब्राजिल स्वतन्त्रताको नालीबेली | Khabarhub Khabarhub

ब्राजिल स्वतन्त्रताको नालीबेली


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १४९३ मा क्रिष्टोफर कोलम्बसले नयाँ संसार पत्ता लगाएको समाचार युरोपमा पुगिसकेको थियो । यो समाचार थाहा पाएर पत्ता लागि सकेका र पत्ता लाग्न बाँकी नयाँ संसारका भूमि र समुद्रमा आफ्नो एकाधिकारका लागि तत्कालीन स्पेनी नरेश फर्डिनाण्ड र एसाबेलाले क्याथोलिक पोपको समर्थन मागे ।

यसका लागि अफ्रिकी तट पारी आन्ध्र महासागरमा रहेको केप भर्दे टापुबाट १ सय लिग पारीका सबै नयाँ संसारका भूमि र समुद्रमा स्पेनको एकाधिकार सुनिश्चित गर्न पोप अलेक्जाण्डर द सिक्स्थसमक्ष समर्थनको माग गरिएको थियो । त्यतिबेला पोर्चुगलको अधिनमा रहेको केप भर्दे टापुबाट १ सय लिग सम्म मात्र पोर्चुगलको प्रभाव क्षेत्र सिमित रहनेगरी स्पेनले त्यसबेला पोपको समर्थन मागेको थियो । स्पेनी मूलका पोपले एक धर्मादेश जारी गर्दै स्पेनको मागमा समर्थन जनाए ।

हुन त त्यतिबेलासम्म पोर्चुगलले अफ्रिकी तटतिर दास व्यापारका लागि केन्द्रहरु स्थापना गरिसकेको थियो । तर, क्रिष्टोफर कोलम्बसले नयाँ संसार पत्ता लगाएको समाचारले युरोपमा चलिरहेको खोजी युगमा क्रान्ति नै ल्याइदिएको थियो । नयाँ संसारमा आफ्नो एकाधिकारको मागबाट त्यतिबेलाको सबैभन्दा ठूलो खोजकर्ता मुलुक तथा नौसैनिक शक्ति पोर्चुगल असन्तुष्ट भयो ।

त्यसपछि सन् १४९४ मा स्पेनको टोर्देसिलास शहरमा पोप अलेक्जाण्डर द सिक्स्थको मध्यस्थतामा नयाँ संसारको विभाजनका लागि सन्धी भयो । सन्धी अनुसार पोर्चुगलको प्रभाव क्षेत्र केप भर्दे टापुबाट ३ सय ७० लिग पर सार्ने सम्झौता भयो । यसअनुसार पोर्चुगलले अझै पत्ता नलागिसकेको दक्षिण अमेरिकामा पत्ता नलागिसकेको अहिलेको ब्राजिलमा समेत आफ्नो नियन्त्रण स्थापना गर्न सक्ने अवस्था आयो ।

सन् १५०० को वर्षमै विख्यात पुर्तगाली खोजकर्ता पेद्रो अल्भारेज काब्रालले नेतृत्व गरेको पानी जहाजको लस्करले सुख्खा जमिन टेक्ने बित्तिकै पोर्चुगलले दक्षिण अमेरिकामा उपनिवेश स्थापना गराउने दिशामा कदम चालिसकेको थियो । त्यसपछिका केही दशक पोर्चुगलले दक्षिण अमेरिकामा आफ्नो ध्यान प्राकृतिक सम्पदाको दोहन गर्न र नयाँ भूमि पत्ता लगाउन मात्र केन्द्रित ग¥यो ।

शुरुका केही वर्षमा पोर्चुगलले दक्षिण अमेरिकाबाट ब्राजिलउड नामको काठ पनि युरोपतर्फ पैठारी गथ्र्याे । यो काठ त्यतिबेला युरोपका अभिजात वर्गका मानिसहरुले कपडा रंगाउने सामान बनाउन उपयोग गर्थे । त्यसबाहेक त्यो काठ वाद्यवादनको सामग्री भ्वायलिन बनाउन पनि उपयोग हुन्थ्यो ।

