राजधानीमा कहालिलाग्दो टिपर आतंक, निसानामा बाइक र स्कुटर | Khabarhub Khabarhub

राजधानीमा कहालिलाग्दो टिपर आतंक, निसानामा बाइक र स्कुटर



काठमाडौं– भदौ ८ गते आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो चार जना घाइते बने । तीव्र गतिमा दौडिरहेको टिपरले एक साथ तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

गत बर्ष असार ८ गते पेप्सीकोलाबाट सानोठिमीतर्फ जाँदै गरेको स्कुटरलाई बिहानै साढे ५ बजे टिपरले स्कुटर चालक ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भयो । लगत्तै असार ३० गते पुनः जडिबुटीमा टिपरकै ठक्करबाट काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भयो।

टिपर तथा ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यी घटना नौला भने होइनन्। यस अघि पनि पटक–पटक यस्ता घटना दोहोरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार, काठमाडौं उपत्यकामा पछिल्लो तीन बर्षमा मात्र ६२ जनाले टिपरको ठक्करबाट ज्यान गुमाएका छन् ।

टिपरको ठक्करबाट कहिले कतिको मृत्यु ?


– आर्थिक बर्ष २०७३/७४ – १९ जना

– आर्थिक बर्ष २०७४/७५ – २१ जना

– आर्थिक बर्ष २०७५/७६ – २१ जना

– चालु आर्थिक बर्ष – १ जना (भदौ १२ गते सम्म)


बाइक र स्कुटरसँगको दुर्घटना धेरै
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार, आर्थिक बर्ष २०७३/७४ मा दुर्घटनामा परि मोटरसाइकल तथा स्कुटरमा सवार ७७ जनाले ज्यान गुमाए । यो संख्या आर्थिक बर्ष २०७४/७५ मा बढेर १ सय ११ पुग्यो । आर्थिक बर्ष २०७५/७६मा झनै बढेर १ सय १५ पुग्यो । चालु आर्थिक बर्षको एक महिनाको अवधिमा पनि मोटरसाइकल तथा स्कुटरमा सवार ८ जनाले दुर्घटनामा परि ज्यान गुमाइसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तका अनुसार, टिपरको ठक्करबाट ज्यान गुमाउनेमा पनि सबै भन्दा बढी मोटरसाइकल तथा स्कुटर चालक नै छन् ।

ट्राफिक महाशाखाको कमाण्ड सम्हालिसकेका पूर्वडिआइजी केशवअधिकारीका अनुसार पनि सामान्यतयाः बढी जसो बाइक र स्कुटर नै टिपरको निसानामा पर्ने गरेका छन् । उनका अनुसार, होचा र छरितो भएकाले मोटरसाइकल र स्कुटर सानासाना ठाउँमा समेत सजिलै छिर्छन् त्यसले पनि उनीहरु बढीजसो दुर्घटनाको सिकार बन्छन् ।

दुर्घटनाको जोखिम किन ?

टिपर तथा ट्रक व्यवसाय समितिका अध्यक्ष यादवलाल श्रेष्ठ भन्छन्– सामान्तया टिपर ढुंगा, गिट्टी बालुवा लगायतका सामान बढि परिणाममा बोक्न सकिने हिसाबमा बनाइएको हुन्छ । लामो लामो दुरी सम्म सहजै पुग्न सक्ने टिपरको खराब पक्ष भनेकै ‘ग्राउन्ड लेभल’ देख्न नसक्नु हो। जब उसले ग्राउण्ड लेभल देख्न सक्दैन त्यो समयमा तलबाट मोटरसाइकल तथा स्कुटर ओभरटेक गरे या अनियन्त्रित रुपमा नजिकै आएभने दुर्घटना हुने खतरा बढी रहन्छ ।

यो कुरामा पूर्वडिआइजी अधिकारी पनि सहमत छन् । उनी भन्छन् – एउटै दिशामा जाँदा टिपर चालकले आफू भन्दा अगाडिको सवारी साधन राम्रो सँग देखेपनि आफ्नो मुनि या देब्रे साइड तर्फको सानो सवारी देख्न सक्दैनन् । किनकी टिपरको बनावट नै त्यस किसिमको हुन्छ । अझ देब्रेतिरको चक्का समेत ‘लुकिङ ग्लास’ मा देखिदैन। यसबाहेक लोड भएका बोला भनेको ठाउँमा ब्रेक नलाग्ने समस्या पनि हुन्छ । यसले दुर्घटनाको जोखिम बढी रहन्छ ।

यसबाहेक नीतिगत कमजोरीका कारण समस्या थपिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको एसएसपी पन्तका अनुसार, चालक निकै कम उमेरका भएकाले जिम्मेवारीपूर्वक गाडी नचलाउने र अनुभव कम हुने हुँदा पनि समस्या बढेको छ । उनी भन्छन् – अहिले टिपर चलाउनेमा धेरैजसो युवा र कम उमेरका चालक छन् । उनीहरुको आलोकाँचोपना र प्रतिस्पर्धाको भावले समस्या बढिरहेको छ ।

अर्कातिर काठमाडौं उपत्यका, घना बस्ती र सवारी साधनको एकदमै चाप हुने स्थान हो । यसरी बढी सवारीको चाप हुने स्थानमा चालकले ध्यान नदिर्ईदा समेत दुर्घटना बढेको पूर्वडिआइजी अधिकारी बताउँछन् ।

काठमाडौंमा मात्रै दैनिक कुद्छन् ४ हजार टिपर

जिल्ला समन्यव समितिको तथ्याङ्क अनुसार, गिट्टी, बालुवा निकासी करबापत समितिले दैनिक ४ हजार वटा विल काट्छ । यसलाई हेर्दा राजधानीको भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि दैनिक ४ हजार वटा टिपर राजधानी ओहोर/दोहोर गर्छन् । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिका अनुसार, राजधानीमा विभिन्न नाका भएर एकसाथ २५ सय टिपर भित्रन्छन् ।

टिपरबाट हुने दुर्घटना न्यूनीकरण गर्ने भन्दै सरकारले एक वर्षअघि टिपर आवतजावतका लागि ‘टाइम कार्ड’ लागु गरेको थियो । सोही अनुरुप अहिले काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट टिपर बालुवा, ढुंगा, गिट्टी लगायत सामान बोकर काठमाडौं उपत्यका भित्रने नाकाहरुमा आएर लाइन लागेर बस्छन् ।

जब बेलुकी ८ बज्छ तब उनीहरु एकसाथ सडक नै ढाकेर उपत्यका भित्रन्छन् । टिपर सडकमा हिड्न थलेपछि मुख्य नाका र रिङरोडको बाटो भएर यात्रा गर्ने अन्य सवारीलाई बाटोमा हिड्न समेत समस्या हुन्छ । हुनपनि एकैपटक पूरै सडक ढाकेर आउने टिपरले सडक नै कब्जा गर्छन् । जसले सडकमा हिड्ने सर्बसाधारणलाई समेत त्राहीमाम बनाउँछ ।

दुर्घटना नियन्त्रण प्रयास असफल

टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न प्रयास गरिहेको छ । कहिले रातिमात्र गुड्न दिने त कहिले टाइमकार्डको प्रयोग गर्ने । तर यी सबै प्रयास प्रभावकारी हुन सकेको छैन त्यसैको परिणाम दुर्घटना बढिरहेको छ ।

अझ नेपाल टिपर तथा ट्रक व्यवसायी संघले त सवारी दुर्घटना नगराउने चालकलाई पुरस्कार समेत वितरण गरको थियो । यसबाहेक स्थानीय स्तरमा पटक पटक सडक अवरुद्ध गर्ने काम पनि भयो । यता दुर्घटना बढेको भन्दै विप्लव समुहले समेत केहि स्थानमा टिपर नै जलाएर यातायात ठप्प पारे । तर विडम्बना साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दा पनि टिपरको आतंक रोकिएको छैन ।

प्रहरीको आँकडा हेर्न हो भने अहिले सम्मका टिपर दुर्घटनामा ९० प्रतिशत चालकको लापरवाही भएको देखिन्छ । तर, टिपर तथा ट्रक व्यवसाय समितिका अध्यक्ष श्रेष्ठ भने टिपरका चालकको कारण मात्र दुर्घटना बढेको स्वीर्कादैनन् । उनी भन्छन् –दुई पाङ्ग्रे तथा साना सवारी मनपरी रुपमा हिड्दा समस्या बढीरहेको छ ।

पूर्वडीआईजी केशव अधिकारी दुर्घटना न्यूनीकरणका लागि टिपर आतंक रोक्नु पर्ने बताउँछन् । उनी भन्छन् – यसका लागि दण्ड जरिवाना सम्बन्धि अहिले भएको व्यवस्था नै संशोधन गर्नुपर्छ । अर्कातिर नियनकारी निकायको फितलो अनुगमन, चालकमा देखिएको शिक्षाको कमी जस्ता समस्या पनि छन् । यस तर्फ पनि सबै सरोकारवालाको ध्यान पुग्नुपर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : २६ बजे

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख

बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत्

कृषकलाई आलुको बीउ अनुदानमा वितरण

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको

वादी समुदायका घरघरमा पुगे खानेपानीका धारा

नौमूले– घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय