वीरमा एमआरआई मेसिन बिग्रिदा बिरामीलाई सास्ती, एम्बुलेन्ससमेत सर्वसाधारणको पहुँच बाहिर | Khabarhub Khabarhub

वीरमा एमआरआई मेसिन बिग्रिदा बिरामीलाई सास्ती, एम्बुलेन्ससमेत सर्वसाधारणको पहुँच बाहिर


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटका पासाङ लामालाई अचानक ढाड दुख्ने समस्या देखियो । स्वास्थ्य जाँचका लागि उनी सोमवार नुवाकोटबाट काठमाडौंको वीर अस्पतालमा आए । हड्डी वा नशा सम्बन्धी रोग हुनसक्ने भन्दै उनलाई वीर अस्पतालले भर्ना लियो ।

लामालाई वीर अस्पतालका चिकित्सकले ढाड दुखाईको कारण पत्ता लगाउन एमआरआई गर्नुपर्ने बताए । तर अस्पतालको एमआरआई मेसिन बिग्रिएको ति नै चिकित्सकले लामालाई जानकारी गराए । एमआरआईका लागि उनले अर्को अस्पताल जानु पर्ने अवस्था आयो ।

यहीक्रममा वीरका तिनै चिकित्सकले उनलाई लाजिम्पाटको सोरिया डाइनोसिस प्रालिमा पठाए । एमआरआईका लागि उनी लाजिम्पाट जान तयार भए । तर लाजिम्पाट जान उनले अस्पतालको एम्बुलेन्स प्रयोग गर्न पाएनन् । उनी ट्याक्सी चढेर अर्को स्वास्थ्य संस्थामा एमआरआईका लागि जान बाध्य भए ।

‘डाक्टरले एमआरआई गर्नुपर्छ भन्नुभयो तर अस्पतालको मेसिन बिग्रेको भन्दै अन्तै पठाई दिनुभयो’ उनले भने, ‘डाक्टरले नै नजिक र राम्रो छ भनेर लाजिम्पाटको निजी संस्थाको नम्बर दिए ।’ अस्पतालले एम्बुलेन्स नदिएकोप्रति गुनासो गर्दै उनले भने, ‘एम्बुलेन्स नै खाली छैन भनेपछि गाह्रो भएपनि ट्याक्सीमै चढेर एमआरआई गरेर आएँ ।’


४ दिनअघिदेखि वीर अस्पतालको न्युरो सर्जरी वर्डामा भर्ना भएका लामालाई चिकित्सकले औषधिको रुपमा सिटामोल मात्रै दिएका छन् ।

‘मलाई टाउँको दुखेको छैन, ढाड दुखेको छ किन सिटामोल दिनुभएको भनेर डाक्टरलाई सोधेकोे सिटामोलले ढाडको दुखाईं पनि कम गर्छ भन्नुभयो’, लामाले खबरहबसँग भने, ‘मलाई दुखाईं कम गर्ने औषधि होइन, ढाडको समस्या के हो ? किन दुख्छ ? पत्ता लगाएर सोही अनुसारको औषधि उपचार चाहिएको छ ।’

अस्पतालमा भर्ना भएपनि उनको अहिलेसम्म रोग पत्ता लागेको छैन । चिकित्सकले पनि सिटामोल बाहेक अरु औषधि चलाएका छैनन् । ‘डाक्टरहरु पनि धेरै आउँछन्, एमआरआई रिपोर्ट पनि हेर्छन्, कसैले केही भएको छैन भन्नुहुन्छ, कसैले हड्डी नै छियाछिया भएको छ भन्छन्,’ लामाले भने, ‘भर्ना भएको ४ दिन भइसक्यो अहिलेसम्म के भएको भन्नेसम्म थाहा छैन, सिटामोल खाएर ढाडको समस्या कसरी निको होला ?’

वीर अस्पतालमै केही दिन अघि भर्ना भएका लामाकै आफन्त कान्छा लामा पत्थरीका कारण हिँड्नसमेत नसक्ने अवस्थामा थिए । एमआरआई गर्न अर्को अस्पतालमा जानुपर्दा लामाले पनि अस्पतालको एम्बुलेन्स प्रयोग गर्न पाएनन् ।

‘अस्पतालको आगनमा ३/४ वटा एम्बुलेन्स थियो, कान्छा त हिँड्न पनि सक्दैनथ्यो, हामीले एम्बुलेन्स उपलब्ध गराइदिनु भन्दा एम्बुलेन्स व्यस्त छ भनियो’, लामाले दुखेसो पोखे, ‘ढाड दुख्दा मलाई त ट्याक्सीमा जान गाह्रो भयो, उ त हिँड्न पनि नसक्ने अवस्थामा थियो, एमआरआई गर्न अर्को अस्पतालमा ट्याक्सीमै जानुपर्दा बिरामीलाई झनै गाह्रो हुन्छ ।’

कान्छाले पनि बाहिरको स्वास्थ्य संस्थामै गएर एमआरआई गरे । उनको बुधबार पत्थरीको शल्यक्रिया भएको छ ।

वीर अस्पताल विशेषज्ञ सेवा प्रदान गर्ने केन्द्रिय अस्पताल हो । वीरमा धेरैजसो बिरामीहरु अन्य जिल्लाबाट रेफर भएर उपचारका लागि आएका हुन्छन् ।

अस्पतालमा उपलब्ध सेवा प्रभावित हुँदा दैनिक सयौँ बिरामीले निजी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता बनिरहेको छ । भएका उपकरणहरु राम्रोसँग सञ्चालन नहुँदा र मर्मतसम्भारमा ध्यान नदिँदा बिरामीले सास्ती व्यहोर्नु परिरहेको छ ।

त्यसमा पनि अस्पतालमै भर्ना भएका बिरामीले अस्पतालको एम्बुलेन्स सहज ढंगले प्रयोग गर्न पाउँदैनन् । पहुँचवाला व्यक्तिका बिरामीले मात्रै यस्तो सेवा पाउने गरेको सर्वसाधारणको गुनासो छ ।

वीरमै भर्ना हुने बिरामीले एम्बुलेन्स समेत किन पाउँदैनन् ?

वीर अस्पतालमा ३ वटा नयाँ र २ वटा पुराना एम्बुलेन्स छन् । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार ३ वटा नयाँ एम्बुलेन्स ‘क’ वर्गको रहेकाले आकस्मिक उपचारका लागि आएका जटिल प्रकारका बिरामीको लागि मात्रै प्रयोग हुन्छ ।

यसमा एउटा राष्ट्रिय ट्रमा सेन्टरमा हुन्छ भने अर्को सिंहदरबारमा भीआइपी र भीभीआइपीलाई पर्न सक्ने आकस्मिक दुर्घटनाका लागि तयारी अवस्थामा राखिएको हुन्छ । अस्पताल परिसरमा भने ‘क’ वर्गको एउटा मात्रै एम्बुलेन्स रहने गर्छ ।

अन्य दुईवटा पुरानो एम्बुलेन्स भने वीर अस्पताल परिसरमै हुन्छ । जुन अस्पतालमा भर्ना भएका तथा सामान्य बिरामीले प्रयोग गर्न पाउँछन् । वीर अस्पतालमा आउने सयौं बिरामीका लागि ती पुराना दुईवटा एम्बुलेन्स प्रयाप्त छैनन् ।

त्यसमा पनि पुराना एम्बुलेन्स बिग्रिरहने भएकाले भनेको समयमा सेवा प्रदान गर्न सक्दैनन् । यसैकारण बिरामीले आवश्यक परेको समयमा अस्पतालको एम्बुलेन्स प्रयोग गर्न पाउँदैनन् । बिरामीहरु असहज अवस्थामै पनि ट्याक्सी चढेर अस्पताल आउन-जान बाध्य छन् ।

‘हामीसँग ५ वटा मात्रै एम्बुलेन्स छ, ३ वटा नयाँ एम्बुलेन्समध्ये एउटा ट्रमा सेन्टर, एउटा सिंहदरबार र अर्को वीरमा छ, त्यो सामान्य बिरामीले प्रयोग गर्न पाउँदैनन्,’ अस्पतालका निर्देशक सेञ्चुरीले भने, ‘अर्को दुईवटा पुरानो एम्बुलेन्स छ, त्यो पनि बिग्रिरहन्छ, भर्ना भएका बिरामीले एमआरआई गर्न जानुपर्दा खाली हुँदा त दिइन्छ तर बिग्रेको अवस्थामा आफैँले म्यानेज गरेर जानुपर्छ ।’

एमआरआई मेसिन बिग्रिदा अस्पताललाई दैनिक २ लाख घाटा

वीर अस्पतालमा २०७२ साल चैतमा पहिलोपटक एमआरआई मेसिन भित्रिएको थियो । उक्त मेसिनबाट वीर अस्पताल र ट्रमा सेन्टरका बिरामीले सेवा लिदै आएका थिए । तर अहिले वीर अस्पतालको एमआरआई मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ ।

एमआरआई मेसिन बिग्रिदा अस्पतालको सेवा प्रभावित भएको अस्पतालका निर्देशक डा. सेञ्चरी बताउँछन् ।

‘एक महिना भइसक्यो, अस्पतालको एमआरआई मेसिन बिग्रिएको छ, मेसिन बिग्रिदा सेवा प्रभाहमा समस्या भएको छ’, निर्देशक सेञ्चुरीले भने, ‘यहाँको एमआरआई मेसिन बिग्रिदा बिरामीहरु बाहिर गएर एमआरआई गनुपर्ने अवस्था छ ।’

वीर अस्पतालले एमआरआई गर्नुपर्ने बिरामीको अवस्थाअनुसार ४ हजारदेखि १२ हजारसम्म शुल्क लिने गरेको थियो । अस्पतालले एमआरआई मेसिनबाटै दैनिक दुई लाख रुपैयाँसम्म आन्दानी गर्दै आएको थियो । मेसिन बिग्रिएसँगै अस्पतालले उक्त आन्तरिक स्रोत गुमाउन पुगेको छ ।

वीरमा बिग्रिएको एमआरआई मेसिन एक महिनासम्म पनि नबन्दा अस्पतालले ६० लाख आम्दानी गुमाइसकेको छ ।

पछिल्लो एक महिनादेखि थन्किएको एमआरआई मेसिन सञ्चालनमा ल्याउन मर्मत कार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मर्मत कार्य अन्तिम चरणमा पुगेकाले अबको एक-दुई दिनभित्रै अस्पतालको एमआरआई मेसिन पुनः सञ्चालनमा आउने निर्देशक सेञ्चुरीले जानकारी दिए ।

मेसिन मर्मतका लागि बाहिरबाटै प्राविधिक टोलीसहितको उपकरण ल्याउनु परेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । ‘मेसिन मर्मतको काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, अबको एक–दुई दिनमै मेसिन पुनः सञ्चालनमा आउने छ ।’ मेसिन सञ्चालनमा आएपछि एमआरआईका लागि बिरामीले बाहिरको स्वास्थ्य संस्था धाउनु पर्ने बाध्यता हट्ने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ४ : २५ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल