अन्तर्राष्ट्रिय

‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’

By खबरहब

April 04, 2019

रुस– भेनेजुएलाका उपविदेशमन्त्रीले रुसले आफ्नो मुलुकमा अझ ठूलो सङ्ख्यामा थप सैनिक पठाउन सक्ने जनाएका छन् । भेनेजुएलाका उपविदेशमन्त्री इभान गिलले भेनेजुएलालाई आवश्यक परेमा रुसले थप सङ्ख्यामा सैनिक पठाउन सक्ने बताएको रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

इन्टरफ्याक्सका अनुसार उनले भेनेजुएला आएका रुसी सैनिक भेनेजुएलालाई आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने समेत जनाएका छन् । उनले रुस र भेनेजुएलाबीच रुसी सेना फिर्ता गर्नेबारे कुनै निश्चित समय नतोकिएकाले रुसी सेना आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने जनाएका हुन् ।

रुस र भेनेजुएलाबीचको सहमति र सैनिक–प्राविधिक सम्झौता अनुसार रुसी सेना भेनेजुएलामा रहेको समेत उनले स्पष्ट पारेका छन् । पछिल्लो समय राजनीतिक संकट चुलिँदै गएको अवस्थामा रुसले दुई साता अघि भेनेजुएलामा १ सयको सङ्ख्यामा सेना पठाएको थियो । अमेरिकाले भने रुसलाई भेनेजुएलाबाट सेना फिर्ता गर्न चेतावनी दिएको थियो ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक तथा संवैधानिक संकट उत्कर्षमा छ । गुआइदोलाई अमेरिकासहितका पश्चिमा मुलुकले राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस र चीनसहित अन्य मुलुकले हाल सत्तामा रहेका निकोलस मादुरोलाई नै मुलुकको औपचारिका राष्ट्रपति मान्दै आएका छन् ।