टोर्देसिलासको सन्धीविरुद्ध अनाधिकृत रुपमा फ्रान्सलगायतका अन्य युरोपेली शक्तिले दक्षिण अमेरिकामा रहेको पोर्चुगलको प्रभाव क्षेत्रमा खोजी तथा प्राकृतिक सम्पदाको दोहन गर्ने काम गरिरहेको खबर पोर्चुगिज दरबारमा पुग्यो । पोर्चुगलको दरबारले दक्षिण अमेरिकामा विदेशी प्रतिस्पर्धीको प्रभाव कम गर्न र प्राकृतिक साधनको दोहन तीब्र पार्नका लागि सन् १५३४ मा उपनिवेश बनाउने घोषणा ग¥यो । त्यसअनुसार दक्षिण अमेरिकामा औपचारिक पोर्चुगिज उपनिवेशको घोषणा भयो ।

त्यसपछि त्यहाँका स्थानीय जातीय समुदायलाई एक अर्का विरुद्ध लडाएर, सन्धी सम्झौता गरेर अथवा व्यापक सैनिक करबाही चलाएर पोर्चुगलले दक्षिण अमेरिकामा उपनिवेश विस्तार ग¥यो । १६ औं शताब्दीका मध्यतिर त्यहाँ उखुको उत्पादन बढ्न थाल्यो । उखु उत्पादनमा काम गर्नका लागि पोर्चुगलले त्यहाँ आफ्नो अफ्रिकी उपनिवेशबाट भारी मात्रामा दास ल्याउन थाल्यो । ब्राजिलमा उखु उत्पादनको क्रम त्यसपछिका दुई शताब्दीसम्म चल्यो ।

त्यसपछि १७ औं शताब्दीमा ब्राजिलको दक्षिणी मिनास गेर्सियास क्षेत्रको पहाडी इलाकामा सुन पत्ता लाग्यो । सुन पत्ता लागिसकेपछि युरोपबाट ठूलो संख्यामा गोरो छाला भएका मानिसहरु ब्राजिलमा ओइरिन थाले । अफ्रिकाबाट सुनको उत्खनन, प्रशोधन तथा पैठारीका लागि कालो छाला भएका दासहरु पनि ब्राजिलमा आउन थाले । उखु किसान पनि खेतीपाती छाडेर सुनतर्फ आकर्षित भए ।

त्यसपछि ब्राजिलमा अन्तर वर्णका मानिसहरुबीच विवाह गर्ने क्रम बढेर गयो । गोरा र काला तथा स्थानीय जातीय समुदायका मानिसहरुले बनेको सामाजिक संरचनाले गर्दा युरोपेली पोर्चुगिजलाई त्यहाँ शासन गर्न समस्या परिरहेका बेला तत्कालीन सामाजिक संरचना भत्काउन र नयाँ सामाजिक संरचना बनाइ त्यसबाट शासन गर्न सजिलो हुने भएकाले युरोपेली पोर्चुगिजले पनि ब्राजिलमा अन्तर वर्ण विवाहलाई प्रोत्साहन गर्न थाले । यसबाट ब्राजिलमा विशेष मुलात्तोज, मेसिट्जोस र अन्य जातीय समुह सतहमा आउन थाले ।

नयाँ भूभागमा आफ्नो नियन्त्रणसम्बन्धी विषयमा पोर्चुगिज र स्पेनी साम्राज्यबीच अठारौं शताब्दीको मध्यमा युद्ध भयो । सन् १७३५ र १७३७ सम्म चलेको युद्धपछि सन् १७५० मा मड्रिडमा भएको सन्धीले वर्तमान ब्राजिलको सीमाना निर्धारण ग¥यो ।

नयाँ संसारमा स्पेनले भाइसरोय अर्थात् राजाको प्रतिनिधित्वअन्तर्गत् शासन चलाउँथ्यो । तर, पोर्चुगलले भने ब्राजिलमा क्यापिटान्सिप शैलीको एकात्मक तथा प्रत्यक्ष शासन चलायो । यसबाट दक्षिण अमेरिकामा पोर्चुगलको उपनिवेश रहेको ब्राजिल स्पेनी उपनिवेशका अरु मुलुकजस्तो विभिन्न राज्यमा विभाजित हुन पाएन ।

१८ औँ शताब्दीको अन्त्यसँगै फ्रान्समा तत्कालीन नरेश लुई द सिक्सटिन्थ र रानी मेरी अन्टोनेट फ्रान्सेली क्रान्तिको शिकार भइसकेका थिए । फ्रान्सेली क्रान्तिले १८ औँ शताब्दीसँगै फ्रान्समा राजतन्त्रको पनि अन्त्य गरिदिएको थियो ।

फ्रान्सेली राज्य क्रान्तिपछि १९ औं शताब्दीको शुरुमा नेपोलियन बोनापार्टको उदय भइसकेको थियो । बिजुली चम्केको गतिमा सैनिक आक्रमण गरी उनले अरु युरोपेली राज्यलाई आफ्नो नियन्त्रणमा लिँदै आइरहेका थिए । त्यसै क्रममा सन् १८०७ मा स्पेनसँग मिलेर नेपोलियनको फौजले पोर्चुगलमा विशाल आक्रमण ग¥यो । यसबाट भागेर मानसिक सन्तुलन ठिक नभएकी तत्कालीन पुर्तगाली महारानी मारिया द फस्र्ट र उनको प्रतिनिधिका रुपमा शासन गरिरहेका उनका छोरा तथा युवराज जोन द सिक्स्थसहितको लस्कर भागेर ब्राजिलको रियो द जेनेरियो पुगे ।

यसले ब्राजिलको इतिहासमै अभूतपूर्व अध्याय शुरु भयो । यसअघि इतिहासमा कुनै पनि औपनिवेशिक शक्तिका शासक भागेर उपनिवेशित मुलुक पुगेका थिएनन् । त्यसपछि ब्राजिलबाट पुर्तगाली साम्राज्यको शासन सुरु भयो । सन् १८०७ मा ब्राजिलबाट पोर्चुगलमा हुँदै आएको शासनले सन् १८१५ मा नयाँ मोड लियो । त्यसअघि सन् १८१४ मै युरोपमा नेपोलियनको साम्राज्यको पतन भइसकेको छ ।

ब्राजिलबाट शासन गरिरहेको पोर्चुगलको राजसंस्थाले सन् १८१५ मा पोर्चुगल, ब्राजिल तथा एशिया र अफ्रिकामा रहेको पुर्तगाली उपनिवेशलाई मिलाएर पोर्चुगल, ब्राजिल र अलगार्भेजको संयुक्त अधिराज्य घोषणा ग¥यो । यसअन्तर्गत दक्षिण अमेरिकी मुलुक ब्राजिलले उपनिवेशले पुर्तगाली राजसंस्था अन्तर्गत अधिराज्यको मान्यता पायो ।

सन् १८१६ मा महारानी मारियाको निधन भयो । त्यसपछि पुर्तगाली शासनमा आए जोेन द सिक्स्थ । उनले पनि केही वर्ष पोर्चुगल, ब्राजिल र अलगार्भेजको संयुक्त अधिराज्यको शासन ब्राजिलबाटै चलाए । त्यससछि सन् १८२० मा पोर्चुगलमा कट्टर उदारवादी क्रान्ति सुरु भयो । क्रान्तिपछि पोर्चुगलको राजसंस्था सन् १८२१ मा पोर्चुगलको राजधानी लिस्बन नै फर्कियो ।

राजा जोन द सिक्स्थ पोर्चुगल फर्किनेबेला उनले आफ्ना छोरा पेद्रोलाई ब्राजिली अधिराज्यको उत्तराधिकारी बनाएका रहेछन् । पोर्चुगलमा भएको कट्टर उदारवादी क्रान्तिपछि त्यहाँ प्रतिनिधिसभाको गठन भयो भने राजाको अधिकार सिमित पारियो । राजा संवैधानिक मात्रै हुने भए । त्यसलगत्तै प्रतिनिधिसभाले ब्राजिलले पाउँदै आएको स्वशासनको अधिकारी फिर्ता गर्ने कदम चाल्यो ।

यसबाट ब्राजिलमा ठूलो असन्तोष पैदा भयो । राजनीतिक संकटका माझ ब्राजिली शासनका उत्तराधिकारी पेद्रोले सन् १८२२ मा सेप्टेम्बर ७ मा ब्राजिल स्वतन्त्र भएको घोषणा गरे । लगत्तै उनले त्यसै वर्षको अक्टोबर १२ मा ब्राजिली साम्राज्यको घोषणा गरी आफ्ना बाबु तथा पोर्चुगलका राजा जोन द सिक्स्थलाई ब्राजिली सम्राट घोषणा गरे ।

त्यसलगत्तै ब्राजिलमा पोर्चुगलप्रति वफादार सैनिक तथा स्वतन्त्रता पक्षधर सेनाबीच ब्राजिली स्वतन्त्रताको संग्राम शुरु भयो । स्वतन्त्रता संग्राम सन् १८२५ सम्म चल्यो । पोर्चुगलले ब्राजिललाई सन् १८२५ मा स्वतन्त्र मुलुकको मान्यता दिएपछि अन्ततः ब्राजिल स्वतन्त्र भयो ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ४८ बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल