काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज तेस्रो दिन । आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागको तेस्रो दिन काठमाडौं र पोखरा १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागको दोस्रो दिनसम्म हिजो नेपाल १५ स्वर्णसहित २४ पदक जितेर शीर्ष स्थानमा छ ।
सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।
फुटबल
सागको तेस्रो दिन पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।
सिनियर ३ खेलाडीको साथ पाएको नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।
महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल विहान १० बजे शुरु हुनेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।
भलिबल
साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे शुरु हुनेछ ।
पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।
क्रिकेट
साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू-२३ टिमसँग खेल्दै छ ।
टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्ने हो भने श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ ।
यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।
उसु
सागको तेस्रो दिन मंगलबार उसुका खेलहरु सुरु हुनेछ । आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट शुरु हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल बिहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । पहिलो दिन नेपालले २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।
सुटिङ
सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ ।
यस्तै पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।
तेक्वान्दो
तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।
तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो ।
मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ ।
५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।
एथ्लेटिक्स
मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्न भएको हो ।
तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।
खो खो
खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
कराते
साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुने । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट शुरु हुनेछ ।
सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।
ब्याडमिन्टन
पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।
गल्फ
गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।
टेबल टेनिस
टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।
टेनिस
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् ।
पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ ।
महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।
ट्रायथलन
पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट शुरु हुने छ ।
सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते ।
साइक्लिङ
साग अन्तर्गत साइक्लिङको स्पर्धा मंगलबारबाट शुरु हुनेछ । तर, औपचारिक प्रतिस्पर्धा भने बुधबारबाट शुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ।
प्रतिक्रिया