हामी किन ? | Khabarhub Khabarhub

हामी किन ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजबाट हामी तपाईंहरूमाझ खबरहबडटकम मार्फत जोडिन आइपुगेका छौं । समाचार, विचार, सूचना, मनोरञ्जन, खेलकुदलगायत सामग्रीको विश्वसनीय स्रोतका रूपमा हाम्रो यात्रा शुरु भएको छ । खबरहबको यात्रा रहर या लहडको भरमा नभई लामो योजना, अनुसन्धान, परिश्रम, प्रविधि र सक्षम जनशक्तिको संयोजनबाट गरेका हौं । प्रविधिको व्यापकतासँगै नेपालमा बढ्दो अनलाइन पोर्टलको संख्या र गुणस्तरलाई मनन गर्दै फरक शैली र व्यावसायिक योजनाका साथ हामीले डिजिटल पत्रकारिताको यात्रा तय गरेका हौं ।

हाम्रो यात्राको तय हाल विद्यमान सयौंको संख्यामा चलिरहेका अनलाइन पत्रिकाहरूको भीडमा अर्को डिजिटल पत्रिका थप्नु मात्र नभई समग्र पत्रकारिताकै गुणस्तर र व्यावसायिकतामा नयाँ अभ्यासको थालनी गर्नु पनि हो । हाम्रो विश्वसनीयता र निरन्तरताको विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छौं ।

देश र जनताको हितलाई केन्द्रमा राखेर सामग्री पस्कनुबाहेक खबरहबको कुनै स्वार्थ छैन । सम्पादकीय स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक उत्तरदायित्व शिरोधार्य गर्दै हाम्रा दैनिक कार्यहरू सम्पादन हुनेछन् । हामी राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त रही स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता तपाईंहरूमाझ जनाउन चाहन्छौं ।

हाम्रा सामग्रीहरू गलत कार्यको रचनात्मक आलोचनासँगै राष्ट्रिय अंगहरूलाई बलियो बनाउन केन्द्रित हुनेछन् । खबरहबले राष्ट्रियता, भौगोलिक अखण्डता र लोकतान्त्रिक राज्यव्यवस्थाको सवालमा कसैसँग सम्झौता गर्ने छैन । हामीले पत्रकारिताको जिम्मेवारी र अभिभारालाई निकै गहन रूपमा मनन गरेका छौं । अनलाइन पत्रकारितामा बढेको तीव्र प्रतिस्पर्धाको वास्तविक यथार्थलाई हामीले राम्रोसँग मनन गरेका छौं ।

खबरहबडटकम कसैको निहीत स्वार्थ पूरा गर्न नभई जनताको विश्वसनीय डिजिटल पत्रकारिताको मागलाई सम्बोधन गर्न तपाईंहरूमाझ आएको हो । स्वतन्त्र, निष्पक्ष र निडरता यसको विशेषता बन्नेछ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका हरेक घटनाको यथार्थ जानकारी पाठकलाई गराउने दायित्वबाट हामी किमार्थ विमुख हुने छैनौं । खबरहबले तपाईंहरूकोे आशा, भरोसा र विश्वासलाई कदापि कमजोर हुन दिनेछैन ।

डिजिटल प्रविधिमा बढ्दो पहुँच, यसको उपभोग, निर्भरता तथा प्रभावबाट नेपाली समाज पनि मुक्त छैन । बदलिँदो प्रविधिको रूप र माध्यमसँगै डिजिटल पत्रिकातर्फको आकर्षण र पहुँच बढिरहेको छ । यस डिजिटल युगमा अनलाइन पत्रकारिताबाट आम पाठकको मनोभाव प्रतिनिधित्व गर्न सकिन्छ भन्ने हामीले आशा राखेका छौं । स्वतन्त्र, निष्पक्ष, व्यावसायिक र जवाफदेही पत्रकारिताले आम नागरिकको विश्वास मात्र होइन समाजलाई सत्मार्गमा डोर्‍याउन सक्छ भन्ने हाम्रो बुझाइ छ ।

जिम्मेवार र विश्वसनीय डिजिटल पत्रकारिता हाम्रो मुख्य प्राथमिकता हो । हामी पत्रकारिताको नैतिक दायित्वबाट कदापि विमुख हुने छैनौं । राष्ट्रिय बैभवको प्रवद्र्धन गर्ने, मुलुकको शीर ठाडो पार्ने र समृद्ध नेपालको यात्रामा हाम्रो सधैं साथ रहनेछ । हामी तपाईंहरूको सल्लाह, सुझाव, गुनासो र रचनात्मक आलोचना सधैं शिरोधार्य गर्नेछौं ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ३० बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी