काठमाडौं– आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।
मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
त्यसो त आमा ममताकी खानी हुन् । हरेक वर्ष आइरहने मातातीर्थ औंसीले कति आमाहरुको मुहारमा हासो छाउँछ भने कति आमाहरुका आँखा रसाउने गर्छन् ।
यो वर्ष शनिबारको दिन मातातीर्थ औंसी परेको हुँदा घरबाट टाढा रहेका धेरै छोराछोरीहरुलाई आमा भेट्न जाने अवसर पनि मिलेको छ । उनीहरुले आमालाई मिठा–मिठा परिकार खुवाएर, राम्रा पहिरानमा सजाउने र एकआपसमा खुसी साट्ने गर्लान् ।
तर, केही आमाहरुका लागि मातातीर्थ औंसी नआइदिएजस्तो पनि हुन्छ । ती आमाहरु जो आफ्ना सन्तानबाट टाढा छन् । बृद्धाश्रममा कसैको साहाराको खोजीमा ।
मातातीर्थ औंसीका अवसर पारी पशुपति क्षेत्रमा रहेको वृद्धा आश्रमका आमाहरुको बारेमा स्थलगत रिपोर्टिङ गर्ने क्रममा उनीहरुले आफ्नो खुसी गुमाइसकेको बताए । अधिकांश आमाहरुले सन्तान हुँदाहुँदै पनि आश्रम आएर बसेको र सन्तानले फर्केर भेट्न नआएको पीडा पोखे ।
शनिबार आश्रमभित्रका आमाहरु आ–आफ्नै सुरमा थिए । वैशाखको चर्को घाममा पनि उनीहरुलाई निकै प्यारो लागे जस्तो देखिन्थ्यो । ‘सन्तान भएर पनि के गर्नु भेट्न आउँदैनन्’ उनीहरु एकआपसमा गफ गर्दै थिए ।
सायद आज आमाको मुख हेर्ने दिन हो भन्ने उनीहरुलाई थाहा भइसकेको थियो । यहीबीचमा आश्रमको कुनामा टुसुक्क बसिरहेकी थिइन् एक आमा । झट्ट हेर्दा कसैलाई सम्झिरहेकी जस्तो देखिन्थिन । एकहोरो टोलाइरहेकी थिइन् उनी ।
नयाँ केटाकेटी देख्नासाथ आफ्नै छोराछोरी आए झै लाग्छ नुवाकोटकी ७६ वर्षीया जानुका अगास्तीलाई । दुई छोराकी आमा हुन् उनी । तर दुवै छोरा भगवानको प्यारो भएपनि सन्तान बिहीन भएकी छिन् ।
जेठो १५ वर्ष र कान्छो १२ वर्षको हुँदा सामान्य रोगबाटै मृत्यु भयो । कोही बालक आउँदा ‘कठै मेरो छोरा भन्छु’ उनले भनिन् । छोराको सम्झनाले होला मुहार मलिन देखिन्थ्यो, सायद परिवार नहुँदाको पीडा महशुस गर्दै थिइन्– उनी ।
‘छोराहरु बाँचेका भए आमाको मुख हेर्ने दिन भेट्न आउथे झैं लाग्छ’ गहभरी आँशु बनाउँदै उनले भनिन् ।
आश्रममा बस्ने अधिकांश आमाहरुको पीडा एउटै थियो । त्यसैले पनि उनीहरुको मुहारमा खुसी देख्न मुस्किल जस्तै भएको थियो । ‘निष्ठुरी सन्तान हुनुभन्दा नहुनु नै जाती ठान्छिन्’ पनौतीको नारायणी श्रेष्ठ ।
नारायणी तीन सन्तानकी आमा हुन् । उनका दुइ छोरा र एक छोरी छन् । तर उनलाई आश्रममा भेट्न कोही आउदैनन् । ‘छोराहरु विदेश छन् रे भन्ने सुनेकी थिएँ’ उनले सुनाइन् ।
७० वर्षीया नारायणी सन्तान भएरै पनि नभएको महशुस गर्छिन् । उनी भन्छिन्, ‘आफन्तले आश्रमसम्म ल्याइदिए, त्यसपछि छोराछोरीसँग कहिल्यै भेट भएन’ । ‘आश्रममै पनि अरुका छोराछोरी आमालाई मिठाइ खुवाउन आउँछन्, तर मेरो कोही आउँदैनन्’ उनले सुनाइन् ।
उनी विगत केही वर्ष अघिसम्म त आमाको मुख हेर्ने दिन आश्रमको ढोका हेरेरै दिन बिताउँथिन् । ‘कहिल्यै छोराछोरी फर्केर आएनन्, अब त आशा मारँे’ उनले भनिन् ।
भनाइ नै छ नि, ‘आमाको मन सन्तानमाथि, सन्तानको मन ढुंगामुढा माथि’ । आमाको मन न हो, सन्तानले जेजस्तो गरेपनि बिर्सन कहाँ सकिन्छ र ? सन्तानलाई सम्झेरै उनी भक्कानिइन् ।
आश्रमको पर्खालमा कपासबाट बत्ती काडेर बसिरहेकी थिइन्–सिन्धुलीकी लक्ष्मी देवी थापा । उनलाई मातातीर्थ औंसीको महत्व लाग्दैन ।
१९९० को भूकम्पमा अभिभावक गुमाइन् उनले । विगत २१ वर्षदेखि उनी पशुपति कै वृद्धाआश्रममा बस्दै आइरहेकी छिन् ।
‘सानै उमेरमा बाआमा गुमाएर होला बिहे गरौँ, आमा बनौँ जस्तो कहिल्यै लागेन’ मुसुक्क हास्दै लक्ष्मीले भनिन् ।
तर आश्रममा बस्न थालेपछि एक व्यक्तिले उनलाई आमा बन्न अनुरोध गरे । भावनात्मक सम्बन्धले उनी आमा पनि बनिन् । उनी भन्छिन्, ‘मैले छोरा भन्थे, खुब माया गथ्र्यो ।’
‘बनाएको छोरो पनि केही वर्षसम्म त आश्रममा मलाइ भेट्न आउथ्यो’ खुशीसाथ उनले भनिन् ।
विगतमा केही वर्ष मातातीर्थ औंशीमा त्यही छोरो आउँदा पनि खुसी लाग्थ्यो, आफ्नै जस्तो ठानेकी थिएँ । ‘पछि उ टाढा हुँदै गएपछि यो दिनको महत्व लाग्न छोड्यो’ उनले भनिन् ।
‘आश्रममा सन्तान हुने आमाहरु नै बिना सन्तान झै बसिरहेका छन्, मेरो त कोही छैनन्’ उनले सुनाइन् ।
त्यसो त आमा शब्दमा नै आत्मीयता जोडिएको हुन्छ । शास्त्रले नै बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरेको छ ।
‘कुपुत्रो जायेत क्वचिदऽपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् । ‘मातृदेवो भवः’ ।
प्रतिक्रिया