काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफमा नै पेनाल्टी मार्फत गोल गरेर नेपालले अग्रता लिएपछि खेलको अतिरिक्त समयमा आएर श्रीलंकाले गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।
उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भएका थिए ।
खेलको ९० औं मिनेटको समयसम्म नेपाल १–० ले अगाडि रहेपनि थपिएको ४ मिनेटको समयमा श्रीलंकाका एमएस जुद सुवमनले गोल फर्काए ।
१–१ गोलको बराबरीसँगै बुधबारको खेलबाट दुवै टोलीले समान १–१ अंक बाँडेका छन् ।
प्रतिक्रिया