काठमाडौं– बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ ।
अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । संयुक्त राष्ट्र संघ (युएन)को विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस क्यानडामा पनि हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल व्यक्ति २०७४ चैत २४ गते मण्डन देउपुर काभ्रेबाट बाल यौन दुराचारीको आरोपमा समातिए । अहिले उनी काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
चाल्स शोभराज र पिटर जोन ड्यालग्लिस मात्र होइन, गत माघ ५ गते बेलायती नागरिक इयान रोवट कोल पनि बालयौन दुराचारको आरोपमा समातिए । अहिले उनले पनि जेल जीवन बिताइरहेका छन् । विभिन्न आपराधिक क्रियाकलपामा संलग्न भएर नेपाली जेलमा रहेका यी तीन व्यक्ति प्रतिनिधि पात्र हुन । अहिने नेपालको जेलमा १ हजार १ सय २५ जना विदेशी कैदी बन्दी छन् ।
विभिन्न अपराधमा संलग्न उनीहरु नेपालका ७४ कारागार र ३ बाल सुधार गृहमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । नेपाली जेलमा बस्ने कैदीबन्दीको संख्यो २० हजार ८ सय ७२ छ ।
विभागका महानिर्देशक हरिप्रसाद मैनालीका अनुसार, सवैभन्दा बढी २ सय ९ जना विदेशी कैदीबन्दी काठमाडौंको सुनधारास्थित जगन्नाथदेव कारागारमा छन् । त्यस्तै पर्सा, झापा, मोरङ, सुनसरी, ललितपुर, कैलालीलगायतका ३४ वटा कारागारमा विदेशी कैदीले जेलजीवन भोगिरहेका छन् ।
कुन कारागारमा कति विदेशी कैदीबन्दी ?
काठमाडौं जगन्नाथदेव कारागार – २०९ जना
पर्सा जिल्ला कारागार – १९८ जना
झापा जिल्ला कारागार – ९३ जना
क्षेत्रीय कारागार सुनसरी, झुम्का – ८१ जना
ललितपुर नख्खु कारागार – ८१ जना
मकवानपुर जिल्ला कारागार – ५३ जना
बा“के जिल्ला कारागार – ५२ जना
मोरङ जिल्ला कारागार – ४४ जना
कैलाली जिल्ला कारागार – ३२ जना
डिल्लीबजार जिल्ला कारागार – २७ जना
महोत्तरी जिल्ला कारागार – २६ जना
कास्की जिल्ला कारागार – २६ जना
रौतहट जिल्ला कारागार – २३ जना
रामेछाप जिल्ला कारागार – २३ जना
रुपन्देही जिल्ला कारागार – २० जना
चितवन जिल्ला कारागार – १९ जना
कञ्चनपुर जिल्ला कारागार – १६ जना
सप्तरी जिल्ला कारागार – १४ जना
कपिलवस्तु जिल्ला कारागार – १३ जना
नवलपरासी जिल्ला कारागार – १३ जना
पाल्पा जिल्ला कारागार – १२ जना
अन्य – ५७ जना
जम्मा – ११२५
स्रोत कारागार व्यवस्थापन विभाग
भारतीय कैदी धेरै
नेपाली जेलमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै भारतीय रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीले बताए । कारगारमा रहने कैदी मध्ये चिनियाँ नागरिकको संख्या दोस्रो स्थानमा छ ।
नेपालमा पक्राउ पर्नेमा अधिकांश लागूऔषध कारोबारमा संलग्नहरु छन् । केही यौन दूराचारी पनि रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, कारागारमा रहेका कैदीमध्ये पाकिस्तानी र भारतीय नागरिक जालिनोट, नागरिकता तथा राहदानी कीर्ते साथै लागूऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् ।
यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीहरू लागुऔषध कारोबार तथा कीर्ते राहदानीमा मुद्दामा संलग्न छन् ।
नियम अनुसार, नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।
विदेशी कैदी पाल्दा वार्षिक ७ करोड स्वाहा !
अहिले सरकारले जेल जीवन बिताईरहेका कैदीबन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैया“ पैसा दिंदै आएको छ । यस बाहेक दशैं खर्च, सुत्केरी खर्च, लत्ताकपडा, औषधी उपचारलगायत पनि कैदीले पाउँछन् ।
१ जना कैदीबन्दी बापद् औषत रुपमा मासिक ५ हजार रुपैयाँ खर्च हुने कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागकै तथ्यांकलाई आधार मान्दा कारागारमा रहेका कैदीको रासन र भक्ता बापत मासिक ५६ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ । जुन रकम वार्षीक रुपमा ६ करोड ७५ लाख रुपैयाँभन्दा बढी हुन्छ । योसँगका अन्य भैपरी खर्च हेर्दा ७ करोड बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च भइरहेको छ ।
प्रतिक्रिया